site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिंहदरबारमै सुत्छौं ! उखुको पैसा नलिइ घर कसरी जानू !
SkywellSkywell

काठमाडौं । १५ दिनदेखि मिल मालिक खोज्दै धर्नामा बसेका सर्लाहीका उखु किसानहरूको अनुहार बुधबार एकाएक उज्यालियो । ठण्डीले हात–गोडा, पिठ्युँ कट्कटी खाए पनि अनुहारमा रुन्चे हाँसो छायो ।

दक्षिणी सर्लाही, धनकौल गाउँपालिका–२ मा रहेको अन्नपूर्ण सुगर मिल मालिकले तीन वर्षदेखि भुक्तानी रोकिदिएपछि गावैं उठिबासको सन्निकट छन् । र, त्रिपुरेश्वरका साहू राकेश अग्रवाल खोज्दै काठमाडौंको चिसो सडकमा सङ्घर्ष गरिरहेका छन् ।

माइतीघरमा धर्ना बसेको झण्डै दुई सातापछि सरकारबाट बोलाओट भएको भन्दै उनीहरू केही बेर खुसी भए ।

KFC Island Ad
NIC Asia

तर, उनीहरूको खुसी अनुहारमा धेरैबेर अडिएन ।

सिसौटियाका महेन्द्र महतोले संशय व्यक्त गरे, “सरकारले उही आश्वासन त दिने होला । साहू समातेर पैसा उठाइदिने होइन ।”

Royal Enfield Island Ad

छेवैमा रहेका रामविलासले सञ्चारकर्मीलाई आग्रह गरे, “मन्त्रीलाई भन्दिनुस् ! पैसा नलिई हामी घर जाँदैनौं, बरु यहीँ सुत्छौं ।”

सिसौटियाका महेन्द्र र रामविलासलाई अन्नपूर्ण सुगर मिलले तीन वर्षको भुक्तानी दिन बाँकी छ । तीन वर्षदेखि ताकेता गर्दा पनि बक्यौता अशुल्न नसकेपछि उनीहरू दुवै सरकारसँग गुहार माग्न माइतीघर त आइपुगेका छन् । तर पैसा पाउने निश्चित छैन ।

“कृषिप्रधान देश भनेको सुन्छु । तर यही देशमा किसानको कुनै मूल्य छैन, रातदिन रोएर हिँडेका छन्,” महेन्द्र आक्रोश मिश्रित भावमा भन्छन् ।

१५ दिन ठिही खाएपछि उद्योग सचिवले बुधबार बिहानै फोन गरेर पीडित किसानहरूलाई कुराकानी गर्न मन्त्रालयमा बोलाएका छन् । वार्ता जारी छ । सरकारले किसानको मर्का बुझ्ने हो कि होइन भन्ने चिन्ता ज्युँका  त्युँ छ ।

महेन्द्र पनि भन्छन्, “साहूसँग ऋण काढेर साहू खोज्दै काठमाडौं आयौं । पैसा नलिई कसरी फर्कनू ? बरु यहीँ माइतीघरमै सुत्छौं ।”

सिसौटियाका महेन्द्र, रामविलास मात्र होइन बलारा–११ का सुखलाल सहनीको पनि पीडा उस्तै छ । नगदेबाली वर्षौैंदेखि उधारोमा बेच्न विवश उनीहरू माइतीघरमा बसेर पैसा उठाइदिन सरकारलाई बिन्तीभाउ टक्र्याइरहेका छन् ।

बिरामी पर्न थाले पीडित किसान !
२०७० सालदेखि भुक्तानी नपाएका र बक्यौता रहेका किसानहरू संगठित भएर सिंहदरबारसम्म आइपुगेका छन् । दक्षिण सर्लाहीमा रहेका अन्नपूर्ण चिनी मिल र महालक्ष्मी चिनी मिलले पाँच वर्षदेखि भुक्तानी रोकिदिँदा झण्डै १४ हजार किसान घरको न घाटको भएका छन् । यी दुई मिलको मात्रै ७१ करोड वक्यौता छ ।

सबै पीडित किसान काठमाडौं आउन सम्भव भएन । उनीहरूको आवाज बोकेर करिब सयजना चिनी उद्योगीपीडित किसान काठमाडौं आएका छन् । माइतीघरमा धर्ना बसिरहेका छन् ।

तीमध्ये अधिकांश पीडित बिरामी पर्न थालेका छन् । उखुकै ऋणले थलिएका किसानले काठमाडौैं आउन साहू काढेका थिए । त्यो पैसा पनि निख्रिएपछि कतिपय पीडित भोकै धर्ना बसिरहेका छन् । कतिपय बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने अवस्थामा पुगेका छन् । अधिकांश चिसोको उच्च जोखिममा छन् ।

“कबाडी सामान थन्क्याउन ठाउँमा सुत्दै आएका थियौं । चिसो भुइँमा ओढ्ने ओछ्याउने नहुँदा खुट्टा टेक्नै नहुने भएको छ । खुट्टा खोच्याउँदै धर्ना बस्न आएको छु,” उनी भन्छन् ।

“देहातमा त घुर ताप्न पाइन्थ्यो । यहाँ त त्यो पनि पाइँदैन । मर्की लागिहाल्यो । अब घर कसरी फर्कने ?,” निरुपाय हुँदै सुनाउँछन् ।

रामविलास मात्र होइन महेन्द्रको अवस्था पनि पीडादायी छ । भुइँको चिसो शरीरमा सर्दा हात गोडा, अनुहार डम्म फुलेको छ । उपचार त परै जाओस्, खान समेत पाएका छैनन् ।

“सिसौटियाकै केटाहरू काम गर्ने कबाडीखानामा सुत्दै आएका छौं । ओढ्ने–ओछ्याउने छैन । सरकारले साहू खोजिदिए, पैसा उठाइदिए छिटो फर्कन पाइन्थ्यो,” उनी निरीह हुँदै सुनाउँछन् ।

उखुको माइतीको यो दुर्दशा
सर्लाहीमा मात्रै हजारौं बिघा जमिनमा उखु खेती हुँदै आएको छ । २० औं हजार किसान उखु बालीमा आश्रित छन् । नगदे बाली भएकाले उनीहरू ३६ प्रतिशत ब्याजमा ऋण काढेर खेती किसानी गर्दै आएका छन् ।

उखु किसान सङ्घर्ष समितिका सचिव मायाशङ्कर यादव भन्छन्, “सर्लाही उखु उत्पादनको पकेट क्षेत्र हो । सर्लाहीलाई उखुको ‘माइती’समेत भनिन्छ । यो जिल्लामा मात्रै तीनवटा उखु मिल छन्, इन्दु शङ्कर, अन्नपूर्ण र महालक्ष्मी चिनी उद्योग ।


यी तिनले मात्र खपत गर्न नसकेर किसानहरूले रौतहट, गरुडाको श्रीराम चिनी मिल र महोत्तरीमा समेत उखु पुर्‍याउँछन् । तर, सर्लाहीको अन्नपूर्ण र महालक्ष्मी चिनी  मिलले पाँच वर्षदेखि बीसौं हजार किसानको भुक्तानी रोकेर राखेका छन्,” उनी भन्छन् ।

उनले मिलको प्राङ्गणमा पाँच वर्षदेखि आन्दोलन गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर सिंहदरबार छेउमा आउनुपरेको र अब बक्यौता नलिई नफर्कने बताए ।

“किसानका बालबच्चा भोकै छन् । साहूलाई तिर्न, बुझाउन बाँकी छ । ब्याजले घरद्वार जान लागिसक्यो । नगदे बाली पनि उधारोमा बेच्नु परेपछि कसरी जीवन निर्वाह हुनु ! समस्याले छिटो निकास पाउनुपर्‍यो,” उनी किसानको प्रतिनिधि आवाज बोल्छन् ।

कृषक रामविलास महतोले सर्लाहीका किसानको खेतबारीमा लगाइएको उखु सुक्न थालेको भन्दै दुखेसो पोखे ।

“अघिल्ला सालकै भुक्तानी पाएका छैनौं । यो साल उखु पेल्ने बेलामा उद्योग ठप्प छन् । किसानहरू तालाबन्दी गरेर आन्दोलन गर्न बाध्य छन् । एकातिर ऋणको ब्याज बढेको बढ्यै छ । अर्कोतिर, ऋण काढेर लगाएको उखु पनि खेतमै सुकेर जाने भयो । तर, सरकारलाई वास्तै छैन,” उनले भने ।

उनले साहूबाट भुक्तानी नपाए आफूले डेढ बिघामा लगाएको उखुमा आगो लगाइदिने र त्यही तापेर जाडो कटाउने बताए ।

“किसानसँग के उपाय छ त ? नगदे बाली लगाए पनि हामीले कहाँ नगद पाएका छौं त ? सबै साल उधारोमै, बक्यौतामै उखु बेच्नुपर्छ । किसानलाई के फाइदा भयो ?,” उनी पीडा पोख्छन् ।

मायाशङ्करका अनुसार किसानले उचित मूल्य पनि पाएका छैनन् । मिल सञ्चालकको एक किसिमको दादागिरी (कार्टेलिङ) नै छ ।

सुरुमा मिल सञ्चालक, चिनी उद्योगीले किसानलाई टोकन बाँड्छन् । टोकनको रोलक्रमअनुसार उखु कटाउन, उठाउन थाल्छन् ।

कटनी, उखेतो फाल्नेदेखि, खुर्केने र मिलसम्म पुर्‍याउने किसान आफैंले गर्नुपर्छ । पहुँच हुनेले छिटो मिलसम्म पुर्‍याउन पाउँछन् । पहुँच नहुनेको उखु खेतमै सुकेर पुस, माघको अन्त्यतिर मात्रै पालो आउँछ । त्यतिबेलासम्म उखु ओइलाइसकेको हुन्छ । रस आधाआधी सुकिसकेको हुन्छ ।

कहिले त मिलमा पुर्‍याए पनि पेल्ने पालो नै आउँदैन । बीचमा कहिलेकाहीँ १५ दिनजति मिल बन्द हुन्छ । त्यतिबेला काटेको उखु गोदाममै सुक्न थाल्छ । २० प्रतिशतसम्म तौल घट्छ ।

तौलँदा मिल सञ्चालकले उखेतो र जरा कटाउने भन्दै १५–२० प्रतिशत थप काट्छन् । 

एक बिघामा उखु खेती गर्दा जम्मा ५०–६० हजार मात्रै  नाफा बस्छ । मिल मालिकले प्रतिक्विन्टल २० प्रतिशतसम्म काट्दा एक रुपैयाँ पनि नाफा बस्दैन । किसानले जहानपरिवार कसरी पाल्नु ! ऋणको ब्याज कसरी भुक्तानी गर्नु !

“यी सबै कुरा हेर्दा किसान वर्षौंदेखि मारमा पर्दैै आएका छन् । किसानले बस्तु (माल) अनुसारको मोल पाएका छैनन् । मिल सञ्चालकको मनपरि देखिन्छ । आन्दोलन नगरी सरकार सुन्नेवाला नै छैन,” उनी सङ्घर्षको औचित्य प्रकाश पार्छन् ।

उखुमा चिनीको मात्र हुनुपर्ने हो । तर, सर्लाही लगायतका जिल्लामा ज्यादा राजनीति घुस्न थालेको उखु किसानको टिप्पणी छ ।

उखु किसान र मिल मालिकका बीचमा मात्रै कारोबार हुनुपर्ने हो । तर, पछिल्लो समय उखु खेतीमा पनि बिचौलियाको बिगबिगी छ । तिनीहरूले माइतीघरसम्मै पछ्याएका छन् ।

आन्दोलनका लागि भनेर काठमाडौं आएका कृषकहरूलाई सात दिनभित्र बक्यौता दिने सर्तमा आन्दोलन मत्थर बनाउन नखोजेका पनि होइनन् । अद्यापि प्रयत्न जारी छ ।

मिल मालिकसँग पैसा लिएर किसानको उखुमा पेटी ठेक्का हाल्नेहरू पनि उत्तिकै बढेका छन् । यसले पनि किसान मारमा परेको बताउँछन् सर्लाहीका उखु किसान सञ्जय यादव ।

उखु पेल्ने बेला हुँदानहुँदै बिचौलियाहरू किसानकहाँ पुग्छन् । उखुको मूल्य आफैं तोक्छन् । सरकारले प्रतिक्विन्टल उखुको मूल्य ५ सय ३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेको छ । कतिपय बिचौलियाले ३ सय ५० प्रतिक्विन्टलमै उखु उठाएका छन् ।

मिल सञ्चालकले पनि प्रतिक्विन्टल ४ सय ३५ को मात्रै भर्पाई दिएको छ ।

चिनी उद्योगीले ४ सय ७१ रुपैयाँ २८ पैसा र सरकारले ६५ रुपैयाँ २८ पैसा अनुदान दिनेगरी प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा मूल्य निर्धारण गरेको भए पनि मिल मालिकले दिन इन्कार गरेको मायाशङ्कर बताउँछन् ।

“सरकारले तोकेको मूल्य कुनै हालतमा दिन सक्दैनौं भन्ने मिल सञ्चालकको भनाइ छ । सरकार आफैंले तोकेको मूल्य पनि लागु गराउन सक्दैन,” उनी आश्चर्य व्यक्त गर्छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष राजेन्द्र महतोले चिनी उद्योगीले किसानको रगत पसिनामात्र नभई सरकारले दिएको अनुदान पनि खाइदिएको बताए ।

“भुक्तानी दिन सजिलो होला भनेर सरकाले उद्योगीमार्फत् नै अनुदान उपलब्ध गराउने भन्यो । तर, उद्योगीले आफैं खाइदिए,” आन्दोलनमा ऐक्यबद्धता जनाउन आएका महतोले भने ।

“चिनी उद्योगीको अत्याचार बढेको छ । किसानमाथि ज्यादती गरिरहेका छन् । अनुदान दिएको पनि खाइदिए । सरकारले तत्काल उद्योगी समातेर किसानको भुक्तानी दिलाओस्,” पूर्व उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका महतो किसानका मागप्रति एकाकार हुन्छन् ।
-तस्बिरहरु : हरिशजंग क्षेत्री/बाह्रखरी
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १६, २०७६  १५:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro