site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजपा : समाजवादीसँग एकता कि नेकपासँग साझेदारी ? 

काठमाडौं  । गत पुस २ गते राष्ट्रिय जनता पार्टी र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीबीच दुईबुँदे सहमति भयो । 

जसको पहिलो बुँदामा राष्ट्रिय सभामा २–२ सिटमा तालमेल गर्ने र दोस्रो बुँदामा समसामयिक विषयमा नियमित रुपमा छलफल गर्ने, सहकार्यको प्रक्रियालाई अघि बढाउने उल्लेख छ । 

सहमतिपत्रमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेका छन् भने राजपाका तर्फबाट संयोजक राजेन्द्र महतोको हस्ताक्षर छ । 

सहमतिको दोस्रो बुँदामा रहेको सहकार्य कस्तो हो ? भनेर उनीहरुले खुलाइसकेका छैनन् । 

सत्तासाझेदार समाजवादी पार्टीले सरकार छाड्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राजपा र नेकपाबीचको तालमेल सरकारमा पनि हुन्छ कि भन्ने चर्चा सुरु भएको छ । 

मधेस केन्द्रित अर्को दल समाजवादी पार्टी पनि कतै राजपा सरकारमा जाने पो हो कि भन्ने संशयमा देखिन्छ । 

आफुसँग तिक्तता बढ्दै गर्दा राजपासँग बढेको सरकारको आत्मीयताले पनि समाजवादी पार्टीलाई झस्काएको छ । 

तर, राजपाका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले बाह्रखरीसँग बिहीबार बिहान कुराकानी गर्दै ‘अहिले सरकारमा जानेबारेमा सोच्न पनि नसकिने’ प्रतिक्रिया दिए ।

“अहिले एकथरीले हामीलाई जबरजस्ती सरकारमा गए हुन्थ्यो भन्ने हिसाबले धकेल्न खोजेका छन्,” उनले भने, “हामीले नैतिकताको राजनीति गरेका छौं । सरकारमा जाने भए अहिले होइन पहिले नै जान्थ्यौं । संविधान संशोधन, रेशम चौधरीको रिहाइ र कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता नभएसम्म हामी सरकारमा जाने बारेमा सोच्न पनि सक्दैनौं ।”

अध्यक्ष मण्डलका एक सदस्य राजकिशोर यादव पनि अहिले नै पार्टी सरकारमा नजाने बताउँछन् । राष्ट्रियसभामा तालमेल गर्ने कुरा भए पनि सरकारका विषयमा कुनै छलफल नै नभएको उनले बताए । 

तर, पछिल्लो सहमतिसँगै नेकपासँग राजपाको सम्बन्ध नजिकिएको भने यादव अस्वीकार गर्दैनन् । 

नेकपाका उपनेता सुवास नेम्वाङले पनि राजपालाई सरकारमा ल्याउने विषयमा छलफल नभएको बताए । 

राजपा कता : सरकारमा कि एकतामा ? 

मधेस केन्द्रित दुई दल राजपा र समाजवादी पार्टीबीच एकताको छलफल जारी छ । 

तर, ठोस आकार भने ग्रहण गरिसकेको छैन । राजपाले समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि एकताका लागि सहज हुने बताउँदै आएको थियो । समाजवादी पार्टी औपचारिक रुपमै प्रतिपक्षमा आएको छ । 

बुधबार उपेन्द्र यादवले सरकारको समर्थन फिर्तापछि अब एकताका लागि राजपाले भनेको विषय पूरा भएकोले थप सहज हुने विश्वास व्यक्त गरे । राजपा र समाजवादी दल दुवैले संविधान जारी हुँदा विरोध गरेका थिए । 

यादवले सरकार छाड्दा पनि सरकार संविधान संशोधनमा अनुदार रहेको आरोप लगाएका छन् । 

समाजवादीको चाहना राजपा सरकारमा नगइदियोस् भन्ने देखिएको छ । बुधबार पत्रकार सम्मेलनमा समाजवादीका दुवै अध्यक्ष यादव र बाबुराम भट्टराईले त्यस्तै आशय व्यक्त गर्दै राजपा सरकारमा जान नहुने तर्क गरे ।

अध्यक्ष यादवले राजपा सरकारमा जानु आत्महत्या हुने नै बताए ।

“राजपाले आफूलाई आत्महत्या नै गर्छ त ? त्यो त म पत्याउँदिन । उसले आत्महत्या नै गर्ला भन्ने मलाई लाग्दैन । आत्मघाती कदम उठाउला भन्ने मलाई लाग्दैन,” उनले भने । 

राजपाले संविधान संशोधनलाई मूल मुद्दा बनाउँदै आएको छ । 

त्यसतर्फ संकेत गर्दै अर्का अध्यक्ष भट्टराईको भनाइ थियो, “अब कोही पनि पार्टी संविधान संशोधन हुन्छ भनेर त्यहाँ जान्छ भने त्योभन्दा मुर्खता र अन्धता के हुन्छ ?”

राजपाका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव यसअघि पनि नेकपाले सरकारमा आउन भनेको बताउँछन् । 

अहिले नै सरकारमा जानेबारे छलफल नभइसके पनि छलफलको सम्भावना भने रहेको उनले बताए । 

“राष्ट्रियसभामा सहकार्यको सहमति भएको छ । त्यसले कुराकानी गर्नका लागि एकप्रकारले बाटो खुला भएको छ । सरकारमा जानेबारे कुराकानी त हुन सक्छ,” उनले भने । 

राजपा बलियो, समाजवादी कमजोर 

अब बल राजपाको कोर्टमा छ । समाजवादीसँग उकताका लागि र सत्तामा जानका लागि दुवै विकल्प राजपाका लागि खुला छ । समाजवादी सरकारमा रहेको असन्तुष्टि थियो राजपाको । 

अब पार्टी एकताका लागि राजपा अगाडि बढ्छ कि सत्ता साझेदारीमा ? चासोका साथ हेरिएको छ ।  तर राजपाको नेताहरुले अहिले सत्ताभन्दा एकता नजिक रहेको सन्देश दिइरहेका छन् ।  त्यसका लागि समाजवादी पार्टी भने तयार हुनैपर्छ । 

उता, दुई तिहाइको लागि १० सांसदको खोजीमा रहेको सत्तारुढ नेकपाका लागि पनि राजपाको साथ महत्वपूर्ण रहेको छ ।

स्रोतका अनुसार नेकपाले सरकारमा ल्याउन राजपासँग छलफलसमेत अघि बढाइसकेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६  ०९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro