काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा घोषणा गरेकी छन् । प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकमा उनले सभामुख चयन प्रक्रियाका लागि सहजीकरण गर्नभन्दै मार्गप्रशस्त गरेको घोषणा गरिन् ।
“प्रतिनिधिसभामा बहुमत प्राप्त दलले आफ्नो तर्फबाट नेतृत्वको दाबी गरेको अवस्थामा, हाम्रो प्रचलित संवैधानिक र कानुनी व्यवस्थाका आधारमा त्यसलाई कार्यान्वयनका लागि मैले सहजीकरण गर्नु आवश्यक भएको छ,” उनले बैठकमा भनिन्, “यसैअनुसार मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु ।”
सत्तारुढ दलले नेकपाले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरिसकेको छ । उपसभामुख तुम्बाहाङ्फे कायम रहँदा सभामुख चयन प्रक्रिया अघि बढ्न समस्या थियो । त्यसैतर्फ लक्षित गर्दै उनले लामो समय सभामुखविहीन अवस्था रहन नहुनेतर्फ आफू सचेत रहेको भन्दै मार्गप्रशस्त गर्ने निर्णयमा पुगेको सुनाइन् । अप्रत्यासित र अस्वभाविक कारणले सभामुखविहीन अवस्था रहेको पनि उनले स्मरण गरिन् । जनजाति पृष्ठभूमिबाट आएको महिला आफूले उपसभामुखका रुपमा काम गर्ने अवसर पाएकोमा उनले लोकतान्त्रिक प्रणालीलाई त्यसको श्रेय जाने बताइन् । सभामुख चयनको ठोस आधार भएपछि मार्गप्रशस्त गर्ने कुरा आफूले भन्दै आएकोबारे पनि उनले सदनलाई जानकारी गराइन् ।
सभामुख कृष्णबहादुर महराले गत असोज १४ गते राजीनामा बुझाएपछि प्रतिनिधिसभा सभामुखविहीन रहँदै आएको छ । संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअन्तर्गत तुम्बाहाङ्फे उपसभामुख रहँदा सभामुखमा नेकपाले उमेदवारी दिन संवैधानिक व्यवधान रहेको थियो । उनले राजीनामा दिएसँगै नेकपाले सभामुखमा उमेदवार उठाउन बाटो खुलेको छ । तुम्बाहाङ्फे तत्कालीन नेकपा एमालेबाट समानुपातिकतर्फबाट सांसद बनेकी थिइन् ।
सभामुख चयन प्रक्रिया अघि बढ्ने
उपसभामुखले राजीनामा घोषणा गरेपछि प्रतिनिधिसभा सभामुख र उपसभामुखविहिन भएको छ । अब प्रतिनिधिसभाको ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछन् । राष्ट्रिय जनता पार्टीका सांसद महन्थ ठाकुर ज्येष्ठ सदस्य छन् । उनले केहीबेरमा राष्ट्रपतिबाट शीतलनिवासमा शपथ खानेछन् । दिउँसो ४ बजे आजै प्रतिनिधिसभाको दोस्रो बैठक बस्नेछ । जसको अध्यक्षता ज्येष्ठ सदस्यका रुपमा ठाकुरले गर्नेछन् । बैठकमा उपसभामुखको राजीनामा सुनाउने र सभामुखको निर्वाचन मिति तोक्नेछ ।