site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण’ गर्ने विधेयक समितिबाट पारित 
SkywellSkywell

काठमाडौं । संघीय संसद्को विकास समितिले सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने गरि सरकारले ल्याएको विधेयक पारित गरेको छ ।

सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने खालको विषय लेखिएको खण्डमा ५ वर्ष जेल वा १५ लाख जरिवाना वा दुबै सजाय हुन सक्ने प्रावधान विधेयकमा छ ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको ‘नोट अफ डिसेन्ट’का बाबजुद संसदीय समितिले उक्त विधेयक पारित गरेको हो ।

KFC Island Ad
NIC Asia

कांग्रेसले राज्यले दुराशयपूर्ण मनसायले सामाजिक सञ्जाल दर्ता गर्ने नाममा प्रयोगकर्तालाई नियमन गर्न खोजेको भन्दै सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको  विधेयकमा  ‘नोट अफ डिसेन्ट’ लेख्दै ६ पृष्ठ लामो फरक मत राखेको छ ।

कांग्रेसको फरक मतसहित  संघीय संसदको विकास तथा प्रविधि समितिको  बहुमतले सूचना प्रविधिसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतबाट पारित भएको छ ।

Royal Enfield Island Ad

समितिबाट पारित प्रतिवेदनसहितको विधेयक संसद्मा पेस गरिनेछ । संसद्मा पनि नेकपाकै बहुमत भएकाले विधेयक पारित गर्न भने समस्या पर्नेछैन ।

कांग्रेसका सांसद एवं समिति सदस्यहरु बहादुरसिंह लामा, जिपछिरिङ लामा, रंगमती शाही र रामबहादुर विष्टले बहुमतको बलमा विधेयक पारित गरेकामा असहमति जनाउँदै फरक मत राखेका हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ०७५ फागुन २ गते प्रतिनिधिसभामा सो विधेयक दर्ता गराएका थिए ।

के छ फरक मतमा ?
कांग्रेसले मौलिक हकको हनन् गर्ने गरि विधेयक ल्याइएको भन्दै विरोध गरेको छ । विधेयक दर्ताभएदेखि नै आफूहरुले यसको विरोध गरेको कांग्रेसको दाबी छ ।

कांग्रेसले विधेयक कार्यान्वयन हुने खालको नभएको भन्दै त्यसको सैद्धान्तिक पक्षमै अहसमति राखेको छ । त्यस्तै, विधेयकमा रहेको सामाजिक सञ्जालसम्बन्धिको व्यवस्था, सूचना प्रविधि अदालतको गठनसम्बन्धि व्यवस्था, साइबर आतंक गर्न नहुनेसम्बन्धि व्यवस्थामा कांग्रेसले असहमति राखेको छ ।

त्यस्तै फरक मतमा सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने भन्दै राखिएको व्यवस्थाको विरोध गरिएको छ । “सामाजिक सञ्जाल कुन उद्देश्यका लागि दर्ता गर्ने हो सो विषयमा विधेयक स्पष्ट छैन । समाजिक सञ्जाल निर्मातालाई नियमन गर्ने हो भने विदेशीलाई कसरी निमयन गर्ने सो विषयको कानूनी जटिलता यस विधेयकले आकलन गर्न सकेको छैन,” फरक मतमा उल्लेख छ ।

कांग्रेसले राज्यले दुराशयपूर्ण मनसायले सामाजिक सञ्जाल दर्ता गर्ने नाममा प्रयोगकर्तालाई नियमन गर्न खोजेको भन्दै असहमति राखेको छ । राज्यले घुमाउरो ढङ्गले प्रयोगकर्तालाई नियमन गर्न खोजेको र अभिव्यक्ति स्वतन्त्रतालगायतको अधिकारलाई निस्तेज गर्न खोजेको कांग्रेसको आरोप छ ।

फेसबुक, ट्वीटर, टिकटकलगायतका सामाजिक सञ्जाल नेपालमा दर्ता गर्न नआए के गर्ने ? भन्दै उसले यस्तो व्यवस्था तर्कसँगत नभएको उसले जिकिर गरेको छ ।

विधेयकको दफा ११५ मा सूचना प्रविधि अदालत गठनसम्बन्धि व्यवस्थामा पनि कांग्रेसले फरक मत राखेको छ । 

नियमनकारी निकायकारी र प्राविधिक अधिकारक्षेत्रभित्रको विवादको निरुपणका लागि अदालत गठन वैध भए पनि दफा ९४ अन्तर्गत सो अदालतलाई दिइएको अधिकार फौजदारी न्यायको विषय रहेको भन्दै वैध नभएको कांग्रेसको फरक मतमा उल्लेख छ ।

कांग्रेसले संविधानविपरितका व्यवस्थाहरु विधेयमा राख्न नहुने भन्दै भनेको छ, “नेपालको संविधानले प्रदत्त गरेका अभिव्यक्ति स्वतन्त्रतालगायत मौलिक हकमाथि बन्देजको दायरालाई फराकिलो पार्नेगरी (स्वतन्त्रता बन्देज गर्नेगरी) विधेयकमा व्यवस्था गरिएको छ । प्रकारान्तरले सामाजिक संजालमार्फत हुने अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने मनसायवाट यो प्रावधान रहेको देखिन्छ । जुन संविधानको मर्म विपरीत छ ।”

विधेयकमा सहमति जुटाउन उपसमिति गठन गरिएको थियो । सो समितिले दिएका सुझावसमेत विधेयकमा नसमेटिएको कांग्रेस सांसदहरु बताउँछन् ।

के छ विधेयकमा ?

समितिले पारित गरेको विधेयक प्रतिनिधिसभाले पनि जस्ताको तस्तै पारित गरे सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने छ । विधेयकमा सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने खालको विषय लेखिएको खण्डमा ५ वर्ष जेल वा १५ लाख जरिवाना वा दुबै सजाय हुन सक्ने प्रावधान छ ।

कुनै विद्युतीय प्रणालीमा रहेको सूचना अनाधिकृत रुपमा प्रयोग गर्ने, परिर्वतन गर्ने, मेटाउने वा निष्क्रिय पार्ने उद्देश्यले कुनै दुराशयुक्त प्रोग्राम सम्प्रेषण गरे ५ लाखसम्म जरिवाना वा एक वर्ष कैद वा दुबै सजाय हुने विधेयकमा उल्लेख छ । 

संविधान विपरीत भन्नु आरोप मात्रः खड्का

समिति सभापति कल्याणी खड्का सूचना प्रविधि विधेयक संविधान विपरीत नआएको दाबी गर्छिन् । उनले विधेयक संविधान विपरीत आयो भन्नु आरोपका लागि आरोप मात्र भएको बताउँछिन् । बहुमतबाट विधेयक पारित गरेपछि बाह्रखरीसँग उनले भनिन्, “धारा हटाउने कुरामा सहमति बन्न सकेन । भाषागत कुरा मिलाउने भएको भए मिलाउन सकिन्थ्यो । आज बहुमतले पारित गर्‍यो ।”

कांग्रेसले संविधानका मर्मविपरीत र कतिपय अन्य कानुनको क्षेत्राधिकारको विषय पनि विधेयकमा परेको भन्दै केही दफा निलम्बन गर्न माग गरेको थियो । सूचना प्रविधि विधेयकमा १३३ दफा छ ।  ३६ वटा दफा मन्त्रालयबाट आएको भन्दा फरक रुपमा संशोधन भएको समिति सभापति खड्काले बताइन् ।  कांग्रेस सांसदहरुले उठाएका ८ वटा माग त्यसैमा समेटिएको उनको भनाई थियो । 

“कुनै विधि विधान भएन भने राज्य चल्दैन । सूचना प्रविधिमा यसरी फड्को मारिरहेको अवस्था छ । यसलाई नियमन गर्नु जरुरी छ । सरकारले ल्याएको हुबहु पारित गरेको पनि होइन,” उनले भनिन् ।  समितिलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै बहुमतबाट विधेयक पारित भएको उनको तर्क थियो । 

साइबर अपराध निरुत्साहित गर्न विधेयकः सञ्चारमन्त्री

सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि विधेयकले साइबर अपराधलाई निरुत्साहित गर्ने दाबी गरेका छन् ।  समितिको बैठकमा उनले ‘साइबर बुलिङ’ निरुत्साहित गर्नका लागि सूचना प्रविधि विधेयक ल्याइएको बताउँदै यस्तो दाबी गरेका हुन् । 

उनले भने, “साइबर बुलिङको कुरालाई निरुत्साहित पार्न खोजेकै हो । यसमा लुकाउनुपर्ने, भाग्नुपर्ने छैन । यदि यो ठाउँमा अर्को सरकार भएको भए उसले के गर्थ्यो त ? साइबर बुलिङ भइरहनुपर्छ भन्ने खालको मागलाई छुट दिन्थ्यो त ?,” उनको प्रश्न थियो । बैंक ह्याकिङ, विदेशी नागरिकलाई नेपालमै बसेर ठग्नेजस्ता अपराधहरुलाई निरुत्साहन गर्न विधेयक आवश्यक भएको भन्दै उनले सामाजिक सञ्जाल दर्ता गराउने भन्ने सन्दर्भमा अझै पनि कतिपय भ्रमहरु रहेकाले त्यसबाट मुक्त हुनुपर्ने बताए । 

“हरेक सामाजिक सञ्जाल प्रयोगकर्ताले दर्ता गर्नुपर्छ भन्ने प्रावधान छैन । सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरु दर्ता हुनुपर्ने भन्ने हो,” उनले भने । 

फेसबुक प्रयोगको माध्यमबाट कुल राष्ट्रिय विज्ञापनको १० प्रतिशत रकम बाहिर गएको र त्यसलाई करको दायरामा ल्याउन पनि दर्ता हुनुपर्ने प्रावधान अनिवार्य भएको बाँस्कोटाले बताए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १३, २०७६  १८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro