काठमाडौं । सूर्यग्रहण खगोलमा हुने महत्त्वपूर्ण घटना हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृत पात्रोअनुसार यो वर्षको पहिलो र अन्तिम सूर्यग्रहण बिहीबार बिहान ८ बजेर ४२ मिनेटबाट सुरु भएर ११ बजेर ३१ मिनेटमा समापन भएको छ ।
सूर्यग्रहणको मध्यकाल भने १० बजेर १ मिनेटमा भएको थियो । त्यो समयमा सूर्यको तापमा कमी आउँदा एक्कासि जाडो महसुस भएको थियो । खगोल शास्त्रका अनुसार सूर्य पृथ्वीको सबैभन्दा नजिक रहेको तारा हो ।
यसको दूरी पृथ्वीबाट १४ करोड ९६ लाख किमि छ । सूर्य पृथ्वीभन्दा ४ सय गुणा ठूलो छ ।
पृथ्वीभन्दा ४ गुणा सानो चन्द्रमा ३ लाख ८४ हजार ४ सय किमि मात्रै टाढा भएकाले पृथ्वीबाट नाङ्गो आँखाले हेर्दा सूर्य र चन्द्रमा समान देखिन्छन् ।
खगोलीय संरचनामा पृथ्वी र चन्द्रमा आ–आफ्नै कक्षमा घुमिरहेका हुन्छन् । पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई प्रदक्षिणा गरिरहेका हुन्छन् । यसै क्रममा सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आइपुग्दा यसले सूर्यका किरण छेकिदिन्छ र पृथ्वीमा अँध्यारो हुन्छ । सूर्य ग्रहण खग्रास (पूरै छेकिनु), खण्डग्रास (केही भाग मात्रै छेकिनु) र बलय (सूर्य केबल हातमा लगाउने बाला जस्तो मात्रै देखिनु) तीन प्रकारले लाग्ने गरेको पाइन्छ ।
यो ग्रहण मलेसिया, सिंगापुर श्रीलंका, दक्षिण भारत (तमिलनाडु), ओमान, युनाइटेड अरब इमिरेटस्बाट बलय रूपमा देखिएको थियो ।