काठमाडौं । “नेकपाभित्र एउटा प्रवृत्ति छ आफूलाई पहिलो दर्जाको र अर्कोलाई दोस्रो दर्जाको ठान्ने ! चुनावको परिणाममा यो प्रवृत्तिले पनि काम गरेको छ । जनमत त तलमाथि भइरहने विषय हो,” भक्तपुरको चुनावी परिणाम आउनेबित्तिकै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को युवा सङ्गठनका अध्यक्ष रामप्रसाद सापकोटाले गरेको आक्रोशयुक्त टिप्पणी हो ।
पूर्वएमालेको गढ मानिएको चाँगुनारायण नगरक्षेत्र र गत प्रदेशसभामा भारी मतान्तरले विजयी भएको ठाउँमा हार बेहोर्नुपरेपछि नेकपा पंक्तिले यसलाई अनपेक्षित नतिजा मानेको छ ।
तर यसलाई एउटामात्रै कोणबाट हेर्नुहुँदैन ।
नेकपाभित्रको एउटा पंक्तिले देवीप्रसाद (डीपी) ढकाललाई उमेदवार बनाउनेबित्तिकै असहमति राख्यो ।
पार्टीका जिल्ला सचिवसमेत रहेका डीपी (देवी)लाई उमेदवार बनाउनुहुँदैन भन्ने मत पार्टीभित्र बलियो थियो । धेरैले अभिव्यक्त गरेनन् । केहीले मुख फोरेर भने ।
उत्तरपूर्वी, काँठ क्षेत्र पर्ने भएकाले बाहिरको व्यक्तिलाई उमेदवार बनाउनुहुँदैन । अझ पूर्वमाओवादी केन्द्रलाई त दिनै हुँदैन भन्दै त्यो समूहले पार्टी कार्यालयमा ताला ठोक्यो ।
जसको नेतृत्व मन्दरा मिश्रले गरिन् । उनी चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्रकी श्रीमती पनि हुन् । डीपीलाई टिकट दिएकाप्रति उनी पनि असन्तुष्ट थिए ।
उत्तरपूर्वी भक्तपुर काँठ र सहरी क्षेत्र छ । सहरी क्षेत्रमा सधैँ नारायणमान विजुक्छे रोहित नेतृत्वको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले पकड जमाएकाले गाउँ, काँठ क्षेत्र उपेक्षामा परेको उनीहरूको बुझाइ छ । यसैको कारण हुनसक्छ, स्थानीय निकाय निर्वाचनमा चाँगुनारायण नगरपालिका तत्कालीन एमालेले जित्यो ।
प्रदेशसभाको निर्वाचनमा पूर्वएमाले र माओवादी केन्द्रको गठबन्धन बन्यो । गठबन्धनले क्षेत्र बाँडफाँड गर्दा माओवादी केन्द्रको भागमा पर्यो ।
तर तत्कालीन एमालेका नेता अहिले भक्तपुरका सहइन्चार्ज सोम मिश्रसहितको समूह असन्तुष्ट भयो ।
पूर्वमाओवादी केन्द्रले डीपीलाई टिकट दियो । पूर्वएमालेको केही पंक्ति डीपीको उमेदवारी दर्तातिर लाग्यो । अर्को समूहले हरिशरण लामिछानेलाई खडा गर्नतिर लाग्यो ।
लामिछानेको उमेदवारीबाट क्षुब्ध भएको पूर्वमाओवादी केन्द्र आफ्नो प्रचारमा लाग्यो । तर पार्टी केन्द्रमा सहमति भएपछि गठबन्धनले लामिछानेको उमेदवारीलाई नै सदर गर्यो ।
ढकालले पनि लामिछानेलाई नै सघाउने भए । तर उमेदवारी फिर्ता लिने समयसीमा सकिएकाले ‘नोमिनेसन’ कायम रह्यो ।
१२ हजार ७८९ मत ल्याएर ‘हरि गुरु’ले चुनाव जिते । उमेदवारी कायम रहेकाले डीपीको चुनाव चिह्नमा ७८४ मत खस्यो ।
लामिछानेलाई सघाउने बताए पनि भित्रभित्र कमलविनायक क्षेत्रमा डीपीले भोट मागेको भनेर पूर्वएमाले अहिले पनि चर्चा गर्छन् ।
त्यसको असर शनिबारको उपनिर्वाचनमा टड्कारै देखियो ।
नेपाली कांग्रेसका उमेदवार कृष्णलाल भँडेल १३ हजार ४४९ मत ल्याएर निर्वाचित भए । नेकपाले हार बेहोर्यो । डीपी ढकालले ११ हजार २०६ मत प्राप्त गरे । अघिल्लो चुनावभन्दा नेकपाको १ हजार ५८३ मत कम आयो ।
यसमा तीनवटा कारण प्रमुख देखिएका छन् ।
पहिलो, भक्तपुर कमलबिनायकमै बसे पनि डीपीलाई त्यहाँकाले स्थानीय मान्दैनन् । बाहिरबाट आएको भन्ने चिन्तन छ । त्यसको कोपभाजनमा उनी परे ।
बाह्रखरीसँगको कुराकानीमा पनि उनले यही भनेका थिए, “म भक्तपुर अस्पतालमा जन्मिएको हुँ । बाबुबाजेको पुख्र्यौली घर काभ्रे, देउपुर हो तर म उहिल्यै सरेर कमलविनायकमै बस्दै आएको छु । मेरो सबै आफन्त चाँगु क्षेत्रमै छन् । तर पनि विपक्षीले बाहिरको भनेर प्रचार गर्दै हिँडेका छन् ।”
विपक्षी भनेको पार्टीभित्र पनि उनको उमेदवारी नरुचाउने पनि पर्थे ।
अर्को, सरकारको काम गराइप्रतिको वितृष्णा । नगरकोट क्षेत्रको ‘लाइफलाइन’ मानिएको भत्केकोपाटी– नगरकोट सडकखण्ड ७ वर्षदेखि बनेको छैन । बाटो बनाउने भनेर भत्काएको आरोप पनि स्थानीयले पूर्वमाओवादीलाई नै लगाउने गरेका छन् । कारण– त्यो परियोजना पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएकै बेला सुरू भएको हो ।
२०७१ सालदेखि सुरू भएको परियोजना अहिलेसम्म पूर्ण नहुँदा र स्थानीय छारोधूलो खाइरहँदा त्यसको वितृष्णा मतमार्फत पोखियो । मुख्य कुरा त त्यो बाटोको ठेकेदार शारदाप्रसाद अधिकारी हुन् । जो, संयोगले प्रचण्डकै घरबेटी हुन् ।
चुनावको मुखैमा नगरकोटको बाटो नबनाउने ठेकेदारलाई सजायँ दिइएको भन्दै त्यहाँका होटल व्यवसायीले गाडीगाडीमा शारदा अधिकारीको फोटो टाँसेर प्रतीकात्मक विरोध जनाए ।
स्थानीयको विरोधले मत प्रभावित बनाउने भन्दै सत्तारूढ नेकपाले ठेकेदारलाई सक्रिय त बनायो । तर विपक्षीले बाटो देखाउँदै भोट मागे । नेकपाले चिर्न सकेन । जनु डीपीको हारका लागि सहायकसिद्ध भयो ।
तेस्रो, डीपी नेकपाका उत्तराधिकारी त हुन् तर ‘हरि गुरु’का थिएनन् । उनले पनि बाह्रखरीसँगको कुराकानीमा त्यसको सङ्केत गरेका थिए । नगरकोट क्षेत्रमा ‘हरि गुरु’को लोकप्रिय, जनप्रिय छवि छ । उनको शेषपछि पार्टीले नगरकोट पालुवारी पारिपट्टी नगरकोट जोड्ने सडक नै बनाएको छ । हरि गुरुमार्ग भनेर । त्यसको लिगेसी बोक्ने ल्याकत उनीसँग भएन ।
स्थानीय स्तरमा उनले विशिष्ट छाप छाडेकाले उनले तटस्थ मत पाएको तर्क नेकपाका नेताहरूको छ । जुन डीपीले पाएनन् ।
“पार्टीका नेता–कार्यकर्ताको भोट पाए । तर जनताले डीपीको विश्वास गरेनन्,” नेकपाका नेता भन्छन् ।
तर पूर्वमाओवादी केन्द्रका नेतालाई पूर्वएमालेले अन्तरघात गरेको आशङ्का छ । दीपशिखाको स्ट्याटसको आसय पनि यस्तै छ ।
प्रमाणको खोजीमा पनि होलान् ।
तर पूर्वएमालेले अन्तरघात गरेको आशङ्का गरिहाल्नु हतारो हुन्छ । मतपरिणाम नै हेर्ने हो भने पनि देखिँदैन । बरु पूर्वएमालेको तटस्थ मत नपाएको भन्ने तर्क नै बलियो देखिन्छ ।
नेकपाले अघिल्लो चुनाव र अहिलेको चुनावमा ल्याएको अन्तर फराकिलो छैन । १ हजार ५८३ मत हो । यति मत व्यक्तिको लोकप्रियताको आधारमा खस्ने मत पनि हो । यही मतलाई आकर्षित गर्न नसक्दा कटौती भएकै कारण डीपीले दोस्रोमा चित्त बुझाउनुपर्यो ।
उपनिर्वाचन सरकारको मध्यावधि समीक्षा समेत हो । विश्वव्यापी मान्यताअनुसार पनि । प्रतीज्ञा पूरा नगरेकाले मतमार्फत सत्तालाई ठेगान लगाउने बेला पनि चुनाव नै हो । निःसन्देह सरकारको कामकारवाहीप्रति जनगुनासो बढेकै छ । त्यसको असर मतमा देखिनु स्वाभाविकै हो ।
नेमकिपाको मत हरायो !
भक्तपुरको प्रदेशसभाको उपनिर्वाचनको रोचक कुरा त यो छ– नेमकिपाको मत घट्यो । नेमकिपाको घटेको मत सङ्ख्या हेरेर सामाजिक सञ्जालमा अनेक आशङ्का गर्न थालिएको छ । कारण– गाउँतिर सामान्य प्रभाव, भक्तपुर नगरपालिका–१० मा विशिष्ट प्रभाव छ नेमकिपाको ।
भक्तपुर–१०मा अघिल्लो निर्वाचनको तुलनामा मतदाता बढेका छन् । भोट पनि उस्तै खसेको छ । तर पनि मत घटेर आयो ।
सदाबहार प्रतिपक्षी उपमा पाएको नेमकिपाको भोट घट्नुपर्ने भरपर्दो आधार भेटिएको छैन । उसँग जनताको असन्तुष्टि हुने कुरा पनि भएन । तर अघिल्लो निर्वाचनको तुलनामा भोट कम पायो ।
अहिले नेकपाका केही कार्यकर्ता यही घटेको भोटको तथ्याङ्क देखाउँदै नेमकिपाले कांग्रेसलाई सघाएको हुन सक्ने लख काटिरहेका छन् ।