site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
 विश्व क्रिकेटमा नयाँ च्याम्पियन, नेपाललाई ५१ स्वर्ण
Sarbottam CementSarbottam Cement

काठमाडौं । सन् २०१९ मा भए गरेका काम कारबाहीको समीक्षा गर्दै नयाँ जोश र उत्साहका साथ अंग्रेजी नयाँ वर्ष २०२० सुरु भएको छ ।

विश्व खेलकुदसँगै नेपाली खेलकुद क्षेत्रले पनि २०१९ मा महत्त्वपूर्ण सफलता हात पारेको छ ।

आठौं राष्ट्रिय खेलकुद र १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजनासँगै ५१ स्वर्णको कीर्तिमानले नेपाली खेलकुदमा नयाँ आयाम थपेको छ । यही  समय विश्व खेलकुदले पनि दुई महत्त्वपूर्ण प्रतियोगिता सम्पन्न गर्‍यो । जसमा एकदिवसीय विश्वकप क्रिकेट र फिफा महिला विश्वकप फुटबल रहे ।

Prabhu Bank
Agni Group
NIC Asia

विश्व क्रिकेटले नयाँ च्याम्पियन पाउँदा फिफा महिला विश्वकपमा अमेरिका लगातार च्याम्पियन बन्न सफल भयो । यता नेपालमा क्रिकेटको अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान) माथि निलम्बन फुकुवा र नयाँ कार्यसमितिसँगै खेलकुदको अभिभावक संस्था राष्ट्रिय खेलकुद परिषद (राखेपमा) नयाँ सदस्यसचिव नियुक्त भए ।

यतिमात्र नभई क्रिकेटमा कीर्तिमान बनाएका पारस खड्का, सन्दीप लामिछाने, रोहित पौडेल, फुटबलकी सावित्रा भण्डारी, एथ्लेटिक्समा अजितकुमार यादवको स्वर्ण र महिला भलिबलले पाएको ऐतिहासिक स्वर्णले नेपाली खेलकुदलाई चर्चामा ल्याइरह्यो । 

Global Ime bank

समग्रमा नेपाली खेलकुदले २०१९ प्राप्त गरेको सफलताको चर्चा 

१.सागमा ऐतिहासिक ५१ स्वर्ण  

लामो समयको अथक प्रयासपछि नेपालले घरेलु मैदानमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न गर्‍यो । पटक–पटक पूर्वाधार तयार नभएको कारण देखाउँदै सारिएको साग अन्ततः महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै सम्पन्न भयो । 

जसमा नेपालले ५१ स्वर्ण पदकको इतिहास बनायो ।  आयोजकको हैसियतले उद्घाटन र समापनलाई अहिलेसम्मकै ऐतिहासिक दाबी गरेको नेपालले पदकमा पनि नयाँ इतिहास रच्न सफल भयो ।

यसले खेलाडीमात्र नभई समग्र खेल क्षेत्रलाई उत्साहित बनाएको छ । तेक्वान्दोमा सर्वाधिक १२ र करातेमा १० स्वर्णसहित पौडीमा पनि नेपालले अपेक्षाकृत उपलब्धी हासिल गर्‍यो । पहिलो स्वर्ण जिताउने करातेका मन्डेकाजी श्रेष्ठसहित तेक्वान्दोकी आयशा शाक्य र पौडीकी गौरिका सिंह सर्वाधिक चर्चामा रहे । 

२.क्यान निलम्बन फुकुवा, पारसको आश्चर्यचकित राजीनामा 

सन् २०१९ नेपाली क्रिकेटका लागि सुखद रह्यो । नतिजाका हिसाबले यात्रा सुखद नरहे पनि अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन भने हट्यो । २०१६ मा राजनीति हाबी भएको बताउँदै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई निलम्बन गरेको थियो । 

खेलाडीलाई आफ्नो समन्वयमा विभिन्न प्रतिस्पर्धामा सहभागी गराएको आईसीसीले अन्ततः असोज २७ गते नेपालमाथिको प्रतिबन्ध सशर्त फुकुवा गरेको थियो । त्यसअघि क्यानको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा चतुरबहादुर चन्दको प्यानल विजयी भएको थियो । 

२७ गते निलम्बन फुकुवा भएको भोलिपल्टै अर्थात् असोज २८ गते नेपाली क्रिकेट सकर्थकलाई आश्चर्यमा डुबाउने निर्णय कप्तान पारस खड्काले गरे । उनले नयाँ कार्यसमितिलाई शुभकामना दिँदै नेपाली क्रिकेटको उज्ज्वल भविष्यको कामनासहित राजीनामा घोषणा गर्दा समर्थकलाई निराश बनाएको थियो । उनको राजीनामापछि क्यानले ज्ञानेन्द्र मल्ललाई नयाँ कप्तान बनायो ।

३.महिला भलिबललाई स्वर्ण 

महिला भलिबलका लागि वर्ष २०१९ ऐहितासिक रह्यो । किनकि महिला भलिबलले लामो समयको प्रतीक्षापछि देशलाई महत्त्वपूर्ण स्वर्ण पदक जिताएको थियो । बंगलादेशको ढाकामा सम्पन्न प्रथम सेन्ट्रलजोन च्याम्पियनसिपमा महिला भलिबल टोलीले भलिबलकै इतिहासमा पहिलो स्वर्ण जिताएको हो । 

अरुणा शाहीको कप्तानीमा रहेको टोलीले अपराजित रहँदै स्वर्ण जित्दा सरकारले जनही ५ लाखबाट सम्मानित पनि गर्‍यो । साग सुरु हुन केहीदिनअघि सम्मान थापेको टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि सागमा भने भारतको बर्चश्व तोड्न सकेन ।

पहिलो पटक फाइनलमा स्थान बनाए पनि नेपाल अन्ततः भारतसँग पराजित भयो । सुनौलो अवसर गुमाए पनि महिला टोलीले भारतलाई जित्न सजिलो हुनेछैन भन्ने भान भने गरायो । पुरुष भलिबल टोलीले अपेक्षाकृत नतिजा ल्याउन सकेन । घरेलु मैदानमा आयोजना भएको सेन्ट्रलजोन भलिबल च्याम्पियनसिपमा समूह चरणबाट नै बाहिरिएको थियो । यस्तै सागमा पनि समूह चरणबाट नै बाहिरियो । 

४. विश्वकप छनोटमा सुधारिएको प्रदर्शन, अत्यमा स्वर्ण

नेपालको पुरुष फुटबल टोली २०१९ मा विभिन्न कारणले चर्चामा नै रह्यो । कतारमा २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोटमा गरेको प्रदर्शन होस् या खेलाडीको काण्ड वर्ष तातिरह्यो । वर्षको अन्त्यमा सागमा जितेको स्वर्णले केही दुःखद पललाई भने बिर्सायो । 

विश्वकप छनोटका पाँच खेलमध्ये चाइजिन ताइपेइसँगको जितले नेपाली फुटबल उत्साहित बन्यो । बाँकी खेलमा भने पराजित भए पनि नेपालले केही पाठ पक्कै सिकेको छ । कुवेतसँगको पहिलो खेलमा नेपाल ७–० को खराब नतिजासँगै यात्रा सुरुवात गरेको नेपाल अस्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० पराजित हुन पुग्यो । चाइनिज ताइपेइसँगको जितसँगै नेपालले सुरुआतमा गरेको खराब प्रदर्शन कुवतेसँग दोस्रो खेलमा भने दोहोर्‍याएन ।

घरेलु मैदानमा हुनुपर्ने खेल दशरथ रंगशालाको स्तरोन्नति नसकेपछि भुटानमा सारिएको थियो । जहाँ नेपालले कुवेतलाई १–० ले रोक्यो । बाँकी होम खेल भने अब दशरथ रंगशालामा खेल्नेछ ।

वर्षको अत्यमा भएको १३ औं सागमा भने पुरुष फुटबल टोलीले स्वर्ण जित्न सफल भयो । भारत सहभागी नभएको सागमा नेपाल भुटानलाई पराजित गर्दै लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । यो खुसीले पुरुष फुटबल उत्साहित बनेको छ । 

यता महिला फुटबल टोलीले पनि आफूलाई अब्बल सावित गरेको छ । भलै घरेलु मैदानमा भएका दुई प्रतियोगिता साग र साफको उपाधि भारतलाई सुम्पिए पनि अन्तर्राष्ट्रिय फुटबलमा आशाका किरण देखाएको छ । फाइनलमा भारतसँग गरेको प्रदर्शन र भारतमा आयोजना भएको हिरो वुमेन्स गोल्डकपमा भारतलाई हराएको नेपालले किर्गिस्थानमा भएको नाडेज्दा कपमा उत्कृष्ट प्रदर्शन गरेको थियो । 

५.सन्दीपको चर्चा 

वर्ष २०१९ नेपाली क्रिकेटर सन्दीप लामिछानेका लागि निकै सुखद रह्यो । विभिन्न विदेशी फेन्चाइज लिगमा गरेको प्रदर्शनका कारण सन्दीप चर्चामा रहिरहे । उनी २०१९ टि–ट्वान्टी क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी समेत बने । १६ टि–ट्वान्टी खेलमा सन्दीपले २८ विकेट लिए । देशसँगै विदेशी फ्रेन्चाइज लिगमा चर्चा कमाइरहेका सन्दीप अहिले अस्ट्रेलियामा बिग बास लिग खेलिरहेका छन् । 

६. रोहितको कीर्तिमानी अर्धशतक

२०१९ मा नेपाली युवा क्रिकेटर रोहित पौडेलको सर्वत्र चर्चा भयो । कारण सानो उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको अर्धशतक । उनले २०१९ को जुन २६ मा यूएईसँगको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा २३ वर्ष अघिको रेकर्ड तोड्दै नयाँ रेकर्ड राखे । ५८ बलमा ७ चौका प्रहार गर्दै ५५ रन बनाएका उनको सर्वत्र चर्चा भएको थियो । 

सन् १९९६ मा चर्चित पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदीले श्रीलंकाविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्दै शतक बनाएका थिए । त्यो बेला साहिद अफ्रिदीको उमेर १६ वर्ष २ सय १७ दिन थियो । रोहित पौडेलको उमेर अर्धशतक बनाउने क्रममा १६ वर्ष १ सय ४६ दिन थियो । 

७. पारसको ऐतिहासिक शतक 

यसै वर्ष कप्तानबाट राजीनामा दिएका पारस खड्काका लागि पनि २०१९ सुखद बन्यो । उनले एकदिवसीय क्रिकेटमा शतकको कीर्तिमान बनाए । उनी शतक बनाउने एक्लो नेपाली खेलाडी समेत हुन् ।

२०१९ को जनवरी २८ मा यूएईविरुद्ध शतक बनाएका उनको टि–ट्वान्टी क्रिकेटमा पनि शतकको कीर्तिमान छ । उनले सिंगापुरविरुद्धको खेलमा शतक बनाएका थिए । १ दशक नेपाली क्रिकेटको कप्तानी गरेका पारसले असोजको अन्तिममा कप्तानबाट राजीनामा दिएका थिए । 

८.अजित यादवको स्वर्ण 

वर्ष २०१९ मा एथ्लेटिक्सका अजितकुमार यादव पनि चर्चामा नै रहे । कारण एथलेटिक्समा भित्र्याएको ऐतिहासिक स्वर्ण । उनले हङकङमा भएको तेस्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । १२ राष्ट्रका १५ खेलाडी सहभागी भएको स्पर्धामा उनले निर्धारित दूरी ८ मिनेट ३०.३२ सेकेन्डमा पूरा गरे । एसियाली स्तरको पहिलो स्वर्ण जितेका अजित १३ औं सागमा भने हेपाटाइटिस भएका कारण सहभागी हुन पाएनन् । 

९.सावित्रा भण्डारीको नयाँ कीर्तिमान 

नेपाली महिला फुटबलमा सावित्रा भण्डारीका लागि वर्ष २०१९ उत्कृष्ट रह्यो । पूर्वकप्तान अनु लामाको ३५ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान भङ्गसँगै विदेशी लिगमा अनुबन्ध भएका कारण सावित्रा चर्चामा रहिन् । उनले भारतको महिला लिग फुटबलमा सर्वाधिक गोलकर्ताको पहिचान बनाइन् । उनीसँगै अनिता बस्नेतले पनि लिग खेलेकी थिइन् । नेपालले प्रतिस्पर्धा गरेको अन्तर्राष्ट्रिय प्रतियोगितामा सावित्राको पहिचान गोल मेसिनका रूपमा रह्यो ।  

विश्व खेलकुदले २०१९ मा पाएको सफलता
 

१. विश्व क्रिकेटलाई नयाँ च्याम्पियन 

प्रत्येक ४–४ वर्षमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत १२ औं संस्करणको विश्वकप क्रिकेट यस वर्ष इङ्ल्यान्ड र वेल्समा संयुक्त रूपमा आयोजना भयो । जसमा आयोजक इङ्ल्यान्ड लामो समयको प्रतीक्षापछि च्याम्पियन बन्न सफल भयो ।

निकै रोमाञ्चक बनेको फाइनलमा इङल्यान्ड धेरै बाउन्ड्री प्रहार गरेको हैसियतमा च्याम्पियन बन्यो । जसमा न्युजिल्यान्ड अभागी सावित भयो । फाइनल खेलमा गरेको निर्णयका कारण अम्पायर श्रीलंकाका कुमार धर्मसेना विवादित समेत बने । रोचक त यो भयो कि शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको भारत अन्तिम चारबाट घर फर्कियो । यस्तै पाँच पटकको च्याम्पियन अस्ट्रेलिया सेमिफाइनलमा खराब प्रदर्शन गर्दै बाहिरियो । 

२.महिला विश्वकपमा अमेरिकाको राज

वर्ष २०१९ मा फिफा महिला विश्वकप फुटबल फ्रान्समा सम्पन्न भयो । जसमा अमेरिका चौथो पटक उपाधि जित्न सफल भएको थियो । महिला फुटबलमा राज गरिरहेकाले अमेरिकाले फाइनलमा नेदरल्यान्डमाथि २–० को जित निकाल्दै लगातार दोस्रो पटक तथा समग्रमा चौथो पटक उपाधि जित्दा समलिङगी खेलाडी राफेल मेगान सर्वाधिक चर्चामा रहिन् । उनी सर्वाधिक गोलकर्तासँगै उत्कृष्ट खेलाडीको अर्वाड जित्न सफल भइन् । त्यसपछि उनले विभिन्न अर्वाड समेत जितिन् । मेगान महिला र पुरुष फुटबलको पारिश्रमिक बराबरी हुनुपर्नेमा जोड दिने एक वक्ताका रूपमा समेत चिनिन्छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १६, २०७६  ११:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय