site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी कथा
बाह्रखरी उत्कृष्ट कथा हिन्दीमा प्रकाशित

काठमाडौं । बाह्रखरी बुक्सले गत वैशाखमा बजारमा ल्याएको ‘उत्कृष्ट कथा २०७६’ हिन्दी भाषामा पनि प्रकाशित भएको छ । सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठी, नेपालका लागि भारतीय निमित्त राजदूत डा. अजय कुमार, बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधान, बाह्रखरी मिडियाका प्रवन्ध निर्देशक ज्ञानेश्वर आचार्यले आज संयुक्त रुपमा विमोचन गरेका हुन् । 

नेपाली साहित्यका शिखर पुरुष विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा स्थापित बीपी कोइराला भारत–नेपाल फाउन्डेसनको सहयोगमा उत्कृष्ट कथा हिन्दी भाषामा प्रकाशन भएको हो । भारतीय दूतावास काठमाडौं एवम् हिन्दी केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयले विश्व हिन्दी दिवसका अवसरमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा पुस्तक विमोचन गरिएको हो । 

बाह्रखरी बुक्सले गत वर्षको शीत याममा नेपाली भाषाको बृहत् राष्ट्रिय कथा प्रतियोगिता आयोजना गरेको थियो । गत वैशाख ६ गते कथा–प्रतियोगिताका उत्कृष्ट २५ कथाहरूको सङ्ग्रह प्रकाशित गरिएको थियो । १२ खरी बुक्स आफैंले प्रकाशन गरेको नेपाली संस्करणलाई हिन्दी भाषामा अनुदित गर्न फाउन्डेसनले विशेष पहल लिएकाले हिन्दीका पाठक माझ नेपाली आधुनिक प्रतिनिधि कथा पुर्‍याउन सम्भव भएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हिन्दीमा अनुदित ‘उत्कृष्ट कहानियाँ २०७६’ आज सार्वजनिक गरिएको बीपी कोइराला नेपाल–भारत प्रतिष्ठानले जानकारी दिएको छ । हिन्दी अनुवाद गोपाल अश्कले गरेका हुन् । 
नेपालको आधुनिक कथा–प्रतियोगिता इतिहासमै सर्वाधिक धन राशिको प्रतिष्पर्धामा सर्वोत्कृष्ट कथाकारलाई एक लाख रुपैयाँ नगद प्रदान गरिएको थियो । नेपालको भूगोल, भाषाभाषी, संस्कृति र सम्प्रदायको मौलिकता र आञ्चलिकता जोड्ने सङ्ग्रहसमेत भएकाले फाउन्डेसनले हिन्दी भाषामा अनुवाद गरेको बताएको छ ।

उत्कृष्ट कथा सङ्ग्रह हिन्दी भाषामा अनुवाद हुँदा नेपाली साहित्यलाई अन्तरराष्ट्रिय बजारमा पुर्‍याउन टेवापुग्ने र नेपाली साहित्यको बजार फराकिलो हुने १२खरी बुक्सका सम्पादक राजेन्द्र पराजुली बताउँछन् ।

‘नेपालमा राम्रा कथा लेखिएको भए पनि अनुवाद नहुँदा अन्य मुलुकका पाठकको आँखामा पर्न सकेको छैन,’’उनले भने, ‘‘कम्तीमा हिन्दी भाषामा अनुवाद हुँदा भारतका कथा प्रेमीले हाम्रो कथा लेखन र हाम्रा कथाकारले उठान गर्ने विषयबारे थाहा पाउने छन् ।’’ 

नेपाल–भारतबीच शदियौंदेखि मैत्री सम्बन्ध स्थापित हुँदै कला–साहित्य आदान–प्रदान हुँदै आएको र यसैको पछिल्लो संस्करण उत्कृष्ट कथाहरूको अनुवाद भएको उनको भनाइ छ ।
गत वैशाखमा सम्पन्न प्रतियोगितमा देश–विदेशमा रहेका नेपाली भाषीबाट समेत नौ सय भन्दा बढी कथा प्राप्त भएको र त्यसमध्येबाट उत्कृष्ट २५ कथा चयन गरिएको थियो ।

प्रतियोगितामा मकवानपुरकी बिना थिङ तामाङको ‘ब्याड भाले’ प्रथम भएको थियो । लक्ष्मण वियोगीको ‘टाउको’ द्वितीय र सुमित्रा न्यौपानेको ‘बार्दली’कथा तृतीय भएको थियो । द्वितीय र तृतीय हुने कथाकारले क्रमशः ६० हजार र ४० हजार रुपैयाँ नगद पुरस्कार पाएका थिए । 

बाह्रखरी बुक्सले यस वर्ष पनि राष्ट्रव्यापी कथा प्रतियोगिताको दोस्रो संस्करण आयोजना गर्ने जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६  ११:२२
प्रतिक्रिया दिनुहोस्