०४९ सालमा ‘जुन त लग्यो ताराले...’ गीत रेडियो नेपालबाट खुबै बज्थ्यो । धेरैको जिब्रोमै झुन्डिएको थियो त्यो गीत । दिनेशलाई पनि यो गीतले तानेको थियो । आमालाई चलिचत्र हेर्न जाउँ भने । छोराको करकर सुन्न नसकेर दिनेशलाई लिएर उनकी आमा आइन्, रञ्जना हल ।
चलचित्र थियो ‘जुन त लग्यो ताराले...’ गीत समावेश ‘दुई थोपा आँसु’ । म त्यो गीत हिट भएकैले चलचित्र हेर्न आएको थिएँ,” सम्झनाको तरेली छिचोल्दै निर्देशक दिनेश राउतले २७ वर्षपछि भने, “त्यो चलचित्रबारे मलाई त्यति धेरै केही पनि याद छैन । तर, भुवन केसी हिरो भएकोसम्म चाहिँ सम्झना छ ।”
दिनेशलाई गीत मन परेर हेरेको चलचित्र थियो तुलसी घिमिरेको ‘दुई थोपा आँसु’ । कालान्तरमा ‘काले दाइ...’ सुनेर पनि उनको चलचित्र ‘पर्व’ हेर्ने सायद थुप्रै भए होलान् । जे होस् यो सुखद् संयोग मात्रै हो ।
त्रिभुवन पार्क चलचित्रको छायांकनस्थल । नजिकैको दहचोक (काठमाडौं) दिनेशको घर र स्कुल । छायांकनका लागि सुटिङ युनिटहरू आइरहन्थे । केटाकेटी न थिए दिनेश, हेर्न गइरहन्थे । शिव श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, भुवन केसी, राजेश हमाल, करिष्मा मानन्धर, निरुता सिंहलाई उनी देख्थे ।
एक्सन कट, कुटाकुट, गीत, नृत्य रङ्गीन दुनियाँ देखेर उनलाई लाग्थ्यो रमाइलै रहेछ चलचित्रको संसार पनि ।
०५१ को एक दिन दिनेशलाई साथीले भन्यो, “जाउँ हिँड् नृत्य सिक्न ।”
“मलाई नृत्य होइन, अभिनयमा रुचि थियो । तँ नृत्य सिक । म एक्टिङ सिक्छु,” साथीलाई दिनेशले भने ।
साथीले नृत्यको कक्षा त पायो । तर, अभिनयको कक्षा रहेनछ । विकल्प भेटिएन । दिनेश पनि नाँच्न सिक्न थाले । नाच्न सिकाउने इन्स्टिच्युट थियो निर्देशक शोभित बस्नेतको ।
स्थानीयस्तरमा हुने सांस्कृतिक कार्यक्रममा नाच्न थाले दिनेश । नाटकहरू हुन्थे त्यसमा अभिनय गर्न थाले । शोभितसँग चिनजान भयो ।
उनले बोलाउन थाले कोरस डान्सका लागि । जान थाले दिनेश । कोरसमा पनि अन्तिमदेखि लिडसम्म आइपुगे । ‘नेपाली बाबु’ मा उनले कोरस गरेका छन् । “त्यसपछि पनि मैले चार÷पाँचवटा चलचित्रमा कोरस गरेँ, तर कुनकुनमा गरेँ मैले पनि बिर्सिसकेंछु,” उनले भने, “तर, डान्स गर्न जाँदा मलाई अरूले यसो गर, त्यसो गर भन्दा अरुले भनेको मान्नेभन्दा पनि यसै गरी अरूलाई अह्राउने मान्छे पो हुनुपर्छ भन्ने लाग्न थाल्यो । सपना सजाउन थालें ।’’
‘‘सानैदेखि अक्षर राम्रो लेख्थें ।’’ त्यो थाहा थियो, शोभित बस्नेतलाई । त्यसैले शोभितले आफूले निर्देशन गर्ने सिरियल ‘डायरी’ को कथा राम्रो अक्षरमा सार्न दिनेशलाई दिन्थे । “त्यो बेला अहिलेको जस्तो टाइप गर्ने चलन थिएन । त्यसैले स्क्रिप्ट राम्रो अक्षरमा सार्न शोभित दाइले मलाई दिनुहुन्थ्यो,” उनले सम्झनाको डायरी पल्टाए, “त्यो सिरयल नेपाल टेलिभिजनबाट प्रशारण हुन्थ्यो ।”
‘डायरी’ पछि उनले शोभित बस्नेतकै अर्को टेलिशृङ्खलामा पनि काम गरे । तर, नाम के थियो । त्यो सम्झनाको पत्रबाट बिलीन भइसक्यो ।
शोभितको घर थानकोट दिनेशको दहचोक । दूरीका हिसाबले पनि नजिकै थियो । आत्मीयताका हिसाबले पनि नजिक भइसकेका थिए । शोभितले ‘बारुद’ निर्देशन गर्ने भए । दिनेशलाई काम गर्ने होइन गराउने रहर कोरस गर्दादेखि नै थियो । त्यसका लागि उनी बन्नुपर्ने थियो निर्देशक । ‘बारुद’ मा शोभितको चिफ असिस्टेन्ट डाइरेक्टर भएर काम गरे ।
चलचित्र निर्देशनको बाह्रखरी ‘बारुद’ बाटै सिकेका हुन् उनले । शोभितसँग मात्रै होइन ‘बारुद’ पछि दिनेशको निकटता चलचित्रसँग पनि भयो । सुदर्शन थापाको चलचित्र ‘मेरो एउटा साथी छ’ मा पनि उनले चिफ एडीको काम गरे । यसले चलचित्रको कखरा बुझ्न थप मद्दत गर्यो ।
“सुदर्शन र हामी एकैपटक चलचित्रमा संघर्ष गरिरहेका थियौं । उसले निर्देशन गर्ने भएपछि कुनै न कुनै रूपमा चलचित्रमा काम गर्नुपर्छ भनेर म ‘मेरो एउटा साथी छ’ मा जोडिएको थिएँ,” दिनेशले सुदर्शनसँगको सहकार्य सुनाए ।
‘मेरो एउटा साथी छ’ ०६४ निर्माण भएको थियो । त्यसपछिका तीन वर्ष उनी देखिएनन् । तर, यर्थाथमा भने उनी हराएका थिएनन् । वर्षहरू चलचित्रमै बितिरहेका थिए । मात्रै परिणाम सतहमा आउने गरी काम भएको थिएन ।
चलचित्र निर्देशन गर्नु थियो । त्यसका लागि कथा र निर्माताको खोजी थियो । चलचित्र त बनिरहेकै थिए । नयाँ निर्देशकहरू पनि भित्रिरहेकै थिए । तर, दिनेशलाई आम चलचित्र बनाउनु थिएन । अरू जस्तै आम निर्देशक पनि बन्नु थिएन । चलचित्रमा केही फरक गर्नु थियो ।
जुन समय उनी चलचित्र बुझ्ने भए । चिफ एडी भएर काम गरे । उनलाई लाग्थ्यो ‘मैले निर्देशन गर्न पाए कस्तो राम्रो बनाउने थिएँ ।’
त्यसैले कथा खोज्दै थिए । छान्दै थिए । प्रदीप भारध्वजले स्टोरी लाइन सुनाए । दिनेशलाई मन पर्यो । हरि महत दिनेशले चिनेका साथी । सँगै संघर्ष गरेका । उनलाई स्टोरी सुनाए । हरिले भने, ‘म प्रोड्युस गर्छु ।’ दिनेशले निर्देशन गरे, ‘आईएम सरी’ ।
०६७ मा जब दिनेशले ‘आइएम सरी’ निर्देशन गरे । तब थाहा पाए निर्देशन सोचे जस्तो सहज रहेनछ । समूहमा गरिने काम रहेछ । एउटाले मात्रै बिगारिदियो भने पूरै चलचित्र नै बिग्रँदोरहेछ । कलाकारदेखि स्पट व्वाईसम्म पारङ्गत नभएसम्म राम्रो चलचित्र बन्दैन ।
अरूका चलचित्र हेर्दा उनलाई चित्त बुझ्दैनथ्यो । तर, निर्देशक भनेको चलचित्र भित्रका विभिन्न विधामा यो राम्रो भयो र यो भएन भनेर मूल्यांकन गर्न सक्ने तर आफैँ काम गर्न भने नसक्ने व्यक्ति पो रहेछु भन्ने अनुभव गरे उनले । “सोचे जस्तो चलचित्र बनाउन कहाँ सकिँदो रहेछ र ? दिमागमा सोचेको कुरा पेपरमा लेख्न सकिन्छ । तर, पेपरमा लेखिएको कुरा भिजुअलमा उतार्न त्यति सजिलो रहेनछ भन्ने मैले पहिलो चलचित्रबाट थाहा पाएँ,” दिनेश पहिलो चलचित्रको अनुभव सुनाउँछन्, “दिमागमा रहेको सोच र पेपरमा लेखिएको कुरा पर्दामा ५० प्रतिशत मात्रै उतार्न सकियो भने पनि ठूलो कुरा रहेछ भन्ने यही चलचित्रबाट थाहा पाएँ ।
पेपरमा हुँदैमा त्यसलाई भिजुअलमा हुबहु न्यारेट गर्न सकिँदोरहेनछ भन्ने अनुभव गरेँ ।”
चलचित्रप्रतिको बुझाई गहिरिँदै गयो । अनुभवले निखार्दै गयो । अहिले दिनेशले अनुुभूत गर्न थाले– स्क्रिप्टलाई ५०–६० प्रतिशत मात्रै पर्दामा उतार्न सकियो भने पनि राम्रो स्क्रिप्टमा राम्रो चलचित्र बन्छ ।
समय अहिलेको जस्तो प्रविधिगत हिसाबले सहज थिएन । इन्टरनेटको सहज पहुँच थिएन । पहुँच पुगेकाहरू पनि अभ्यस्त भइसकेका थिएनन् । फलतः अहिलेको जस्तो व्यक्ति भेट्न, विचार साट्न र निर्माता खोज्न सजिलो थिएन । चलचित्र निर्माणको संख्या अहिलेको जस्तो बाक्लो भइसकेको थिएन । मुलधारकै चलचित्रको बाढी थियो । फरक प्रस्तुति प्रयोगकै रूपमा थियो ।
त्यसैले पनि आफ्नो विचारमा सही थापेर जोखिम मोल्ने निर्माता पाउनै गाह्रो थियो । यसमा भने दिनेश भाग्यमानी भए । दिनेशलाई हरिले साथ दिए । स्क्रिप्ट बोकेर प्रोड्युसरको ढोकाढोका चहार्नु परेन ।
बजारमा चलिरहेका भन्दा एक खुड्किलो माथि उक्लिन्छु भन्ने सोचेका दिनेशले पहिलो चलचित्रबाट त्यो तहको सफलता त पाएनन् । तर, चलचित्र उद्योगका धेरैले दिनेशको तारिफ गरेका थिए । सोचे जस्तो कथाको गहिराईमा निश्चय पनि उनी पुगेका थिएनन् तर उनले क्रिएट गरेको क्यानभासको उच्च प्रशंसा नै पायो । लभ स्टोरीमा राम्रो चलचित्र बनाउन सक्ने निर्देशक जन्मियो भनेर उनलाई धेरैले चिने ।
पहिलो चलचित्रपछि थप परिपक्वताको आवश्यकता महसुस गरे । राम्रो चलचित्रका लागि उत्कृष्ट कथा नै चाहिन्छ भन्ने उनले अनुभूत गरे । राम्रो चलचित्र कसरी बनाउन सकिन्छ ?
उनले स्वाध्यायन गरे । अरूका चलचित्र हेरे । निर्देशनका लागि थुप्रै अफर आए । तर, उनले सबैभन्दा पहिलो कथा हेरे । निर्माताको विचार र आफ्नो विचार मिल्छ कि मिल्दैन ? बुझे । चार वर्षको अन्तरालमा सुवास गिरीले अफर गरे ।
‘नोभेम्बर रेन’ को कथा उनको हात प¥यो । दोस्रो चलचित्रको निर्देशन गरे ‘नोभेम्बर रेन’ ।
चलचित्रत्रले उनलाई ठूलो सफलता दियो । थुप्रै अर्वाड पाए । अब्बल निर्देशकका रूपमा दरिए । तर, उनी भन्छन्, “मलाई पहिलो चलचित्र गर्दा ७० प्रतिशत पर्दामा देखाउन सकेँ भन्ने लागेको थियो होला तर दोस्रो चलचित्रमा त्यति पनि गर्न सकिँन भन्ने मेरो मूल्यांकन छ ।”
त्यसपछि ‘क्लासिक’, ‘पर्व’, र ‘प्रसाद’ निर्देशन गरे । फरक कथा, प्रस्तुति र जनराका चलचित्र एकअर्कासँग तुलना नहुने बताउने दिनेशलाई ‘प्रसाद’ आफैँले निर्देशन गरेका चलचित्र मध्ये सबैभन्दा मन परेको चलचित्र हो । यद्यपि आफ्ना कुनै पनि चलचित्रले आजसम्म दिनेशलाई सन्तुष्ट बनाउन सकेका छैनन् । त्यसैले त्यो आत्मसन्तुष्टि मेटाउने प्रयासमा उनको यात्रा रोकिएको छैन ।
कमेडियन कलाकारको जिन्दगीको उतारचढाव कस्तो हुन्छ ? दिनेश यो पटक चलचित्रमार्फत् भन्दैछन् । चलचित्र हो, ‘सेल्फी किङ’ । तर, यसपटक उनी निर्देशक होइन प्रोड्युसर भएर । “चलचित्र बुझेको व्यक्तिसँग विचार पनि मिल्छ भने किन काम नगर्ने भन्ने लागेर यो पटक निर्माणमा पनि हात हालेको हुँ,” उनले स्पष्ट पारे, “चलचित्र उद्योगभित्रै छु म निर्देशनमा नरहे पनि ।”
वार्षिक सय चलचित्र रिलिज हुँदा लगानी उठाउने चलचित्र गन्नलाई एउटा हातका औंला नै पर्याप्त रहेको दुखद् अवस्थाबाट चलचित्र उद्योग र चलचित्रकर्मी गुज्रिरहेका छन् ।
कारण के हो ?
“राम्रो चलचित्र थियो तर त्यो चलेन भनेको कुनै चलचित्र पनि थाहा छैन मलाई,” एकै वाक्यमा जवाफ दिएका उनले अगाडि थपे, “बक्स अफिसमा हिट हुँदैमा सबै चलचित्र राम्रा हुन्छन् भन्ने पनि छैन ।”
नेपाली चलचित्रको इतिहास लामै भइसक्यो । तर, आजसम्म पनि नेपाली चलचित्रले विदेशी बजारको स्वाद चाख्न सकेको छैन । कारण ? दिनेशका अनुसार नेपाली मौलिक कथा र शैली कलिउडले पस्किन सकेन । बलिउड फर्मुलामा चलचित्र बनाएर त्यसैलाई हाम्रो चलचित्र भनेर दाबी गर्दा को मूर्ख छ र पत्याउने ?