site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 सहमतिप्रति ओली सधैँ बेइमान !
SkywellSkywell

काठमाडौैं । समाजवादी पार्टीले मंगलबार सरकारबाट फिर्ता हुने निर्णय गर्‍यो । सरकारमा सहभागी उपप्रधानमन्त्री एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले राजीनामा बुझाउँदै सरकारमा नरहने घोषणा गरे ।

सरकारबाट फिर्ता हुने निर्णयलाई उपलब्ध केन्द्रीय सदस्यहरूको सदर गरे । पार्टीको कार्यकारिणी कमिटीले बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको छ ।

यो घटनापछि सरकारसँग रहेको दुई तिहाइ समर्थन अपुग भएको छ । सरकारसँग बलियो बहुमत भने कायमै छ ।

KFC Island Ad
NIC Asia

सरकारबाट बाहिरिँदै गर्दा समाजवादी पार्टीले केपी ओली नेतृत्वको सरकारलाई आफैँले हस्ताक्षर गरेको सहमतिप्रति इमान्दार नभएको र समाजवादी पार्टीलाई ‘धोका दिएको’ आरोप लगायो ।

२०७५ जेठ १४ गते उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरम नेपाल, नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच त्रिपक्षीय दुई बुँदे सहमति भएको थियो । 

Royal Enfield Island Ad

सहमतिको पहिलो बुँदामा संघीय समाजवादी फोरम नेपालले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरूका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरू देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिनेछ । सरकारद्वारा गर्न सकिने कामहरू सरकारको नीति र कार्यक्रममा समावेश गरिनेछ । उपर्युक्त कार्यहरू आन्तरिक गृहकार्य गरी सहमतिमा समाधान गरिनेछ ।

दोस्रो बुँदामा उपर्युक्त सहमतिका आधारमा संघीय समाजवादी फोरम नेपाल सरकारका सामेल हुनेछ ।

यही सहमतिका आधारमा उपेन्द्र पार्टीको नेतृत्व गर्दै सरकारका सहभागी त भए । तर, सरकारमा सहभागी भएकै दिनदेखि ओली–उपेन्द्रबीच ‘टसल’ बढ्यो । सहमति बेवारिसे बन्यो ।

सहमति सम्झाउँदा प्रधानमन्त्री ओलीले ‘आवश्यकता र औचित्यका आधारमा संशोधनको प्रक्रिया अघि बढाउँछु’ भन्दै पन्छाइरहेछ ।

दुई वर्षसम्म सहमति कार्यान्वयनमा ओली इमान्दार नभएपछि विवश हुँदै फोरम सरकारबाट बाहिरियो ।

उपेन्द्र सरकारबाट बाहिरिएपछि ‘दुईबुँदे सहमति’ डस्टबिनमा फालिन पुगेको छ ।

नेकपाका एक केन्द्रीय सदस्य भन्छन्, “वास्तवमा केपी ओली सहमतिप्रति इमान्दार छैनन् । सहमति गर्ने र आफैँ कुल्चने उनको पुरानै बानी हो । विगतमा पनि ओलीले कयौंपटक त्यस्ता सहमति–सम्झौता गरेका छन् । त्यसको कार्यान्वयन भएको छैन ।”

ती सदस्य यो पनि दाबी गर्छन् । उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमसँग भएको सहमतिकै औचित्य पुष्टि हुन सक्दैनथ्यो ।

त्यतिबेलाको गठबन्धनको चुनावी घोषणापत्रमा कहीँ कतै संविधान संशोधनको कुरा उल्लेख थिएन । कांग्रेसले संसद्मा पेस गरेको संविधान संशोधनको प्रस्तावको विपक्षमा तत्कालीन एमालेले मत हालेको थियो । 

तर, सरकारसँग सुविधाजनक बहुमत रहेकै अवस्थामा नेकपाले संघीय समाजवादी फोरमसँग सहमति गरेर संविधान संशोधनप्रति लिखित प्रतिबद्धता जनायो ।

“त्यतिबेला अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्छु भनेर सहीछाप गरेर उपेन्द्र यादवलाई सरकारमा ल्याउनुभयो ? अहिले किन बेवास्ता गरेर सरकारबाट फिर्ता हुन बाध्य बनाउनुभयो ? पार्टीले बुझेको छैन । कमिटीका बैठकमा उहाँहरूले यसबारे जवाफ दिनुहोला,” एक सदस्य भन्छन् ।

ती सदस्यले भने झैं प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति–सम्झौता रद्दीको टोकरीमा मिल्काएको यो नै पहिलो घटना भने होइन । ओलीले हस्ताक्षर गरेका सहमतिहरू पल्टाउँदै जाने हो भने कुनै पनि कार्यान्वयनको तहमा पुगेका छैनन् । समयक्रममा ती सबै ‘अनाथ’ बन्न पुगेका छन् ।

धेरै पर्तिर नजाऊँ । गत फागुन २२ गते मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) ले पनि ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

आवरणमा पार्टीका सांसद रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय समर्थन फिर्ता लिएको देखिए पनि चुरो कुरा ओलीको सहमतिप्रतिको उदासीनता नै हो ।

सरकारलाई दिएको समर्थन फिर्ता गर्दै गर्दा राजपाले पनि ओली नेतृत्वको सरकारले दुई तिहाइको बहुमत भए पनि संविधान संशोधन नगरेको आरोप लगाएको थियो । मधेस, थरूहट आन्दोलनका बन्दीहरू रिहाइ नगरिएको, आन्दोलनका क्रममा लगाइएका झूठा मुद्दा फिर्ता नलिएको र आन्दोलनका घाइतेहरूलाई उचित उपचारको बन्दोवस्त नमिलाएकोजस्ता आरोप लगाएर राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

२०७४ फागुन ३ गते केपी ओलीले प्रधानमन्त्रीको शपथ लिनुपूर्व तीन बुँदे सहमति गरेर राजपालाई पनि विश्वासमा लिएका थिए । 

प्रतिनिधि र प्रदेशसभाका निर्वाचनका बेलासम्म तत्कालीन एमाले र राजपाबीच सम्बन्ध तिक्तापूर्ण थियो । संविधान दिवसका दिन एकातिर दीपावली र अर्कोतिर ‘ब्ल्याक आउट’ दुःखद् अवस्थाको अन्त्य हुने विश्वास थियो । संविधान कार्यान्वयन सहज हुने अनुमान गरिएको थियो ।  सत्ता–मधेसबीच सम्बन्ध सुधारको कडीका रूपमा पनि सहमतिलाई लिइएको थियो । तर, राजपा नेतृत्वले पटकपटक ताकेता गर्दा पनि संविधान संशोधनमा ओली टसको मस भएनन् । 

अन्ततः राजपा आफैं सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निचोडमा पुग्यो ।

२०७४ असार २८ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ओलीको ‘विश्वासघात’ कै कारण सरकारबाट बाहिरिएको थियो ।

संविधान जारी भएलगत्तै असोज २४ गते नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, राप्रपा नेपाललगायत दलको समर्थनमा केपी ओली प्रधानमन्त्री बनेका थिए ।

प्रधानमन्त्रीमा समर्थन जुटाउनुपूर्व एमाले र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व गर्ने ‘भद्र सहमति’ भएको बाहिरिएको थियो ।

सहमतिअनुसार ओलीले जेठमा प्रचण्डलाई सत्ताको पालो दिनुपर्थ्यो । तर, ओलीले सहमति नै भएको छैन भन्दै सत्ता हस्तान्तरण गर्न अस्वीकार गरेपछि माओवादी केन्द्र सरकारबाट बाहिरियो र ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव नै दर्ता गरायो । परिणामतः ओली सरकारबाट बाहिरिनु पर्‍यो ।

२०७५ जेठ २ गते तत्कालीन एमालेका अध्यक्ष र पुष्पकमल दाहालबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भयो । त्यसको भोलिपल्ट दुई पार्टी एक भए । नेकपा गठन भयो ।

कार्यान्वयन गर्ने समय नआइपुग्दै दुई अध्यक्षबीच मनमुटाव बढ्यो । सहमतिलाई लिएर पार्टी नेतृत्व र सचिवालय सदस्यबीच जुहारी नै चल्यो । ओलीले पनि जतिबेला, जसले पनि आजै सरकार छाड् भन्न नमिल्ने र यसको आफ्नै विधि, प्रक्रिया हुने भन्दै सहमति कार्यान्वयन नगर्ने सङ्केत दिए ।

२०७६ मंसिर ४ गते पार्टी सचिवालय बैठकले प्रतिनिधिसभाको यो कार्यकालमा सरकारको नेतृत्व केपी ओलीले नै गर्ने निर्णय ग¥यो । र, एकताका बेला गरिएको ‘गोप्य सहमति’ को चौथो बुँदा खारेज भयो ।

आलोपालो सहमतिको बुँदा खारेज नहुँदासम्म पार्टी एकीकरणको काम एकताको मर्मअनुरूप अघि बढ्न नसकेको नेकपाका केन्द्रीय नेता बताउँछन् ।

“आलोपालो सरकारको नेतृत्व गर्ने सहमति खारेज नहुँदासम्म एकता प्रक्रिया नै जाममा पर्‍यो,” उनको दाबी छ ।

ओलीले पार्टीपार्टीबीच भएको सहमति मात्र नभइ पार्टीका बैठकमा गरेका प्रतिबद्धताप्रति पनि उदासीनता प्रकट गर्दै आएका छन् । पार्टीको प्रदेश कमिटी इन्चार्ज, सहइन्चार्ज चयनका बेला विधि, पद्धति, मापदण्ड मिचिएको स्वीकार्दै आगामी दिनमा नदोहोर्‍याउने वचनबद्धता व्यक्त गरेका थिए ।

केन्द्रीय सदस्यको कार्यविभाजन, प्रदेश कमिटी गठनमा झन् मापदण्ड मिचिएको भन्दै वरिष्ठ नेता माधव नेपालले लिखित असहमति नै सचिवालयमा दर्ज गरेका छन् ।

“आफ्नै पार्टीभित्र भएका सहमति त उल्लङ्घन गर्दै आएका ओलीले अरू दलसँग भएका सहमति कार्यान्वयन गर्छन् भनेर कसरी विश्वास गर्नु !,” नेपाल निकट एक केन्द्रीय सदस्य बताउँछन् ।

यी सबै घटनाक्रमले ओली सहमति र सम्झौताप्रति इमान्दार हुँदैनन् भन्ने पुष्टि गर्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ९, २०७६  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro