काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले बोल्ने क्रम जारी छ ।
पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि बोल्दै स्थायी कमिटी सदस्य हरिबोल गजुरेले पार्टीमा समस्या थुप्रिएको र यसको अपजसको भागिदार अध्यक्षद्वय नै हुनुपर्ने बताएका छन् ।
प्रचण्ड निकट मानिएका गजुरेलले सचिवालय र स्थायी कमिटी प्रत्येक सदस्यहरूलाई पार्टी, जनता र राष्ट्रको भन्दा आफ्नो पोजिसनको चिन्ता लागेकाले समस्या बल्झिरहेकोे टिप्पणी गरे ।
“स्थायी कमिटीका हरेक सदस्य पनि अध्यक्षद्वय जत्तिकै जिम्मेवार हुनुपर्छ । खाली सचिवालयमाथि दोष थोपारेर पानीमाथिको ओभानो हुन खोज्नु सुहाउने कुरा होइन । अन्तर्राष्ट्रिय मान्यता तोडेर स्थायी कमिटीको बैठक तीन–तीन महिनामा राख्ने निर्णयमा सहमत हुन पुग्नु र अझ अगाडि बढेर एक वर्षसम्म बैठक नबस्दा पनि सचिवालयको निर्णयलाई पर्खेर बस्ने हामी स्थायी कमिटीका सदस्यहरूले आफैंतिर फर्किएर प्रश्न गर्नुपर्ने हुन्छ ।
आफ्नो अधिकार प्रयोग गर्न नसक्नेले अर्काको अधिकारको सम्मान गर्न सक्दैनौं भन्ने कुरामा टेकेर केन्द्रीय कमिटीका सदस्यहरूले स्थायी कमिटीप्रति नै औंला ठड्याउन पाउँछन् कि पाउँदैनन् ?” उनले स्थायी कमिटीलाई पनि प्रश्न गरेका छन् ।
चालक अपग्रेड हुनुपर्यो
सरकार र पार्टी कामप्रति असन्तुष्ट रहँदै आएका गजुरेलले नेतृत्व अद्यावधिक हुन नसकेको बताएका छन् । स्थायी कमिटी बैठकमा लिखित धारणा, टिप्पणी राख्दै गजुरेलले नयाँ संविधानले जनतामा नयाँ आशा जगाए पनि पार्टी, संसद् सरकारले पुरानै तौरतरिकाले चल्न खोजेको भन्दै आलोचना गरेका छन् ।
“नयाँ संविधान लागु गर्ने पार्टी र नेताहरूले त्यसै अनुसार आफूलाई रूपान्तरण गर्नुपर्ने हुन्छ । गाडीमा नयाँ सिस्टम अपग्रेड भएपछि या त चालक नयाँ सिस्टम अनुकूलको नयाँ राख्नुपर्छ, या त पुरानो चालकले नयाँ सिस्टम सिक्नुपर्छ । ३० औं वर्षदेखि गाडी चलाइराखेको त हो नि भनेर बलजफ्ती नयाँ सिस्टमको गाडी पुरानै तरिकाले चलाउन थालियो भने सिस्टम बिग्रन्छ र दुर्घटना पनि हुन जान्छ । अहिलेको तीतो यथार्थ यही नै हो । यो कुरा सबै तहको नेतृत्व र पार्टी पंक्तिको हकमा पनि लागु हुन्छ ।”
उनले पार्टीलाई जीवन्त र गतिशील बनाउन आजको नीति, विधिमात्रै पर्याप्त नहुने भन्दै परिमार्जन गर्न पनि सुझाएका छन् ।
पार्टीमा नोकरशाही प्रवृत्ति
नेता गजुरेलले पार्टीमा अराजकता, गुटबन्दी, उदारता र नोकरशाही प्रवृत्ति हाबी भएको औंल्याएका छन् । यही प्रवृत्तिका कारण पार्टी सर्वहारा वर्गको अग्रदस्ता बन्न नसकेको बताएका छन् ।
उनले पार्टी सञ्चालनमा जनवाद र केन्द्रीयता बीच सन्तुलन कायम गर्न नसक्दा अराजकता मौलाउन पुगेको निष्कर्ष निकालेका छन् ।
साविक पार्टीमध्ये एमालेका जनवाद हावी र माओवादी केन्द्रमा केन्द्रीयता हाबी भएको तथ्य स्मरण गराउँदै दुवैको सकारात्मक अभ्यासलाई अवलम्बन गर्न पनि अनुरोध गरेका छन् ।
उनले आन्तरिक निर्वाचनको पनि विधि तय गर्न माग गरेका छन् । वर्तमान पार्टी संगठनको निर्माण गर्दा नेताहरूको तजबिजमा वा तलबाट निर्वाचित हुने प्रचलन रहेको भन्दै दुवै विधिले जनवादी केन्द्रीयताको मर्म आत्मसात गर्न नसकेको बताएका छन् ।
नेता हरिबोल गजुरेलले संगठनात्मक क्षेत्रमा सुधार गर्नका लागि ५० प्रतिशत नम्बर कमिटीको मूल्याङकनबाट दिइने र ५० प्रतिशत नम्बर सदस्यहरूको लोकप्रिय मतका आधार दिई नेतृत्व छनोट र चयन गर्ने थिति बसाल्न माग गरेका छन् ।
खर्च पार्टीले बेहोरौं
गत स्थानीय तह र प्रदेश, प्रतिनिधिसभाको निर्वाचनमा पैसाको बाढी नै चलेको र खर्च गर्न नसक्ने उमेदवार पराजित हुन पुगेको स्मरण गराउँदै नेता गजुरेलले निर्वाचन प्रणाली बदल्न माग गरेका छन् ।
अझ यसलाई नेता गजुरेलले भ्रष्टाचार, अनियमितताको स्रोतको रूपमा बुझेका छन् । यसको समाधानका लागि उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति या प्रधानमन्त्री नै उपयुक्त विधि हुने पनि जिकिर गरेका छन् ।
“अहिलेकै निर्वाचन प्रणालीमा अभ्यास गर्ने हो भने एउटा गरिब र भ्रष्टाचार नगर्ने नेता कार्यकर्ता पनि निर्वाचनमा उठ्ने र जित्न सक्ने हुनुपर्छ । यसका लागि पार्टीको उमेदवारले होइन पार्टीले नै जनसमुदायलाई परिचालन गरेर खर्च व्यवस्था गर्ने सिस्टम अलवम्बन गर्नुपर्छ,” उनको सुझाव छ ।
जनप्रतिनिधिले चुनावको ऋण तिर्न र अर्को चुनावका लागि खर्चको जुगाड गर्न थालेकाले भ्रष्टाचार बढेको निष्कर्ष हरिबोलको छ ।
“सबै जनप्रतिनिधिले यसो गरेका छन् भन्न त सकिन्न तर आम प्रवृत्ति यस्तै देखिन्छ । व्यक्तिले खर्च गर्नुपर्ने स्थितिले चुनावका लागि नीति भ्रष्टाचार हुने र कतिपय सन्दर्भमा विभिन्न स्तरका दलालका शरणमा नेताहरू जानुपर्ने बाध्यता सृष्टि गर्छ । आगामी निर्वाचनमा यस्तो हुन नपाओस् भन्नेतिर सरकारको नेतृत्व गरेको हाम्रो पार्टीले पहल लिन जरुरी छ,” उनले नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
उनले पार्टी र संगठनलाई सही दिशातिर लैजान जिम्मेवारीको परम्परागत प्रक्रियामा पुनर्विचार गर्न पनि आग्रह गरेका छन् ।
उनले पार्टी र मोर्चाको संगठनात्मक काम, सार्वजनिक (सामाजिक) काम र उत्पादन एकाईको नेतृत्व गरी कामका तीन क्षेत्र निर्धारण गर्न पनि माग गरेका छन् ।
उनले प्रतिपक्षीको कुरा सुन्न पनि आग्रह गरेका छन् । अहिलेसम्मको उपलब्धीको जग सहमति–सम्झौता भएको जिकिर गर्दै उनले बैठकमा भने, “हामी सम्झौताबाट यहाँसम्म आइपुगेका हौं । हामीले अर्को पक्षका कुरा पनि सुन्नै पर्ने हुन्छ । हामी अत्यधिक बहुमतमा छौं, जे गर्दा पनि हुन्छ भनेर ठूल्ठूला काममा हात हाल्यौं भने देशभित्र र बाहिरका पश्चगामी–यथास्थितिवादीहरूको प्रतिरोधको सामना गर्नुपर्ने हुन्छ । जनता हाम्रो कामप्रति स्पष्ट नहुँदा ती कार्यहरू व्याकफायर हुने गरेका छन् ।”
सरकार गुठी विधेयकबाट पछि हट्नुपरेको प्रति गजुरेलको संकेत थियो ।
उनले सरकारको कामको पनि मूल्याङ्कन गरेका छन् । उनले निरन्तरताको हिसाबले मात्र मूल्याङ्कन गर्ने हो भने सरकारको काम सन्तोषजनक नै मान्न सकिए पनि दुईतिहाइको समर्थन प्राप्त, तीनवटा पूर्वप्रधानमन्त्री पार्टीमा कार्यकारी भूमिका रहेको अवस्थामा सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् । यसकै असर उपचुनावमा देखिएको उनको निचोड छ ।
उनले प्रधानमन्त्री मात्रै दौडिएर नपुग्ने भन्दै अरूलाई पनि दौडाउने र आफ्नो घेरा फराकिलो पार्नुपर्ने सुझाव समेत दिएका छन् ।
संसद् पुरानै ढर्राबाट चलेकाले विरोध जनाउँदै बोलेको छैन
नेता गजुरेलले संसद् पुरानै ढर्राबाट चलेकाले आफूले प्रतीकात्मक विरोध जनाउँदै संसद्मा एकपटक पनि नबोलेको बैठकमा बताए ।
“कि त हामीले यो परिवर्तनलाई पुरानै संसदीय व्यवस्थाको निरन्तरता भन्नुपर्यो । होइन भने संसद्लाई समाजवादउन्मुख आचरण अनुरूप चलाउनुपर्यो र संसद् चलाउने पुरानै ढाँचा–ढर्राको प्रतीकात्मक विरोधस्वरूप म नयाँ संविधान जारी भएपछि प्रतिनिधिसभामा निर्वाचित भएयता संसद्मा एक पटक पनि बोलेको छैन ।
पार्टीमा यो विषयमा छलफल गरेर बोलूँला भन्दाभन्दै स्थायी कमिटीको बैठक समयमा नबस्नाले दुई वर्ष बितिसकेको छ । यस विषयमा पार्टीको नीति अगाडि आउन जरुरी छ,” उनले आफ्ना धारणा राख्दै भने ।
नेता गजुरेलले दुई अध्यक्षको कार्यविभाजन पार्टी एकतासँगै हुनुपर्ने भन्दै धेरै क्षति बेहोरेर ढिलै भए पनि हुन सकेकोमा खुसी व्यक्त गरे ।
आलोपालो सरकारको नेतृत्व गर्ने प्रश्नको हल हुँदा कार्यकर्ता, जनतामा उत्साह बढेको बताएका छन् । यसैको असर उपनिर्वाचनमा देखिएर सोचेभन्दा बढी सफलता हासिल गरेको दाबी गरेका छन् ।
तथापि उनले पार्टी पुरानै तौरतरिकाले चल्दा युवाको आकर्षण घटेकोतर्फ सचेत हुन खबरदारी गरेका छन् ।
यस्तो छ गजुरेलले बैठकमा राखेको धारणाको पूर्णपाठ