काठमाडौं । नेपालमा अहिले दक्षिण एसियाली खेलकुदको कुम्भ मेला १३ औं दक्षिण एसियाली खेलकुद (साग) चलिरहेको छ । सात राष्ट्र सहभागी यस कुम्भ मेलामा आयोजक नेपालले तेक्वान्दोमा सर्वाधिक १२ स्वर्ण पदक जितेको छ । बिहीबार सम्पन्न तेक्वान्दोतर्फ नेपालले सर्वाधिक स्वर्ण जित्दा करातेतर्फ १० स्वर्ण पदक जित्यो । यी दुई खेल उद्घाटन भएको भोलिपल्ट अर्थात् सोमवारबाट सुरु भएका थिए ।
आयोजक नेपाललाई प्रतियोगिता भव्य रुपमा सञ्चालन गर्ने चटारो छ । खेलकुद पत्रकारितालाई कर्म बनाउँदै आएका खेलकुद पत्रकारलाई त झन किसानलाई असार महिना लागेको जस्तै समाचार लेख्न भ्याइनभ्याइ छ । काठमाडौंका विभिन्न स्थानमा खेल सञ्चालन भइरहँदा समाचारका लागि कहिले यता त कहिले उता दौडने हुलमा पनि मिसिन पुगेकी छु ।
बिहीवार घर्किँदै थियो समय । म सातदोबाटोमा रहेको मिडिया सेन्टरबाट तेक्वान्दो हलतर्फ लागेँ । ४ बजेपछि फाइनल हुने भएका कारण अधिकांश पत्रकार हल पुगिसकेका थिए । एक खेलाडीको सफलताको कथा लेख्न आतुर थिएँ ।
दुरीमा हल पुग्न समय थौरै लागे पनि मनमा हजारौं शब्दको बाढीले मलाई बेचैन बनाइरहेको थियो ।
कारण तेक्वान्दोतर्फकी एक खेलाडी जसको म खुसीको समाचार सबैमा सम्प्रेषण गर्न आतुर थिएँ । खचाखच भरिएको हलमा मेरा नयनले ती खेलाडी खोजिरहेको थियो । खेलाडीको कक्ष बाहिरबाट उनलाई हेर्न कोशिस नगरेको भने होइन, तर सकिनँ । उनमा देखिएको उत्साह तस्बिरमा उतार्नु थियो मलाई । त्यो पूरा नभए पनि अन्य सहकर्मी भएतर्फ जाँदै थिएँ । टक्क मेरा आँखाले त्यो दृष्य देख्यो । जो म क्यामेरामा कैद गर्न चाहन्थेँ ।
त्यो पनि सकिनँ । केवल आँखामा मात्रै कैद भयो, क्यामेरामा हुन सकेन । मानसपटलमा कहिल्यै नमेटिनेगरी रहन पुग्यो । एक अधबैँसे पुरुष काखमा निदाएकी छोरी काखमा लिइरहेका थिए । ती पुरुषले आफ्नी जीवनसाथीको खुसी सबैलाई सुनाउन आतुर देखिन्थे । जीवनसाथीको सफलताको क्षणका लागि कुरिरहेका उनलाई मैले पच्छ्याउने निर्णय गरेँ ।
केहीपरको दुरीमा उभिएर उनलाई हेरिरहेकी थिएँ । आमा खोजिरहेकी छोरीको रुवाइले आफुलाई सम्हाल्नै सकिनँ ।
अनि बहाना बनाएर सोधेँ– तपाईँ मनिता शाहीको श्रीमान् होइन ? मनिता अर्थात् तेक्वान्दोकी एक अनुभवी खेलाडी । जो आमा भएपछि तेक्वान्दोमा कमब्याक गर्दै थिइन् । २००२ बाट राष्ट्रिय खेलाडी मनिता २००६ मा श्रीलंकामा भएको १० औं सागको स्वर्ण विजेता हुन् । ११ औं सागमा रजतमा सीमित उनी २००६ मा एशियन खेलमा कास्य जित्न सफल भएकी खेलाडी हुन् ।
छोरी गर्भमा रहँदा र जन्मिसकेपछि उनकै स्याहारमा लागेकी ३७ वर्षीया मनिता पछिल्लो चारवर्ष भने कुनै प्रतियोगितामा सहभागी भइनन् । यो बीचमा मनिताले भारतमा भएको १२ औं सागमा पनि सहभागिता जनाइन् । ४ वर्षको विश्रामपछि उनलाई कमब्याक गर्नु थियो । त्यो पनि घरेलु मैदानमा हुन लागेको सागमा । मनिताले फेरि पुरानै अवस्थामा फर्किने निर्णय गरिन् । जसमा साथ दिए श्रीमानले ।
त्यहि भएर उनी २० महिनाकी दुधेछोरीलाई श्रीमान् दिनेश खड्कीको जिम्मा लगाएर १३ औं सागका लागि तयार भइन् । छोरीको स्याहारसुसार गर्ने प्रतिवद्धता जनाएका दिनेश श्रीमतीको फाइनल खेल हेर्न आतुर थिए भने छोरीको रुवाइले आजित । कहिले बाहिर निस्कन्थे, कहिले छोरीलाई थुमथुम्याइरहेका हुन्थे ।
कालीमाटीमा पसल सञ्चालन गर्दै आएका उनलाई श्रीमतीलाई हौसला दिनु थियो । त्यही भएर छोरी र परिवारका साथ सातदोबाटो आएका थिए ।
जब फाइनलका लागि मनिताको नाम उद्घोष भयो । उनी कोर्टतर्फ लम्किए । मनिता फाइनलमा भारतीय खेलाडी मार्गरेट मारिया रेगीसँग प्रतिस्पर्धा गर्दै थिइन् । श्रीमतीलाई हौसला दिइरहेका उनी भारतीय खेलाडी मारियाले अंक बटुल्दा निराश हुन्थे तर मनितालाई हौसला दिइरहन्थे । भलै मनिताले मारियाविरुद्ध एक अंक पनि ल्याउन सकिनन् र रजतमा सीमित भइन् ।
रजतमा सीमित हुनुको पिडा मनिताको अनुहारमा प्रष्ट देखिन्थ्यो भने श्रीमती स्वर्णबाट बन्चित हुनुपर्दाको पिडा दिनेशमा झनै बढी देखिन्थ्यो । मैले उनको अनुहारमा देखिएको पिडा क्याप्चर गर्न नसके पनि महसुस भने गर्न सकेँ । एक आमाको सफलताको कथा लेख्न म आतुर थिएँ । तर पनि रजत पदक हात पारेकी मनिताले चित्त बुझाइरहेकी थिइनन् ।
उनले पक्कै पनि स्वर्ण पदक हात पार्छिन् भनेर मैले पहिलेदेखि नै पच्छ्याइरहेकी भए पनि पराजितपछि उनमा देखिएको नैराश्यताका कारण मैले पनि उनीसँग कुरा गर्ने आँट गर्न सकिनँ । उनले स्वर्ण पदक लिएपछि केहीबेर अन्तर्वार्ता गर्ने र उनको सफलताको कथा लेख्ने मेरो चाहना पनि उनको पराजयसँगै विलिन हुन पुग्यो ।
आगामी दिनमा मनितालाई सफलतै सफलता मिलोस्, शुभकामना !