काठमाडौं । दुई ठूला कम्युनिस्ट पार्टी एकीकृत भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बनेको १७ महिना पूरा भयो । पार्टी एक भए पनि दुई पार्टीका कार्यकर्ताको मन अझै मिलेको छैन भन्ने ज्वलन्त उदाहरण बनेको छ, भक्तपुरको उपनिर्वाचन । भक्तपुर–१ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको मस्तिष्कघातका कारण निधन भएपछि पार्टी सचिवालयले उपनिर्वाचनका लागि देवीप्रसाद ढकाललाई उमेदवार बनाउने निर्णय गरेको छ ।
पार्टी केन्द्रले धरातलीय अवस्था र कार्यकर्ताको मनोदशा/भाव नबुझी ढकालका हातमा टिकट थमाएको भन्दै असन्तुष्ट पक्षले पार्टी कार्यालयमा ताला ठोकेको छ । टिकट फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उद्घोष गरेको छ । जिल्ला कमिटी सदस्य मन्दरा मिश्रसहितको नेतृत्वमा पार्टी कार्यालयमा ताला लगाइएपछि सुरक्षित मानिएको भक्तपुर काङ्ग्रेसको पोल्टामा पर्ने त होइन भन्ने संशय खडा भएको छ ।
२०७४ सालको निर्वाचनमा वाम गठबन्धन बनाएर चुनावी मैदानमा होमिने निष्कर्षमा पुगे एमाले र माओवादी केन्द्र । कार्यदल नै बनाएर उनीहरूले साझा उमेदवार खडा गरे । देशभर एकैसाथ उमेदवार तय गरे । भक्तपुर– १ (क)को प्रदेशसभा सुरूमा माओवादी केन्द्रले पाएको र पछि एमालेले खोसेको भन्दै माओवादी केन्द्रका तर्फबाट देवीप्रसाद ढकाल बागी/विद्रोही बने । उमेदवारी दिए ।
एमालेले हरिशरण लामिछानेलाई टिकट दियो । १२ हजार ७९८ मत ल्याएर लामिछानेले चुनाव जिते । विद्रोही उमेदवार बनेका ढकालले गठबन्धनको मत पाउन सकेनन् । तीन अङ्क अर्थात् ७८६ मतमै सीमित भए । अहिले तिनै जमानत जोगाउन नसकेका ढकाल उमेदवार बनेर आएपछि ‘हराउन लाग्नेलाई जिताउन नसकिने’ भन्दै जिल्ला नेताले जवाफ फर्काएका छन् । त्यतिमात्रै होइन निर्णय नसच्याए केन्द्रलाई ‘सबक सिकाउने’ चेतावनी उनीहरूको छ ।
“हिजो गठबन्धनका विरुद्ध बागी उठ्नेलाई आज उमेदवार बनाएर पुरस्कृत गरिएको छ । यसले कस्तो थिति बसाल्छ, केन्द्रले बुझ्नु पर्ने हो,” एक जिल्ला नेताले आक्रोश पोखे । तर, तत्कालीन माओवादी केन्द्रका नेताहरूको बुझाइ फरक छ । उनीहरू डीपी आधिकारिक उमेदवार भएको तर्क गर्दै आएका छन् ।
बरु हरिशरण लामिछाने विद्रोही उमेदवार भएको तर्क गर्छन् । तर विद्रोही उमेदवारलाई किन माओवादी केन्द्रले भोट हाल्यो र आधिकारिक भनिएका उमेदवार तीन अङ्कमा थन्किनु पर्यो भन्ने प्रश्नको उत्तर भने उनीहरूसँग छैन ।
पार्टी एकीकरणअघिदेखिको यो लफडाले चुनावी परिणाममै असर पार्ने र अहिले उपनिर्वाचन हुनेमध्ये सुरक्षित मानिएको स्थान नेकपाले गुमाउने सम्भावना बढेको भन्दै जिल्ला नेता चिन्तित बनेका छन् ।
“डीपी ढकाललाई कारवाहीको माग गर्नेहरूले हिजो जिल्ला सचिव किन स्वीकार गरे ? किन हिजै कुरा उठाइएन, आज पार्टीले उमेदवार तोकेपछि निःसर्त स्वीकार गर्नु कार्यकर्ताको कर्तव्य र जिम्मेवारी दुवै हो,” पूर्वएमाले निकट एक नेता तर्क गर्छन् ।
उनले निर्णयपूर्व छलफल, बहस हुनु स्वाभाविक भएको भन्दै निर्णय भएपछि अनिवार्य मान्नुपर्ने तर्क गरे ।
“हिजो डीपी यसकारण हुँदैनन्, यसकारण म योग्य छु या फलानो मान्छे योग्य छ भनेर तर्क गर्न सकियो । पार्टीले छलफलका लागि प्रशस्त समय दिएकै हो । हिजो आफैंले तलबाट टुङ्ग्याउन नसक्ने ! आकाङ्क्षीको लामो सूची बनाएर पठाउने ! आज खिसिट्युरी गर्दै, हराउँछु.... देखाइदिन्छु... भन्दै हिँड्नुको तुक छैन,” एक नेता आक्रोश पोख्छन् ।
जिल्ला कमिटीको बैठकमा सुरूमा १८ जनाको नाम आएको थियो । पछि काँटछाँट गरेर ६ जनाको सूची केन्द्रमा पठाइएको र त्यसमा डीपी ढकालको नाम एक नम्बरमा भएको ती नेता बताउँछन् ।
“जिल्ला अध्यक्ष र सचिवले हस्ताक्षर गरेर माथिल्लो कमिटीमा नाम पठाउनुभएको हो । त्यसमा इन्चार्ज र सहइन्चार्ज साक्षी बस्नुभएको छ । आज उहाँहरूले नै तल तल यो मान्छे हुँदैन भन्दै अमुक मान्छेको पक्षधरता लिन मिल्छ ?,” ती नेताको प्रश्न छ ।
यता उमेदवारका आकाङ्क्षी बनेका रमेश बुढाथोकीले केन्द्रको निर्णय मान्ने जानकारी दिए । बाह्रखरीसँगको कुराकानीमा आन्दोलन, असन्तुष्टिका बारेमा आफूलाई केही थाहा नभएको भन्दै केन्द्रले गरेको निर्णय स्वीकार गरेर जाने बताए ।
‘महेश बस्नेत आफैं लागे’
अहिले भक्तपुर नेकपा महेश बस्नेत र डीपी ढकालमा विभक्त भएको जिल्ला कमिटी सदस्य बताउँछन् । जिल्ला कमिटीका एक नेताका अनुसार पार्टी केन्द्रीय सदस्य महेश बस्नेत आफैंले केन्द्रमा डीपीले चुनाव नजित्ने र रमेश बुढाथोकी योग्य पात्र हुन् भन्दै रिपोर्टिङ गरेका थिए ।
तर पार्टीभित्रको शक्ति सन्तुलन, समीकरण मिलाउँदा भक्तपुर तत्कालीन माओवादी केन्द्रको भागमा पर्यो । उपचुनाव हुन लागेका स्थानमध्ये माओवादी केन्द्रको भागमा परेको महत्त्वपूर्ण ठाउँ पनि त्यही हो । महेश बस्नेतले आफ्नो ‘प्रभुत्व’ कमजोर हुने भयले तल अस्थिरता सिर्जना गर्न लागेको पूर्वमाओवादी केन्द्रको आरोप छ ।
पार्टी जिल्लाका सहइन्चार्ज तथा चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्र पनि ढकालका विपक्षमा छन् । उनकै श्रीमती मन्दरा मिश्रले तालाबन्दीको अगुवाइ गरिरहेकाले यो तथ्यलाई बल पुर्याएको उनीहरू बताउँछन् ।
७८६ भर्सेस १२ हजार ७८९
चाँगुनारायण नगरपालिकाको १ देखि ९ वडा र भक्तपुर नगरपालिकाको १० नम्बर वडा रहेको प्रदेश (क)मा ४५ हजार ३६ मतदाता रहेका छन् । यो सङ्ख्या गत प्रदेशसभाको निर्वाचनभन्दा १ हजार ४८६ ले बढी हो । गत स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिकाको मेयर साविक एमालेले नै जितेकाले प्रदेश (क)लाई पूर्वएमालेले ‘गढ’ नै मान्छ ।
गत निर्वाचनमा प्रदेशसभा सदस्यतर्फ उमेदवार बनेका दिवङ्गत लामिछानेले १२ हजार ७८९ मत ल्याएर चुनाव जितेका थिए । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका जीवन खत्रीले ९ हजार ९७७ मत ल्याएर दोस्रो बनेका थिए । भक्तपुर– १ (क)मा नारायणमान विजुक्छे ‘रोहित’ नेतृत्वको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को पनि उत्तिकै प्रभाव छ । नेमकिपाका उमेदवार नीरज लवजुले ७ हजार ०१९ मत प्राप्त गरेका थिए ।
प्रतिस्पर्धामा तीन स्वतन्त्र उमेदवारसहित ११ जना मैदानमा थिए । तर, तीन उमेदवारबाहेक कसैको पनि जमानत जोगिएन । प्रतिनिधिसभाको निर्वाचनतर्फ भने भक्तपुर– १ मा नेमकिपाका प्रेम सुवालले ३० हजार ७६ मत ल्याएर चुनाव जितेका थिए । दोस्रो बनेका काङ्ग्रेसका बाबुराजा जोशीले १७ हजार ८१८ र तेस्रो बनेका माओवादी केन्द्र (गठबन्धन उमेदवार)का मिलन सुवालले १५ हजार ३७४ मत ल्याएका थिए ।
फाइल तस्बिर