site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिवमायाको प्रश्न– महराको लाइनमा को–को छन् ?

काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का सामु तीन विकल्प प्रस्तुत गरेकी छन् ।

शुक्रबार समय लिएर पार्टी अध्यक्षद्वय ओली र प्रचण्डसँग भेट गर्दै  तुम्बाहाङ्फेले आफूले संविधान, कानुन र जिम्मेवारी अनुरूप कार्य सम्पादन गरिरहेको दाबी गर्दै राजीनामा नदिने अडान दोहोर्याएकी हुन् ।

स्रोतका अनुसार भेटमा तुम्बाहाङ्फेले सभामुखमा आफैंलाई निर्णय गर्न पहिलो विकल्प अघि सारेकी थिइन् ।

“पार्टीका जिम्मेवार नेताहरू सभामुख छान्न उपसभामुख बाधक भएको भन्दै हिँडेको सुनेकी छु, बैठक नै बसेर निष्कर्ष निकालिएको पनि थाहा पाएकी छु,” तुम्बाहाङ्फेले भेटमा अध्यक्ष प्रचण्डलाई भनेको कुरा स्रोतले उद्धृत गर्यो, “मलाई सभामुख बनाउने निर्णय गर्नुस्, म बाधक छैन ।”

तुम्बाहाङ्फेले २७ गते अगावै सभामुखको निर्णय नगरिए आफूले प्रक्रिया सुरु गर्ने दोस्रो विकल्प अध्यक्षद्वयका अघिल्तिर राखेकी थिइन् ।

“नेकपाकै कारण संसद् बाधक बन्नुहुँदैन । नेकपाले सभामुख छिटो टुंग्याओस्, होइन भने म विधि, पद्धतिमा टेकेर प्रक्रिया सुरु (सभामुख निर्वाचनको कार्यतालिक सार्वजनिक) गर्छु । छिटो निर्णय नलिने हो भने सभामुख नेकपाले नपाउन पनि सक्छ, विचार पुर्याउनुस् !,” शिवमायाले दुई अध्यक्षलाई नै चेतावनी दिँदै भनेको कुरा स्रोतले भन्यो ।

नभए महाभियोग लगाउनू !

पार्टी नेतृत्व दुई विकल्पमा पनि सहमत नहुने हो भने महाभियोग लगाएर हटाउन चेतावनी दिएकी थिइन् । “म संविधान, कानुनले जे जिम्मेवारी तोकेको छ त्यहीअनुरूप काम गरिरहेकी छु । मेरो भूमिकाप्रति म जवाफदेही हुनै पर्छ,” उनले महासचिव विष्णु पौडेल समेतलाई साक्षी राखेर बैठकमा भनिन्, “महराले गल्ती गर्ने, सजाय मैले पाउनेगरी चाहिँ राजीनामा दिन्नँ । राजीनामा दिनुपर्ने तर्कसङ्गत कारण पनि छैन । जुन दिन उपसभामुख निर्वाचित भएँ, त्यही दिनदेखि म गैरपार्टी भइसकेँ । गैर सदस्यलाई पार्टीले हटाउन पनि मिल्दैन । संविधान बमोजिम हटाउनुस् ।”

त्यसपछि प्रचण्ड हच्किएर ‘त्यहाँसम्म त हामी पुग्दैनौं’ भनेको स्रोतको दाबी छ ।

कुराकानीको आरम्भमै प्रचण्डले ‘कति सालमा सदस्यता लिनुभएको ?’ भनेर प्रश्न सोधेपछि शिवमाया क्रूद्ध बनेकी थिइन् । प्रचण्डले नवप्रवेशीलाई झैं आफूलाई हियाएको उनको बुझाइ रहेको स्रोतको दाबी छ ।

तुरुन्तै उनले आफ्नो योग्यता सिलसिलेवार रूपमा दुवै अध्यक्षका सामु राखेकी थिइन् ।

उनले आफू २०३५–३६ सालको विद्यार्थी आन्दोलनदेखि नै पार्टीमा, माले आन्दोलनमा सक्रिय रहे पनि ‘जमिनदारकी छोरी’ भनेर सदस्यता नदिएको गुनासो गरेकी थिइन् । उनी तेह्रथुमकी रैथानी सुब्बा खलककी छोरी हुन् । त्यसैले सदस्यता दिन ढिलाई गरिएको नेकपाका नेता बताउँछन् ।

“म २०३५–३६ सालदेखि नै विद्यार्थी आन्दोलनमा सक्रिय थिएँ । तर उहाँहरूले सदस्यता दिनुभएन,” शिवमायाले ओलीलाई देखाउँदै भनेको स्रोतको दाबी छ ।

शिवमाया शङ्कर पोखरेल अनेरास्ववियू (तत्कालीन एकताको पाँचौं)को अध्यक्ष भएका बेला उपाध्यक्षको भूमिकामा थिइन् । मन्त्री भानुभक्त ढकाल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई कमिटीगत हिसाबले उनीभन्दा जुनियर हुन् ।

अनेरास्ववियूको केन्द्रीय उपाध्यक्ष, युवा आन्दोलन, महिला आन्दोलन (अनेमसंघ), कानुनमा स्नातक, त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक, शोधार्थी, लेखक हुँदै उपसभाखुको हैसियतमा पुगेको र आफूसँग सभामुख बन्ने प्रशस्तै योग्यता रहेको दलील पेस गरेपछि प्रचण्ड अवाक् बनेका थिए ।

अमेरिका निकट किन भनियो ?

पूर्वमाओवादी केन्द्र निकट नेता सम्पादक, प्रकाशक रहेको एउटा मासिकले आफूलाई अमेरिका निकट भनेर लेखेको भन्दै शिवमाया तुम्बाहाङ्फेले कुराकानीको आरम्भमै आपत्ति प्रकट गरेकी थिइन् ।

प्रचण्डले पनि त्यो मासिक आफूनिकट नेताको भएको स्वीकार गरेको स्रोतको दाबी छ ।

“पूर्वमाओवादीनिकट एउटा मासिकले मलाई अमेरिकानिकट भनेर लेखेको रहेछ । मलाई सभामुख बनाउनुपर्यो भनेर भन्न कतै गएको छैन । तपाईंहरूलाई पनि भन्न आएको छैन । अहिले पनि संसद् चलाउने सन्दर्भमा सत्तारूढ दलको अध्यक्षको हैसियतमा र प्रधानमन्त्रीको हैसियतमा तपाईंहरूलाई भेटेको हुँ । सत्तारूढ दलको नेताको हैसियतमै उहाँ (विष्णु पौडेल)लाई भेटेको हुँ,” उनले बैठकमा भनेको स्रोतले भन्यो ।

शिवमायाले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतकले ‘सभामुख छान्न उपसभामुख बाधक बनेको’ भन्ने अभिव्यक्ति पत्रपत्रिकामा दिँदै हिँडेको भन्दै अध्यक्षद्वयसँग आपत्ति नै प्रकट गरेकी थिइन् ।

“विधि छ, प्रक्रिया छँदै छ हटाउनुहोस् न, म कसरी बाधक भएँ ? मैले कहाँ गएर कसलाई के भनेँ ? तपाईंहरूले केके गरिरहनुभएको छ सबैकुरा जनतालाई भन्दिउँ ?” उनले अध्यक्षद्वयलाई एकसाथ सोधेको स्रोतको दाबी छ ।

पार्टी अध्यक्ष प्रचण्ड सहितका ६ जना शीर्षस्थ नेता वामदेव गौतमको घरमा बसेर आफ्नो ‘राजनीतिक चरित्र हत्या गरिएको’ भन्दै उनले दुःखमनाउसमेत गरेकी थिइन् ।

“महराले आफ्नो कारणले राजीनामा दिनुभयो । तर, त्यसको सजाय मलाई दिने काम भइरहेको छ । ममाथि राजनीतिक हिंसा भइरहेको छ । मलाई पार्टीले उमेदवार बनाएको हो । निर्वाचित पनि गराएको हो । पार्टीले निर्वाचित गराएको भन्दैमा जे पनि गर्न, जे पनि भन्न पाइन्छ ? नेताहरू खुब महिलालाई अघि बढाउने भन्छन् । तपाईं पनि महिलालाई अघि बढाउनुपर्छ भन्दै बारबार दोहोर्याउनुहुन्छ ! (प्रचण्डतिर इशारा गर्दै) तर नेताहरू नै मौकामा हिंसा (राजनीतिक हिंसा)गर्न पछि पर्दैनन्,” उनले दृढ हुँदै आफ्नो कुरा राखेको स्रोतको दाबी छ ।

महराको लाइनमा कोको छन् ?
उनले महराको सजायको भागिदार आफू नहुने भन्दै बारबार दोहोर्याएको स्रोतको दाबी छ । पार्टीमा महरा प्रवृत्ति बढेको र अरूका कर्तुत पनि बाहिर आउने क्रममा रहेको बताएकी थिइन् । ‘महरालाई मैले जेल पठाएको हो र ?’ भन्दै प्रश्न गरेकी थिइन् ।

“नेकपामा कति महरा होलान् ? कतिका ‘स्क्यान्डल’ बाहिर आउने क्रममा होलान् ? यस्ता गल्ती, प्रवृत्तिको सजाय कतिजनालाई दिनुहुन्छ ?” उनले प्रश्न गरिन् ।

स्रोतका अनुसार शिवमायाले पूर्वसभामुख सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुरूङ र संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले नियम, कानुनको पाठ पढाएर निकै दुःख दिएको गुनासो निकटस्थसँग गर्न थालेकी छन् ।

“नेम्वाङले विद्या भट्टराईको शपथ उपसभामुखले गर्न मिल्दैन भनेर रोक्न खोजेका थिए । सचेतक देव गुरुङ र महासचिव मनोहरप्रसाद भट्टराईको पनि त्यही तर्क थियो, तर शिवमाया अडानबाट पछि हटिनन्,” स्रोत भन्छ ।

शुक्रबारको भेटमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले राजीनामा दिएर निकास खोल्न आग्रह मात्रै गरे । अरू धेरै सवालको जवाफ दिएनन् । बरु धेरै सवालजवाफ प्रचण्डसँगै भयो । उनले बारम्बार प्रचण्डलाई ‘तपाईंले मलाई एकप्रतिशत पनि चिन्नुभएको रहेनछ, म तपाईंलाई ९९ प्रतिशत चिन्छु’ भनेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार यसअघि इजरायलका लागि राजदूत सिफारिस हुँदा पनि सरकारको नेतृत्वमा प्रचण्ड आएपछि सिफारिस बदर भएको रिस पनि फेरकी थिइन् ।

कुराकानीको अन्तिममा प्रचण्डले महाभियोग लगाउने तहसम्म पार्टी नपुग्ने र छिट्टै निर्णय लिने भनेर आश्वस्त तुल्याउन खोजेको स्रोत बताउँछ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २६, २०७६  ०८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro