काठमाडौं । केही वर्ष अगाडि लगानी योग्य रकमको अभाव हुँदा बैंक तथा वित्तीय संस्था एवं लगानीकर्ता समेत चिन्तित भए । बैंकमा लगानी योग्य रकम अभाव हुँदा ब्याजदरमा बैंकहरूबीच अस्वस्थ प्रतिस्पर्धा भयो । त्यसलाई रोक्नुपर्ने सुझावसहितको प्रतिवेदन अर्थमन्त्रालय पुग्यो । तर, पछिल्ला दिनमा बैंकबाट ऋण लिनेको कमी हुँदा तरलता बढी भएको बैंकरले बताउन थालेका छन् । एक बैंकरले भने, “पुस मसान्त नजिकिँदै गर्दा बजारमा लगानीयोग्य रकमको अभाव छैन । पछिल्लो दशकभर पुस मसान्तमा लगानीयोग्य रकम अभाव भए पनि यसवर्ष त्यो समस्या छैन ।”
नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा करिब ५० अर्ब रुपैयाँ तरलता छ, र सीसीडी रेसियो ७८ प्रतिशत कायम छ । अर्थात् बैंकहरूलाई अझै निक्षेपको २ प्रतिशत कर्जा प्रवाह गर्ने ‘स्पेस’ छ ।
विगत वर्षमा पुस मसान्तमा बैंकलाई सीसीडी व्यवस्थापनमा चुनौती देखिने गरेको भए पनि चालु वर्षमा बैंकहरूलाई समस्या देखिँदैन । पुस मसान्तमा करका रूपमा ठूलो रकम सरकारी खातामा जाने गर्छ । र, यतिबेला कर्जाको माग पनि उच्च रहने गर्छ ।
पछिल्लो दशको आर्थिक अवस्था विश्लेषण गर्दा सबैभन्दा बढी कर्जा प्रवाह पुस र माघमा हुने गरेको छ । तर, राष्ट्र बैंकले कडाई गर्दा पुसको तेस्रो सातासम्म पनि कर्जाको वृद्धि उत्साहप्रद हुन सकेको छैन ।
सम्पति शुद्धीकरण, कुल आम्दानीको ५० प्रतिशत मात्रै मासिक किस्ता तथा कर चुक्ता प्रमाणपत्र लगायतका व्यवस्थाका कारण बैंकमा कर्जा लिन आउने ग्राहकको संख्या निकै कम भएको बताइन्छ ।
बैंकहरूले पनि पछिल्ला वर्ष झैं कर्जाको वृद्धिदर राम्रो नभएको स्वीकारेका छन् । “कर्जाको मागमा कमी आएको छ,” एक बैंकरले बाह्रखरीसँग भने, “क्रेडिटको ग्रोथ केही कम भएको देखिन्छ ।” ती बैंकरका अनुसार राष्ट्र बैंकले कडाइ गर्दा बैंकको ढोकासम्म कर्जा माग्न आउने बढेका छैनन् ।
क्रेडिको ग्रोथ नहुँदा पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप थुप्रिएको हो । पुस १ गते यता बैंकिङ प्रणालीमा २७ अर्ब ९६ करोड रुपैयाँले निक्षेप बढेको छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टका अनुसार तरलता केही सहज अवस्थामा छ । उनले भने, “बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा राख्नुपर्ने ४ प्रतिशत नगद मौज्दातभन्दा बैंकिङ क्षेत्रमा थप ४६ अर्ब अधिक तरलता देखिन्छ ।”
बैंक तथा वित्तीय संस्थालाई पनि आफूसँग भएका अधिक रकम कर्जाका रूपमा प्रवाह गर्नुपर्ने चुनौती थपिएको छ । कर्जा प्रवाह कम भएपछि बैंकहरू कर्जा प्रवाहमा आक्रमक बनेका छन् ।
तरलता थुप्रिनुको अर्को कारण हो एनसेलजस्ता ठूला संस्थाले लाभांश विदेश नलैजानु । घटेको कर्जाको माग र थुप्रिएको निक्षेपले तरलता बढाएको जानकार बताउँछन् ।
आखिर किन घट्यो कर्जाको माग ?
बैंकिङ क्षेत्रमा कर्जाको माग घट्नुमा केही कारण छन् । बैंकिङ विज्ञ तथा पूर्व बैंकर अनलराज भट्टराईका अनुसार नेपालीहरूको उपभोग प्रकृतिको स्वरूपमा केही परिवर्तन हुँदा र नियामक निकाले सामान्य कडाइ गर्दा कर्जाको माग घटेको हो ।
नियामक निकायले आयको ५० प्रतिशतसम्म किस्ता भएमात्र कर्जा दिने व्यवस्था गरेको छ । जसका कारण किस्तामा घरजग्गा वा गाडी किन्नेको संख्या कम छ, उनले भने ।
अर्कोतर्फ निरन्तर वृद्धिको लयमा रहेको अर्थतन्त्रमा बढी उत्साह देखिँदैन । भट्टराई भन्छन्, “ठूलो अंकको आर्थिक वृद्धि हुँदा रियल स्टेट, माइनिङ क्षेत्रमा कर्जा लगानी भएको थियो ।” कृषिमा केही सहुलियतपूर्ण कर्जा वितरण भएको भए पनि अरू उत्पादक क्षेत्रमा कर्जा प्रवाह भएको छैन ।
नेपालको आयात पनि घटेको छ । यसको अर्थ आयातमा लिइने टीआर लोनको माग पनि घटेको छ ।
बैंक तथा वित्तीय संस्थाका लगानीका क्षेत्र ‘स्याचुरेट’ भएका कारण पनि माग नभएको उनी बताउँछन् । उद्योगमा पनि लगानी भित्रिइसकेको र थप लगानी गर्ने स्पेस पनि कम छ, उनले भने ।
निमार्णले गति लिनुपर्ने अवस्थामा निर्माण सामग्रीको आयात नै घटेको देखिन्छ । भूकम्पपछिको पुनर्निर्माण गत वर्ष नै अत्यधिक भएको र यो वर्ष अन्तिम चरणमा पुग्दै गरेकाले निमार्ण सामग्रीको माग घट्दा आयात घटेको जानकारहरू बताउँछन् ।
अर्काेतर्फ केन्द्रीय बैंकले राखेको बढी आकांक्षाका कारण पनि कर्जा प्रवाह सुस्त भएको छ । राष्ट्र बैंकले आफूले गरेको व्यवस्थाबाट भविष्यमा सबैलाई फाइदा पुग्ने दाबी गरेको छ । प्रवक्ता भट्टले भने, “अर्थतन्त्रमा स्थिति बसाल्न र संस्थागत सुधार गर्न खोज्दा सुरुसुरुमा समस्या आउँछ तर पछि समान्य हुने भएकाले यसले दीर्घकालमा कुनै असर गर्दैन ।”
यसबाहेक पनि कर्जाको बेसरेटमा ठूलो उतारचढाव देखिएको छैन । क्यास साइकल ६० दिनबाट दोब्बर बनेको छ र खुद्रा क्षेत्रमा क्यास फ्लो बढेको छैन ।
“पुस मसान्तमा लगानीयोग्य कर अभाव नहुनु राम्रो कि नराम्रो ?” भन्ने प्रश्नमा बैंकिङ विज्ञ भट्टराई भन्छन्, “अभाव नहुनु राम्रो हो । तर, बढी आकांक्षा राख्दा यो क्षेत्र नै सुस्त हुने डर छ ।”