काठमाडौं । कात्तिक ५ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पाँचथरले आयोजना गरेको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी ओलीसँग दूरी बढेको ठान्नु भ्रममात्रै भएको टिप्पणी गरे ।
“कहिलेकाहीँ मिडियामा आउने एक दुईवटा कुराले ठूलै केही पो छ कि भन्ने लागेको छ भने त्यो भ्रम हो । तपाईंहरू यो भ्रममा नपर्नुहोस् । हिजोमात्रै पनि प्रधानमन्त्री र म दुईघण्टा बसेर समग्र परिस्थितिलाई कसरी लाने भनेर समीक्षा गरेका छौं । फेरि एउटा समझदारीमा अगाडि जाने सङ्कल्पसहित आएका छौं । अरू होहल्ला र प्रचारबाजीको पछि नलाग्न अनुरोध गर्छु,” पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङ तथा महासचिव विष्णु पौडेललाई साक्षी राखेर प्रचण्डले सोही कार्यक्रममा भनेका थिए ।
त्यसअघि कात्तिक दुई गते कान्तिपुर दैनिकसँग लामो कुराकानी गर्दै प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डसँगको खटपटको केही सङ्केत गरेका थिए । विशेषतः अध्यक्ष प्रचण्डले पार्टी एकताको अघिल्लो दिन भएको पाँचबुँदे सहमतिको चौंथो बुँदा (सरकारको आलोपालो नेतृत्व गर्ने) रटान लगाएकोप्रति उनको विमति थियो । उनले कान्तिपुरसँग खुलेरै भनेका थिए, “जतिबेर पनि, जोसँग भेट भए पनि, जहाँ पनि, जसले पनि सरकार छाडने कुरा गर्नु समझदारी खल्बल्याउने कुरा हो । अस्थिरता देखिने कुरा हो ।”
डेढ वर्षसम्म एकता पनि पूरा नहुने, सरकार र पार्टी सञ्चालनमा दुई अध्यक्षको कुरा बाझिँदा विभिन्न अनुमान हुन थालेका थिए । जनस्तर तथा पार्टीस्तरबाटै पार्टी एकता दिगो नहुनेमा आशङ्का गर्न थालिएको थियो । र, प्रचण्डले त्यसको खण्डन गरेका थिए ।
त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीले अजरबैजानको बाकु सम्मेलनबाट फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीले दुई अध्यक्षको असमझदारीलाई लिएर सोधेको प्रश्नको जवाफ दिँदै भनेका थिए, “रमाइलो कुरा गर्नु भयो, काठमाडौं हुँदाभन्दा बाकुमा हुँदा टाढा त हुने नै भयो । यसभन्दा बाहेक दूरी बढेको छैन, दूरी बढेको भन्ने गणितचाहिँ मिलेन । हामीबीच कुनै प्रकारको दूरी बढ्ने सम्भावना र अवस्था दुवै छैन ।”
पार्टी अध्यक्षद्वयले जति नै विवाद ढाकछोप गर्न खोजे पनि नेकपाको गृहकलह छारस्ट हुने क्रम बढेको छ । दुई अध्यक्षबीच बढ्दो अविश्वास पार्टीको निर्णय प्रक्रियामा प्रतिविम्बित हुने क्रम बढेको छ । नेकपाले एउटै मितिमा दुईवटा अन्तर पार्टी निर्देशन (अपानि) पठाएको खुलासा भएको छ । अध्यक्षद्वयले एकल र संयुक्त हस्ताक्षरमा दुईपटक अपानि पठाएको खुल्न आएको हो ।
पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरमा उपचार गराइरहेका बेला अध्यक्ष प्रचण्डले गत भदौ १३ गते पहिलोपटक आफ्नोमात्रै हस्ताक्षरमा अन्तर पार्टी निर्देशन (अपानि)–२ जारी गरेका थिए ।
हेरौं अध्यक्ष प्रचण्डको एकल हस्ताक्षरमा जारी भएको अपानि
गत जेठ २ गतेदेखि भदौ ९ गतेसम्म पार्टी सचिवालय बैठकले गरेको निर्णयहरूका आधारमा प्रचण्डले दोस्रो अपानि जारी गरेका थिए । तर ओली भदौ २० गते उपचार गरेर फर्किएलगत्तै दुवै अध्यक्षको संयुक्त हस्ताक्षरमा पुनः अपानि जारी गरेको केन्द्रीय सदस्यले बताएका छन् । ती सदस्यका अनुसार पहिलो अपानि इमेलमार्फत् सबै केन्द्रीय सदस्य र मातहतका कमिटीलाई पठाइएको थियो भने दुवै अध्यक्षको हस्ताक्षर भएको अर्को अपानि भने छापेर केन्द्रीय कार्यालयमाार्फत् वितरण गरिएको छ ।
हेरौं दुवै अध्यक्षको हस्ताक्षरित दोस्रो अपानि
भदौ ५ गते बसेको सचिवालयको बैठकमा अध्यक्ष ओलीले आफ्नो अनुपस्थितिमा बैठक बस्ने अख्तियारी प्रचण्डलाई दिएका थिए । निर्णय गर्दा सर्वसम्मतिले गर्नुपर्ने र सकेसम्म फोनबाट आफूलाई निर्णयको जानकारी गराउनुपर्ने अध्यक्ष ओलीको सर्त थियो । निर्णय प्रक्रिया (सहमतीय या बहुमतीय)का बारेमा अध्यक्ष ओली र नेपालबीच भनाभनसमेत भएको थियो ।
अध्यक्ष ओलीले सर्वसम्मतिले निर्णय गर्नुपर्छ भन्दा नेपालले ‘पार्टीको जे विधि छ त्यहीअनुसार निर्णय गरिन्छ, यसअघि मेरो असहमतिमा पनि निर्णय भएको छ नि’ भन्दै प्रतिवाद गरेपछि बैठक तिक्ततामा टुङ्गियो । त्यही बैठकमा हो, अध्यक्ष ओलीले नेता नेपालको स्वास्थ्य लाभको शुभकामनासमेत ग्रहण नगरेको ।
सचिवालय बैठकको म्याण्डेटविपरीत अध्यक्ष प्रचण्डले एकल हस्ताक्षरमा अपानि जारी गरेको भन्दै पूर्वएमालेले आपत्ति नै प्रकट गरेपछि दुवै अध्यक्षले हस्ताक्षर गरेर अर्को अपानि पठाएको बुझिएको हो ।
बाह्रखरीलाई स्रोतले उपलब्ध गराएको दोस्रो अपानिमा निर्णयमा तलमाथि छैन तर अध्यक्ष ओलीको हस्ताक्षरचाहिँ थपिएको छ ।
“दुवै अध्यक्षको सहमतिमा निर्णय गर्ने र दुवै अध्यक्षको हस्ताक्षरमा अपानि र सर्कुलर जारी गर्ने यसअघिको समझदारी थियो । तर अध्यक्ष प्रचण्डले आफ्नैमात्रै हस्ताक्षरमा अपानि पठाएपछि केही केन्द्रीय सदस्यले गम्भीर आपत्ति जनाए । पछि दुवै अध्यक्षको हस्ताक्षरमा अर्को अपानि पठाइएको हो,” एक केन्द्रीय सदस्यले बाह्रखरीसँग भने ।
संस्थापन निकट केन्द्रीय सदस्यले बताएअनुसार पार्टी अध्यक्ष ओलीले प्रचण्डको एकल अध्यक्षतामा बसेको बैठक (९ भदौ)को निर्णयमाथि नै प्रश्न उठाएका थिए । दुवै अध्यक्षले हस्ताक्षर गरेर अपानि जारी गरिसकेकाले वैधताको बहसको औचित्य त छैन । तथापि यसले संशय भने खडा गरेको नेकपा नेताहरूको बुझाइ छ ।
भदौ ९ गते प्रचण्डको अध्यक्षतामा बसेको पार्टी सचिवालयको बैठकले समाजवादी पार्टीको असन्तुष्ट समूह र प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहबाट पार्टी प्रवेश गरेका चारजनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो । बैठकले समाजवादीबाट आएका देवेन्द्र पराजुली र पूर्वमन्त्री कल्पना धमला तथा विप्लवबाट आएका पदम राई र किरण राईलाई केन्द्रीय कमिटीमा मनोनित गरेको थियो ।
निर्णय गर्दा आफूलाई नसोधिएको र गैरकम्युनिस्ट पार्टीबाट आएकालाई पनि केन्द्रीय सदस्य बनाएको भन्दै ओली ‘क्षुब्द’ बनेको स्रोतको दाबी छ ।
“नवप्रवेशीलाई आवश्यकता र औचित्यताको आधारमा जिम्मेवारी दिने पार्टीको नीति छ । तर छलफल नै नगरी हठात् जिम्मेवारी दिँदा प्रत्युत्पादक हुनसक्छ भनेर हामीले आवाज उठायौं । किनभने पार्टीमा निष्ठापूर्वक लागेको, त्याग गरेका नेताहरू पनि केन्द्रीय कमिटीभन्दा बाहिरै हुनुहुन्छ,” एक केन्द्रीय सदस्य भन्छन् ।
“त्यतिबेला अध्यक्ष ओलीले महासचिव पौडेललाई सिङ्गापुरमै बोलाएर सोधेको र निर्णयको बारेमा जानकारी लिएको बुझेका छौं । प्रचण्डले एकल हस्ताक्षरमा अपानि जारी गरेकोमा पनि उहाँको असन्तुष्टि थियो,” ओलीनिकट एक केन्द्रीय नेताले बाह्रखरीसँग भने ।
फाइल तस्बिर