site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रचण्ड कार्यकारी होइन ‘जुनियर’ अध्यक्ष !
SkywellSkywell

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि आलङ्कारिक अध्यक्षको भूमिकाबाट कार्यकारीमा बढोत्तरी भएको खुसी साटेका थिए ।

कान्तिपुर दैनिकसँग लामो कुराकानी गर्दै उनले पार्टी एकताको १७ महिने यात्रापछि पहिलोपल्ट ‘कार्यकारी’को अनुभूति गरेको र अध्यक्ष ओलीमा निहीत तजबिजी अधिकार आफूमा आएको भन्दै लामो स्वास फेरेका थिए ।

त्यसो त गत बुधबारको सचिवालयको निर्णयको व्याख्या, विश्लेषण आ–आफ्नै ढङ्गले हुँदै आएको थियो । संस्थापन (अध्यक्ष ओली)निकटका केन्द्रीय नेताहरूले सचिवालयको निर्णय ‘विधानकै व्याख्या’ भएको टिप्पणी गर्दै आएका थिए । पूर्वमाओवादी केन्द्रतर्फ अध्यक्ष प्रचण्डले केपी ओलीमा निहीत कार्यकारी अधिकार सचिवालय बैठकले प्रदान गरेको भन्दै हर्षबढाइँ गर्ने परिस्थिति बनेको थियो ।

KFC Island Ad
NIC Asia

सचिवालयको निर्णयका सन्दर्भमा भ्रमको तुवाँलो खडा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली आफैंले पन्छाउने कोसिस गरेका छन् । उनले कान्तिपुर टेलिभिजनको ‘फायर साइड’ कार्यक्रममा सोमबार बेलुका आफूमा निहीत अधिकार प्रचण्डमा सरेको नभइ दुई अध्यक्षको कार्यविभाजन मात्रै भएको बताए ।
आफू नेकपाको पहिलो वरीयताको अर्थात् सिनियर अध्यक्ष भएको ओलीको भनाइ छ । उनले प्रचण्डको बढुवा नभएको र भूमिकाको वृद्धिसमेत नभएको प्रष्ट पारेका छन् ।

उनले टेलिभिजन अन्तर्वार्तामा भनेका छन्, “हिजो मैलेमात्रै बैठकको अध्यक्षता गर्ने गर्थें, अब मैलेमात्रै अध्यक्षता गर्ने ठाउँमा (कमिटीका बैठकमा) उहाँले अध्यक्षता गर्नुहुन्छ । कहिलेकहिले मन लाग्यो भने मैले पनि गर्छु ।”

Royal Enfield Island Ad

अन्तर्वार्ताको दौरानमा अध्यक्ष ओलीले पटकपटक आफू ‘(सिनियर) पहिलो वरीयताको अध्यक्ष’ भएको बताएका छन् । “पार्टीमा अलिकति सिनियर र जुनियर हुन्छ । म सिनियर अध्यक्ष हुँ,” उनले अन्तर्वार्ताकारसँग प्रष्ट शब्दमा भनेका छन् ।

अध्यक्षद्वयको सिनियर र जुनियर वरीयताले नेकपामा नयाँ विवादको उत्पादन भएको नेकपा नेताहरूको टिप्पणी गरिरहँदा नेकपाको अन्तरिम विधानका निर्माता र ‘व्याख्याता’ बेदुराम भुसालले सचिवालयको बैठकको निर्णय विधानसँग बाझिएको बताए ।

“पार्टी विधानले सिनियर र जुनियर अध्यक्षको कल्पना गरेको छैन । एकजना अध्यक्ष सेरेमोनियल र अर्को कार्यकारी अध्यक्षको पनि कल्पना गरेको छैन । विधानले दुईजना अध्यक्षलाई नै कार्यकारी मानेको छ, अधिकारको बाँडफाँड पनि सोही अनुरूप छ,” उनले बाह्रखरीसँग भने ।
तर सचिवालय बैठकले कार्यकारीको नयाँ भाष्य निर्माण गरेको छ ।

“अध्यक्षको वरीयता विधानमा तय गरिएको छैन । अध्यक्षद्वयको वरीयता कमिटीले निर्धारण गर्ने कुरा हो । पार्टी सचिवालयको संरचनाअनुसार अध्यक्ष ओली पहिलो वरीयतामा त्यसपछि प्रचण्ड रहनुभएको छ,” भुसाल बताउँछन् ।
तर बुधबारको सचिवालय बैठकको निर्णय पार्टीको अन्तरिम विधानसँग नमिलेकाले अप्ठ्यारो पर्न सक्ने बताए ।

“पार्टीभित्र कुरा उठेको अध्यक्षद्वयको कार्यविभाजनका सन्दर्भमा हो । एकजना अध्यक्षलाई सरकार सञ्चालनमा ध्यान दिनेगरी र अर्को अध्यक्षले पार्टीमा ध्यान दिनेगरी कार्यविभाजन गर्न सुझाव दिइएको थियो । तर सचिवालयको बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेछ ! विधान बाझिनेगरी निर्णय गरेपछि अप्ठ्यारो परिहाल्छ नि !,” उनले भने ।

के छ विधानमा ?

नेकपाको अन्तरिम विधानको दफा १८ ले अध्यक्षद्वयलाई सातवटा समान अधिकार प्रत्यायोजन गरेको छ ।

विधानले तोकेको परिभाषित जिम्मेवारीअनुसार अध्यक्षद्वयले राष्ट्रिय परिषद्, केन्द्रीय कमिटी, पोलिट्ब्युरो, स्थायी कमिटी र केन्द्रीय सचिवालय बैठकको अध्यक्षता गर्नेछन् । पार्टीको प्रमुख नेताका रूपमा समग्र पार्टीको नेतृत्व गर्नेछन् । केन्द्रीय कमिटी, पोलिट्ब्युरो र स्थायी कमिटीका बैठकमा आफ्नो तर्पmबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । एकताको राष्ट्रिय महाधिवेशन र राष्ट्रिय परिषद्को बैठकमा केन्द्रीय कमिटीका तर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

महाधिवेशन, राष्ट्रिय परिषद्, केन्द्रीय कमिटी, पोलिट्ब्युरो, स्थायी कमिटी, केन्द्रीय सचिवालयका निर्णयहरू कार्यान्वयन गर्ने–गराउने दायित्व दुवै अध्यक्षको रहेको छ । पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र विधान कार्यान्वयन गर्ने र गराउने दायित्व पनि अध्यक्षद्वयकै छ ।

केन्द्रीय कमिटी, पोलिट्ब्युरो, स्थायी कमिटी र केन्द्रीय सचिवालयले तोकेका कार्य पनि अध्यक्षद्वयले आपसी परामर्शमा सम्पादन गर्नेछन् ।

दुवै अध्यक्षले राष्ट्रिय परिषद्, केन्द्रीय कमिटी, पोलिट्ब्युरो, स्थायी कमिटी र केन्द्रीय सचिवालय बैठकको संयुक्त रूपमा अध्यक्षता गर्न सक्नेछन् । अथवा आपसी सल्लाहमा दुईमध्ये एकले र बैठकमा एकजना मात्र उपस्थित भएमा निजले अध्यक्षता गर्न सक्नेछन् ।

अन्तर पार्टी निर्देशन र सर्कुलर जारी गर्ने सन्दर्भमा पनि विधान प्रष्ट छ । पार्टीका आधिकारिक निर्देशन र पत्राचारमा दुवै अध्यक्षले वा आपसी सल्लाहमा एक अध्यक्षले हस्ताक्षर गर्न सक्नेछन्– अन्तरिम विधानमा प्रष्ट व्यवस्था छ ।

बुधबारको सचिवालय बैठकले पनि योभन्दा फरक निर्णय नगरेको पूर्वएमालेका नेताहरूको दाबी छ । 

पार्टी केन्द्रीय कमिटीको बैठकले विधान संशोधन गरे मात्रै अध्यक्ष ओलीको भूमिका कटौती हुने पूर्वएमालेका केन्द्रीय नेताहरूको तर्क छ ।

बुधबारको सचिवालयले अध्यक्षद्वयको जिम्मेवारी बाँडफाँडका सन्दर्भमा मूलभूत रूपमा चारवटा निर्णय गरेको छ । 

पहिलो, अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको वरीयताक्रम यथावत रहने छ । दोस्रो, अध्यक्ष ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुनेछन् । अर्का अध्यक्ष प्रचण्ड ‘कार्यकारी अधिकार’सहित पार्टी काममा केन्द्रित हुनेछन् । तर, बैठकको अध्यक्षता दुवै अध्यक्षले गर्नेछन् । बैठकको सञ्चालन, अजेण्डा प्रस्तुत गर्ने, निर्णय निचोड निकाल्ने अधिकार प्रचण्डलाई  दिइएको छ ।

तर कान्तिपुर टेलिभिजनसँगको कुराकानीमा अध्यक्ष ओलीले दुवै अध्यक्षको परामर्शलाई इन्कार वा निषेध नगरेको प्रष्ट पारेका छन् । अर्का अध्यक्ष प्रचण्डले कान्तिपुर दैनिकसँगको कुराकानीमा यस कुरालाई इन्कार गरेका छैनन् ।

दोस्रो बुँदामा आम रूपमा बैठकको अध्यक्षता र सञ्चालन पुष्पकमल दाहाल प्रचण्डले गर्ने उल्लेख गरिएकाले प्रचण्डले कार्यकारी अधिकारको अनुभूति गरेको पूर्वमाओवादी केन्द्रका नेताहरू बताउँछन् ।

सचिवालयको निर्णयको तेस्रो बुँदामा प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने उल्लेख गरिएको २०७५ जेठ २ गते भएको पाँचबुँदे सहमतिको चौथो बुँदा खारेज भएको छ ।

निर्णयको चौथो बुँदामा पार्टी र सरकार सञ्चालन अध्यक्षद्वयबीचको आपसी सल्लाहमा गर्ने, पार्टी सञ्चालन गर्दा वैधानिक व्यवस्था र कमिटी प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने लेखिएकाले अध्यक्ष ओलीको अधिकार कटौती नभएको पूर्वएमालेले व्याख्या गर्दै आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६  १४:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro