site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकार अब कम्युनिस्टको मात्र ! गुम्यो दुई तिहाइ 

काठमाडौं । समाजवादी पार्टी सरकारबाट बाहिरिएलगत्तै सरकार अब कम्युनिस्ट पार्टीको मात्र भएको छ ।  समाजवादी पार्टीका दुई मन्त्रीको बहिर्गमनपछि सरकारले दुई तिहाइको मत पनि गुमाएको छ ।

सरकारलाई दिएको समर्थन फिर्ताको निर्णयपछि बुधबार समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारको दुई तिहाइको दम्भ पनि आफूहरुको बहिर्गमनसँगै सकिएको घोषणा गरे । 

“संविधान संशोधनको मागलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ठाडै अस्वीकार गरिदिनुभयो,” यादवको भनाइ थियो, “उहाँमा राजनीतिक चरित्र पनि देखिएन । आफ्नै मन्त्रीलाई देशको प्रतिनिधित्व गराउँदै विदेश पठाउने, अनि यता मन्त्रालय परिवर्तन गरिदिने ? एउटै कार्यक्रमको एउटा सत्रमा स्वास्थ्यमन्त्रीको हैसियतमा सहभागी जनाएँ । अर्को सत्र सुरु हुन लाग्दा मन्त्रालय नै परिवर्तन भयो । भाग लिन पाइनँ ।”

मंगलबार नै उपप्रधान एवं कानुन मन्त्रीबाट राजीनामा दिएका यादवले समाजवादी पार्टीको कार्यकारिणी बैठकको निर्णयबाट सरकारलाई दिएको समर्थन फिर्ता लिँदै त्यस्तो बताएका हुन् ।

समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारले दुई तिहाइको हैसियत पनि गुमाएको छ । सरकार अब स्पष्ट बहुमतको हुने छ । तर राष्ट्रिय जनता पार्टी सरकारमा सहभागी भयो भने चाहिँ सरकार फेरि दुईतिहाइ मतको हुनेछ ।

सरकारप्रति आक्रोशित रहेका यादवले पत्रकार सम्मेलनमा आफूहरु बाहिरिएपछि सरकारको दुई तिहाइको दम्भ समाप्त भएको टिप्पणी गरे ।

समाजवादी पार्टी सरकारमा रहँदा प्रधानमन्त्री ओलीलाई १ सय ९१ सांसदको समर्थन थियो । जुन स्पष्ट दुई तिहाइ हो । 

यसमा समाजवादी पार्टीका तर्फबाट १७ जना सांसद थिए । १७ सांसद प्रतिपक्षमा पुग्दा सरकार स्पष्ट बहुमतमा मात्र सीमित भएको छ । दुई तिहाइका लागि आवश्यक सांसद संख्या १ सय ८४ हो । अब सरकारसँग १७४ सांसद मात्र छन् । 

ओली नेतृत्वको सरकारलाई १६ सांसदको समर्थनसहित तत्कालीन संघीय समाजवादी दल सरकारमा २ मन्त्री लिएर सहभागी भएको थियो । 

तर, सरकारबाट बहिर्गमन हुँदा नयाँ शक्तिसँगको एकतापछि १७ सांसदको पार्टी बनेको थियो । नयाँ शक्ति पार्टीका सांसद बाबुराम भट्टराईसमेत जोड्दा अहिले समाजवादी पार्टीका १७ सांसद छन् ।

समाजवादी पार्टीले बुधबार समर्थन फिर्ता लिएको औपचारिक निर्णय गरेसँगै सरकारलाई समर्थन गर्ने १७ सांसद घटेका छन् ।  केही महिनाअघि राष्ट्रिय जनता पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको  थियो । 

दुई तिहाईलाई १० सांसद अपुग 

प्रतिनिधिसभामा २७५ सांसद छन् । ओलीको नेतृत्वमा सरकार गठन हुँदा तत्कालीन एमालेका १२१ र तत्कालीन माओवादीका ५३ गरी १७४ सांसद थिए । 

बहुमतका लागि १३८ सांसद नै पर्याप्त थियो । तर, राजपा (१७) र संघीय समाजवादी (१६) को समेत समर्थन पाएपछि ओली दुई सय ७ मतको समर्थनसहित दुईतिहाइ समर्थन प्राप्त प्रधानमन्त्री बने । 

संघीय संसदमा नेकपाको १ सय ७४ सिट, कांग्रेस ६३, समाजवादी पार्टीको १७, राजपा १७, राप्रपा, स्वतन्त्र र राष्ट्रिय जनमोर्चाको एक–एक सांसद छन् । विधानतः सरकारलाई दुई तिहाई नहुँदैमा कुनै फरक भने पर्दैन । 

कम्युनिष्ट पार्टीको मात्र सरकार !

सरकार अब प्रष्ट रुपमा कम्युनिष्ट पार्टीको मात्र भएको छ । कम्युनिष्ट विचारधारामा आधारित नेपाल कम्युनिष्ट पार्टीको एकल सरकार हुन पुगेको छ । 

“समाजवादी पार्टी बाहिरिएसँगै सरकारमा अरु पनि छन् भन्ने पनि अब समाप्त भएको छ । अब कम्युनिष्ट पार्टीको मात्र सरकार भएको छ,” यादवले भने । 

सरकार गठन हुँदा नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग दल थिए । एमालेसँग १२१ र माओवादीका ५३ सांसद थिए । पार्टी एकता भएपछि अहिले नेकपा बनेको छ । जोसँग एक्लै सरकार बनाउन चाहिने स्पष्ट बहुमत छ । अरु दलले समर्थन नगरे पनि सरकारमा कुनै फेरबदल भने हुने अवस्था छैन । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ९, २०७६  १८:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro