site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रचण्डका दुःख
SkywellSkywell

काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलन झण्डै ७० वर्ष एउटै प्रश्नमा रुमलियो– शान्तिपूर्ण सङ्घर्ष या हिंसात्मक बल प्रयोग ?

सात दशक लामो उतारचढाव, विभाजन र एकीकरणको यात्रापछि कम्युनिस्ट आन्दोलन निष्कर्षमा पुगेको छ । शान्तिपूर्ण र जनतामा आधारित सङ्घर्ष कम्युनिस्ट आन्दोलनको अविच्छिन्न बाटो बन्न पुगेको छ ।

७० वर्षपछि कम्युनिस्ट आन्दोलनको कार्यदिशा त थिग्रियो । तर, अबको आन्दोलनको स्वरूप कस्तो हुने ? कस्तो कार्यदिशा अपनाउने भन्नेमा कम्युनिस्ट आन्दोलन अझै स्पष्ट हुन सकेको छैन ।

KFC Island Ad
NIC Asia

कम्युनिस्ट पार्टीहरूसमेत संलग्न भएको आन्दोलनपश्चात् जारी भएको संविधानको प्रस्तावनामा ‘नेपाल राज्य समाजवाद उन्मुख’ हुनेछ भनेर त किटान गरिएको छ । तर समाजवादको स्वरूप र संरचना कस्तो हुनेछ भन्नेमा दलहरूबीच मतैक्य छैन । समाजवादबारे पार्टीपिच्छे आ–आफ्नै शास्त्रीय, वर्गीय चिन्तन र दृष्टिकोण रहेको देखिन्छ ।

अहिले नेकपाले सरकारको नेतृत्व गरिराखेको छ । मुलुकलाई समाजवादी दिशा दिनुपर्ने ठाउँमा उही छ । तर पुनःगठित नेकपाले समाजवादी कार्यक्रम निर्माण गर्न भ्याइसकेको छैन । पार्टी एकतापूर्व र पश्चात् नेकपा नीतिमा भन्दा नेतृत्वकै प्रश्नमा ज्यादा अलमलियो । नेतृत्व बाँडफाँडको खुद्रा–मसिना कुरामा अल्झँदा एकता प्रक्रिया झण्डै १८ महिना लम्बियो । 

Royal Enfield Island Ad

गत बुधबारको सचिवालय बैठकले दुई अध्यक्षको कार्यविभाजन गर्दै एकता प्रक्रियालाई पूर्णता त दियो । तर, सचिवालयको चारबुँदे निर्णयले पार्टीभित्र नयाँ प्रश्न जन्माएको छ– प्रचण्ड ‘कार्यकारी’ कि, ‘जुनियर’ अध्यक्ष ?

कमिटी–प्रणालीका आधारमा हेर्दा प्रचण्ड ओलीकै हैसियतका अध्यक्ष हुन् । नेकपाको अन्तरिम विधानले ओली र प्रचण्डलाई समान अधिकार दिएको छ । तसर्थ सिनियर र जुनियर, कार्यकारी र आलङ्कारिक अध्यक्षको व्याख्या र बुझाइ त्रुटिपूर्ण हुन जान्छ ।

तर सचिवालय बैठकले विधान बाझिने गरी प्रचण्डलाई कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुन निर्देश गरेको छ ।

प्रश्न यहाँनेर उठ्छ, उसो भए यसअघि प्रचण्ड पार्टीमा कार्यकारी अध्यक्षको भूमिकामा थिएनन् त ?

निःसन्देह प्रचण्ड पार्टीमा कार्यकारी अध्यक्षकै भूमिकामै थिए । 

पार्टीका पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओली सरकारको नेतृत्व गरिरहेका छन् । सरकारको काममा बढ्ता केन्द्रित हुनुपर्दा पार्टीका काममा पार्टी अध्यक्ष ओलीले ध्यान दिन पाएका थिएनन्, छैनन् । 

बेलाबखत स्वास्थ्यमा खराबी आउँदा पार्टीका आमसभा, मातहतका कमिटीका बैठक, भेलालाई सम्बोधन गर्न छुटेका छन् । प्रचण्डले नै त्यसको पूर्ति गर्दै आएका छन् । पार्टी अध्यक्षको हैसियतमा उनको देश–दौडाहा जारी छ । 

उसो भए उनलाई किन दिनुपर्‍यो त कार्यकारी अध्यक्ष ? किनकि, उनले पार्टीका सार्वजनिक मञ्चमा अध्यक्षको हैसियत पाए पनि सचिवालय र स्थायी कमिटीको बैठकमा विमुख थिए । 

पार्टी विधानले बराबर हैसियत दिए पनि भूमिकामा दोस्रो अध्यक्षमा खुम्चनुपर्दा ओली र प्रचण्डबीच खटपट बढाएको थियो । पार्टी एकता नै सङ्कटमा त पर्दैन भन्ने शङ्कालाई बढाउँदै लगेको थियो ।

अतः सचिवालय बैठकले अध्यक्षद्वयको भूमिकाको बाँडफाँड गर्दै एउटालाई सरकार सञ्चालनमा र अर्को अध्यक्षलाई पार्टीका काममा केन्द्रित हुन निर्देश गर्‍यो ।

अघिल्लो बुधबारको सचिवालय बैठकले अध्यक्ष प्रचण्डले आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन गर्न निर्देश गरेपछि प्रचण्ड कार्यकारी अध्यक्षको अनुभूतिसहित पार्टी काममा खटिएका छन् ।

तर कम्युनिस्ट पार्टी कमिटीका बैठक सञ्चालन विधि, पद्धिति र स्थापित अभ्यास आफ्नै किसिमका छन् । सामान्यतः बैठकको अध्यक्षता जसले गर्छ, निष्कर्ष र निचोड उसैले निकाल्ने हुँदा प्रचण्डले कार्यकारी अध्यक्षको ‘अनुभूति’ गरेका हुन सक्छन् ।

तर नेकपाभित्र प्रचण्डले बैठकको अध्यक्षता गरे पनि उनकै निष्कर्ष र निचोड अन्तिम हुन्छ कि हुँदैन संशय नै छ । गत भदौ ९ गते प्रचण्डले पहिलोपटक सचिवालय बैठकको अध्यक्षता गरेका थिए ।

चारजना केन्द्रीय सदस्य मनोनीत गर्ने, पार्टी अनुशासनमा कडाइ गर्ने निर्णय पनि गरे । भदौ १३ गते अन्तरपार्टी निर्देशन जारी गर्दै निर्णय मातहतका कमिटीमा सर्कुलर पनि गरे ।

भदौ १५ गते सिङ्गापुरबाट उपचार गरेर फर्किएका ओलीलाई प्रचण्डले एकल हस्ताक्षरमा अन्तर पार्टी निर्देशन (अपानि) जारी गरेको चित्त बुझेन । आफ्नो पनि हस्ताक्षर थपेर तुरुन्तै अर्को अपानि जारी गरे । यही नजिरका आधारमा पनि प्रचण्डले बैठकको अध्यक्षता गरे पनि निर्णय र निष्कर्ष उनको हातमा मात्रै छ भनेर पत्याइहाल्न कठिन रहेको निचोड निकाल्दा अन्यथा हुँदैन ।

बैठकको अध्यक्षता र सञ्चालनका बारेमा सचिवालय बैठकले निर्णय लिए पनि अपानि, सर्कुलर जारी गर्ने विषयमा सचिवालय बैठक मौन छ । पार्टी कमिटीको बैठकले एउटा निर्णय गर्ने सर्कुलरमा अर्को निर्णय राखेर मातहतका कमिटीमा पु¥याइने अभ्यास पूर्वएमालेमा यसअघि नभएको होइन । भोलि यही समस्या दोहोरिने खतरालाई सचिवालय बैठकले खण्डित गरेको देखिँदैन ।

एमाले–मालेको तिक्तता नमेटिँदै थपिएको माओवादी केन्द्र

कुनै समय ‘झापाली’ हरूले आफूलाई मात्रै खाँटी कम्युनिस्ट मान्थे । २० र ३० को दशकमा यो चिन्तन पार्टीभित्र निर्णायक शक्तिका रूपमा थियो । २०३४ सालमा मदन भण्डारीसहितको मुक्ति मोर्चा गाभिएपछि यो चिन्तन किनाराकृत भयो ।

२०५४ साल माघमा पार्टी विभाजन भयो र वामदेव गौतम– साहना प्रधानसहितको ‘क्रान्तिकारी’ समूह विभक्त भयो । माले पार्टीको गठन भयो । २०५९ सालमा दुवै पार्टी एक भयो तर एमाले–माले अलगअलग चिन्तन कायम रह्यो । ‘पार्टी विभाजक’ को आरोप लगाउँदै एमालेले मालेबाट फर्किएकालाई किनाराकृत गर्ने क्रम पछिसम्मै रह्यो । अहिले पनि त्यसमा कमी आएको छैन । मालेमा लागेकैले उपयुक्त जिम्मेवारी नपाउने, अवसरबाट बञ्चित रहनेहरूको लामो सूची छ, पूर्वएमालेमा । निरन्तर पेलानमा परेपछि पार्टी कमिटीकै बैठकमा वामदेव गौतमले आक्रोश पोखेका थिए– “मैले कतिञ्जेल पार्टी फुटाएको आरोप खेपिरहनुपर्ने हो ?”
पूर्वमाओवादी केन्द्रको हकमा पनि यही नियतिको पुरावृत्ति हुन सक्छ ।

पूर्वएमालेभित्रको एउटा समूह अहिले पनि ‘जनयुद्ध’ स्वीकार्दैन । पार्टी विधान र राजनीतिक प्रतिवेदनको प्रस्तावनामा ‘जनयुद्ध’ शब्दै समेट्न हिचकिचायो । नेतृत्व तहमा लामै गलफत्ती चल्यो । 

सशस्त्र सङ्घर्षबाट पार नलागेर शान्तिपूर्ण राजनीतिमा अवतरित भएकाले पछिल्लो परिवर्तनमा ‘जनयुद्ध’को भूमिका नरहेको मत पूर्वएमालेको थियो । अहिले पनि पूर्वएमालेका केही नेताहरु यही तर्कमा अडिएका छन् ।

पूर्वमाओवादी केन्द्र मान्न तयार नभएपछि जनयुद्ध र शान्तिपूर्ण जनआन्दोलनको बलमा राजसंस्था इतिहास बनेको स्वीकार्न पूर्वएमाले तत्पर त भयो । तर आगामी एकताको महाधिवेशनमा यो ठूलै बहसको विषय बन्ने निश्चितै छ । ‘जनयुद्धको लिगेसी’ बोकिरहनुपर्ने कारण नेकपाभित्र पूर्वमाओवादी केन्द्र किनाराकृत हुनुपर्नेछ ।

सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उलङ्घन र गम्भीर प्रकृतिका युद्धअपराधका घटनालाई पनि ‘लायबिलिटी’का रूपमा स्वीकार्न पूर्वएमालेलाई गाह्रै छ । शान्ति प्रक्रिया नटुङ्गिएकाले द्वन्द्वकालका ‘अपराध’ पूर्वएमालेको भागमा पनि पर्ने निश्चित छ । त्यसकारण पूर्वएमाले ‘जनयुद्ध’ शब्द जतिसक्दो चाँडो पन्छाउन चाहन्छ ।

“७० वर्षपछि कम्युनिस्ट आन्दोलनमा हिंसात्मक विद्रोह कि, शान्तिपूर्ण जनसङ्घर्ष भन्ने प्रश्नको निरुपण भएको छ । शान्तिपूर्ण र जनतामा आधारित सङ्घर्ष नै नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा तय भएको छ । यस्तो पृष्ठभूमिमा हिजो हिंसात्मक विद्रोह गरेका आएका शक्तिले नेकपामा मूल नेतृत्व पाउन गाह्रै छ,” पूर्वएमालेका एक नेता भन्छन् ।

अहिले नेकपाले अन्तरिम कार्यदिशाका रूपमा ‘जनताको जनवाद’ तय गरेको छ । पूर्वएमाले र पूर्वमाओवादी केन्द्रको एकीकृत राजनीतिक कार्यदिशा भनिए पनि यसको सैद्धान्तिक जग मदन भण्डारी प्रतिपादित जनताको बहुलीय जनवाद नै हो । नाम जे भए पनि जनताको जनवाद जनताको बहुदलीय जनवादकै संश्लेषित रूप हो ।

प्रतिष्पर्धामा श्रेष्ठता, मानव अधिकारको प्रत्याभूति, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रतालगायत शासकीय राजनीतिक मान्यता जनताको बहुदलीय जनवादकै अङ्ग हुन् । अतः महाधिवेशनपछिको नेतृत्व पार्टीको यही नीति अङ्गीकार गर्ने नै हुनुपर्छ भनेर पूर्वएमालेले सर्त तेर्स्याउँछ नै । 

नेकपाभित्र प्रचण्डका आफ्नै खाले दुःख छन् । शान्ति प्रक्रिया निचोडमा नपुगेकाले त्यसको तरबार शिरमाथि झुण्डिएकै छ । हिजो सँगै जनयुद्धको नेतृत्व गरेका डा. बाबुराम भट्टराई समाजवादी पार्टीतिर लागिहाले । मोहन बैद्य, नेत्रविक्रम चन्द (विप्लव) लगायतको समूहले अलग्गै पार्टी खोलेका छन् । हिजोका जनयुद्धकालीन सपनाको पैरवी गर्नुपर्ने र मुद्दाहरूको किनारा लगाउनुपर्ने दायित्व प्रचण्डकै काँधमा छ । तर नेकपाभित्रको त्रिशङ्कु संरचनाले सजिलै उद्देश्य पूरा हुन दिँदैन ।

“प्रचण्डको अस्थिर अभिव्यक्ति र स्वभावले पनि पूर्वएमालेको मन जित्न गाह्रो छ । अर्का अध्यक्ष (केपी ओली)को मन जितेर मात्रै पुग्दैन,” पूर्वएमालेका नेता भन्छन् ।

माधव नेपालको दुःख

भदौ १ गते बसेको पार्टी सचिवालयको बैठकले पार्टीका वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालको वरीयता हेरफेर गर्‍यो । तेस्रो वरीयतामा रहेका नेपाललाई चौथो वरीयतामा झार्‍यो । चौथो वरीयताका खनाललाई तेस्रो वरीयतामा बढुवा गर्‍यो ।
सचिवालयको निर्णयबाट अपमानित महसुस गरेका नेता नेपालले भदौ ३ गते सातबुँदे नोट अफ् डिसेन्ट लेखे ।

नोट अफ् डिसेन्टको तेस्रो बुँदामा पार्टीका हरेक कमिटीमा एक व्यक्ति एक प्रमुख जिम्मेवारीको वैधानिक व्यवस्थालाई पार्टी अध्यक्षदेखि सबै व्यक्तिमा लागु गर्नुपर्ने उल्लेख थियो । रूपमा ‘एक व्यक्ति, एक मुख्य जिम्मेवारी’ देखिए पनि सारमा त्यो केपी ओलीलाई रिस फेर्न अघि सारिएको प्रस्ताव पनि थियो ।

बुधबारको बैठकले नेता नेपालको मागको सम्बोधन त गर्‍यो । तर प्रचण्डलाई बलियो प्रतिस्पर्धी बन्न बल पुर्‍यायो ।

नेकपाभित्र नेता नेपाललाई प्रतिस्पर्धी आँकलन गरिएको छ । पार्टी एकीकरणका बेला दुईवर्षभित्र एकता महाधिवेशन गर्ने सहमति भएको थियो । तर पार्टी एकता टुङ्गिन नै १८ महिना लागेकाले तोकिएको मितिमा एकता महाधिवेशन हुँदैन । गत वैशाख ९ गते पार्टी अध्यक्ष प्रचण्डले मङ्सिर–पुसभित्र जिल्ला कमिटीको एकता अधिवेशन गर्ने उद्घोष गरेका थिए । अध्यक्षले उद्घोष गरेको समयसम्म जिल्ला कमिटी मर्जसमेत नभइसकेकाले तोकिएकै मितिमा महाधिवेशन हुने सम्भावना टरेको हो ।

पार्टी एकताकै बेलामा आगामी महाधिवेशन सहमतिमा गर्ने उल्लेख छ । तर नेकपाभित्रको पछिल्लो शक्ति सङ्घर्षले सहमतिमा एकता महाधिवेशन हुनेमा पनि शङ्का गर्न सकिन्छ । नेकपाको शक्ति–सन्तुलन पनि अब यथाहालतमा रहेन ।

“जति महाधिवेशनको तिथि धकेलिँदै जान्छ । उति नै पूर्वसहमति कार्यान्वयन गर्नुपर्ने बाध्यता हट्छ,” नेकपाका नेता भन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६  १७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro