काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार सचिवालयको बैठक बोलाएको छ । मङ्सिर १४ गतेको उपनिर्वाचनका लागि उमेदवार तय गर्न सचिवालय बैठक बोलाइएको नेकपाले जानकारी दिएको छ ।
मङ्सिर १४ गते एक प्रतिनिधिसभा, तीन प्रदेशसभा, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्षसहित ४३ वडाध्यक्षसहित ५३ स्थानमा उपनिर्वाचन हुँदैछ ।
शनिबार बस्ने बैठकले सबै उमेदवारको टुङ्गो लगाउने सचिवालयका नेताले जनाएका छन् ।
सचिवालय निकट स्रोतले जानकारी दिएअनुसार मङ्सिर १४ को उपनिर्वाचनमा नेकपा जित्नैपर्ने दबाबमा छ । पार्टीको मात्रै नभई सरकारको लोकप्रियता मापनसँग पनि जोडिएकाले नेकपाले तलका कमिटीबाट जित्ने उमेदवार सिफारिस गर्न जोड दिएको थियो ।
आसन्न निर्वाचनमा बाग्लुङ्मा नेकपाले चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चासँग तालमेल गर्ने भएको छ । यसअघि पनि वाम गठबन्धन र राजमोबीच तालमेल भएको थियो । गठबन्धनबाट राजमोका उमेदवार टेकबहादुर घर्तीले चुनाव जितेका थिए । अहिले पनि दिवङ्गत घर्तीकै श्रीमतीले टिकट पाउने सम्भावना रहेको स्रोतको भनाइ छ ।
कास्की–१ मा विद्या भट्टराईको सम्भावना बलियो छ । भट्टराई कास्की–१ बाट यसअघि निर्वाचन जितेका दिवङ्गत नेता रवीन्द्र अधिकारीकी श्रीमती हुन् । यद्यपि गण्डकी प्रदेशले यसअघि प्रदेशसभा सदस्यमा पराजित राजकाजी गुरूङ र सोमनाथ अधिकारी प्यासीको नाम थपेको छ । प्यासी पूर्वएमाले हुन् भने गुरूङ पूर्वमाओवादी केन्द्रका हुन् ।
दाङ– ३ (ख)मा उत्तरकुमार वलीकी श्रीमती विमला वलीको सम्भावना प्रवल रहेको एक नेताले जानकारी दिए ।
भक्तपुर–१ (क)मा भने रमेश बुढाथोकीकै सम्भावना बलियो रहेको नेकपा स्रोत बताउँछ । शुक्रबार जिल्ला कमिटीले ६ जनाको नाम सिफारिस गरे पनि अन्ततः बुढाथोकीले नै पाउने जिल्ला नेता पनि बताउँछन् । प्रतिनिधि र प्रदेशसभाका यी तीन स्थानमा पूर्वएमालेले नै टिकट पाउने सम्भावना रहेको स्रोतको दाबी छ ।
त्यस्तै धरान उपमहानगरको मेयर पदमा पनि तीन जना आकाङ्क्षीको नाम केन्द्रमा पठाइएको छ । जिल्ला कमिटी सदस्यत्रय प्रकाश राई, चोत्लुङ् लिम्बू, वेणु काफ्लेको नाम सिफारिस भए पनि अन्तिममा राईले नै टिकट पाउने त्यहाँका नेता बताउँछन् ।
गाउँपालिकातर्फ तीन अध्यक्ष रिक्त भएका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका । यी तीनमध्ये पाँचथरको फाल्गुनन्द काङ्ग्रेसले जितेको गाउँपालिका हो । निकटतम प्रतिद्वन्द्वी साविक एमालेका वीरबहादुर कुरूवाङ बनेका थिए । यसपालि उनैले टिकट पाउने सम्भावना छ । साविक माओवादी केन्द्रका ठाकुरसिंह नेम्वाङले ७४४ मात्रै मत ल्याएकाले माओवादी केन्द्रले पाउने सम्भावना न्यून रहेको नेकपाका नेता बताउँछन् ।
सङ्खुवासभाको मकालु पूर्वएमालेले नै जितेको गाउँपालिका हो । खड्ग कटुवालले त्यतिबेला १ हजार ७१२ मत ल्याएर अध्यक्ष जितेका थिए । काङ्ग्रेस र माओवादी केन्द्रको १२१ मतको फरकमा दोस्रो र तेस्रो बनेका थिए । जित्नै पर्ने दबाबमा रहेकाले त्यहाँ पनि पूर्वएमालेले नै टिकट पाउने सम्भावना छ ।
महोत्तरीको पिपरा गाउँपालिका भने पूर्वमाओवादी केन्द्रले पाउने सम्भावना छ । राजपाले जितेको पिपरामा साविक एमाले उपविजेता बनेको थियो । माओवादी केन्द्र र काङ्ग्रेस क्रमशः तेस्रो र चौथो बनेका थिए । तथापि पिपरा माओवादी केन्द्रको भागमा पर्ने सम्भावना रहेको नेकपाका नेता बताउँछन् ।
उपाध्यक्ष रिक्त रहेको हुम्लाको खार्पुनाथ गाउँपालिकामा पनि साविक एमाले नै उमेदवार पाउने सम्भावना छ । यसअघि गाउँपालिका उपाध्यक्षमा काङ्ग्रेसकी सिन्धु हमाल १ हजार १८ मतले विजयी भएकी थिइन् । साविक एमाले ५९ मतले मात्रै पछि परेको थियो । तत्कालीन माओवादी केन्द्रले १०८ मत मात्रै प्राप्त गरेकाले उसले पाउने सम्भावना कम रहेको नेकपाका नेता औंल्याउँछन् ।