site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्थायी कमिटी अगाडि शीतल निवासमा बैठक, प्रचण्ड रुष्ट

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटीको बैठक राखेको थियो । तर त्यो भन्दाअघि राष्ट्रपति विद्यादेवी भण्डारीले स्थायी कमिटी सदस्य र सरकारका मन्त्रीहरूलाई शीतल निवासमा बोलाएर ‘के भइरहेको छ’ भनेर बुझिन् ।

स्थायी कमिटी बैठक चलिरहँदा राष्ट्रपति अनावश्यक रूपमा सक्रिय भएको भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रूष्ट बन्न पुगेका छन् । र, उनले आफू निकट केही स्थायी कमिटी सदस्यसँग असन्तुष्टि व्यक्त गरेको स्रोतले जानकारी दियो ।

६ दिनसम्म लगातार चलेको स्थायी कमिटी बैठकमा शनिबार महासचिव र अध्यक्षले बोल्ने कार्यसूची थियो । महासचिवले आफ्ना कुरासहित विधान संशोधनबारे बोल्ने र अध्यक्षले राजनीतिक प्रतिवेदनबारे सदस्यले उठाएका प्रश्नको जवाफसहित निष्कर्ष दिने कार्यसूची थियो ।

तर, बिहानै राष्ट्रपति भण्डारीले पार्टी महासचिव विष्णु पौडेल, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत, स्थायी कमिटी सदस्य तथा पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्य जनार्दन शर्मा, देवेन्द्र पौडेललाई शीतल निवास बोलाएर ब्रिफिङ लिइन् । सोको पुष्टि देवेन्द्र पौडेलले गरे ।

“हामीलाई राष्ट्रपति निवास बोलावट भएको थियो । अर्थ, परराष्ट्र, वनमन्त्रीसहित प्रधानमन्त्रीका मुख्य सल्लाहकार र केही स्थायी कमिटी सदस्य शीतल निवास गयौं । राष्ट्रपतिज्यूसँग अनौपचारिक कुराकानी भयो । सरकारको नीति कार्यक्रम, समाजवादको आधार निर्माणबारे कुराकानी भयो,” उनले बाह्रखरीसँग भने ।

स्थायी कमिटी बैठक चलिरहँदा राष्ट्रपतिले चासो राखेको भन्दै प्रचण्ड क्षुब्ध बनेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

“प्रधानमन्त्री र म जाँदा त बाहिर त्यत्रो चर्चा भयो । विवादित बनाउने कोसिस भयो । अहिले स्थायी कमिटी बैठक चलिरहँदा राष्ट्रपतिज्यूले बोलाउनु हुँदैनथ्यो,” उनले स्थायी कमिटी बैठक चल्नु अगावै सदस्यसँग भनेको कुराकानी एक नेताले उद्धृत ग¥यो ।

तर परराष्ट्रमन्त्री ज्ञवालीले सामान्य छलफल र पूर्वनिर्धातिर कार्यक्रम भनेर जवाफ दिएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार राष्ट्रपतिले बैठक प्रभावित पार्न र मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (कर्पोरेशन) (एमसीसी) परियोजनाबारे स्थायी कमिटीमा भइरहेको छलफल बुझ्न सदस्यहरूलाई बोलाएको प्रचण्डको बुझाइ छ ।

तर छलफलमा सहभागीले त्यति विस्तृत रूपमा छलफल नभएको र अनौपचारिक कुराकानी मात्रै भएको जानकारी दिए ।

प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिनुपूर्व पनि राष्ट्रपतिलाई साक्षी राखी सहमति गरिएको भन्दै आलोचना भएको थियो ।

यसबाहेकका विषयमा पनि राष्ट्रपतिले चासो राखेको भन्दै स्वतन्त्र आलोचना भइरहेको छ । स्थायी कमिटी बैठकमै भीम रावल, बेदुराम भुसालले राष्ट्रपति भूमिकामाथि प्रश्न उठाएका थिए । पार्टीमा गुट बनाउन र निर्णय प्रभावित पार्न सक्रिय रहेको भन्दै बैठकमै आलोचना गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ५, २०७६  १८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro