_28355003.jpg)
जनकपुरमा प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव । तस्बिरः बाह्रखरी
जनकपुर । बिहीबार न्युन उपस्थितिबीच भव्य प्रदर्शन गरेर संघीय तथा प्रदेश सरकारले संयुक्त रुपमा नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धन शुभारम्भ ग¥यो । महत्वपूर्ण काम भए पनि आयोजकको अत्यन्तै फितलो व्यवस्थापन तथा पूर्वतयारीको कारण कार्यक्रम भद्दामात्र भएन यस्तै रबैयाले नेपाल भ्रमण वर्ष नै उपलब्धीहिन हुन सक्ने आशंका समेत उब्जाएको छ ।
प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले कार्यक्रम अध्यक्षताको आसनबाटै असन्तुष्टि जाहेर गरे । ‘कौन सुनेगा किसको सुनाए...इसलिए चुप रेहता हुँ’ हिन्दी गीतको बोल उच्चारण गर्दै अध्यक्षीय मन्तव्य थालेका मन्त्री रायले भने, “यत्रो ठूलो उद्देश्य लिएर भव्य समारोह आयोजना त गरियो । कार्यक्रमको अध्यक्षता गर्ने मैले भ्रमण वर्षको लागि साँचेको योजना सुनाउन र सहयोगको लागि आग्रह गर्न बाँकी नै छ, कार्यक्रमका मुख्य अभिभावकको रुपमा आउनुभएका संघीय पर्यटन मन्त्रीजी, प्रदेशका मुख्यमन्त्रीजी, कार्यक्रमका प्रमुख अतिथिको रुपमा आउनुभएका उपप्रधानमन्त्रीजी लगायत प्रदेशसभाका सबै सदस्य पनि गइसक्नुभयो । अब भन्नोस् म कसलाई के सुनाउँ ?”
प्रदेश मन्त्री रायले बोल्न पाउने अवसर पाउँदा कार्यक्रममा उपस्थित एकमात्र स्थानीय तह (जनकपुरधाम) का मेयर, धनुषाकै सीडीओ, प्रदेशसभा सदस्यहरुलगायत बिदा भइसकेका थिए । मञ्च वरीपरी कार्यक्रमकै लागि निम्त्यिाइएका केही कलाकार, कार्यक्रमका स्वयंसेवक, सुरक्षाकर्मी र सर्वसधारणसमेतगरी मुस्किलले डेढ सयजनाको उपस्थिति थियो ।
कार्यक्रमका प्रमुख अतिथिको रुपमा आएका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव सुरुमै बोलेर काठमाडौं हिँडिसकेका थिए । आफु बोल्ने अवसर पाइसकेपछि संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायत नेताहरु समेत हिँडिसकेपछि नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, अधिकांस सुरक्षाकर्मी र स्वयंसेवक समेत हिँडिहाले ।
भारतीय गाडी नियन्त्रणले भ्रमण वर्षमा असर पर्ने
प्रदेश सरकारका पर्यटन मन्त्री रायले गत भदौ १ गतेदेखि लागु हुनेगरी संघीय सरकारले निर्णय गरेको भारतीय नम्बर प्लेटको गाडी नियन्त्रण सम्बन्धी नीतिले भ्रमण वर्षमा अपेक्षा गरेजति पर्यटक नआउने जिकिर गरे । प्रदेश २ मा सन् २०२० मा २० लाख पर्यटक भित्रियाउने अपेक्षा गरिनु गलत नभए पनि भारतीय गाडी नियन्त्रण गर्ने नीतिले यो अपेक्षा पुरा हुन नसक्ने उनको भनाइ हो ।
गत भदौयता भारतीय नम्बर प्लेटको गाडी बढीमा वर्षको २९ दिनसम्म मात्र नेपालमा राख्न पाउने व्यवस्था गरिएको छ । अनलाइन प्रविधिबाट भन्सार काट्ने व्यवस्था लागु गर्दै २९ दिनभन्दा बढी कुनै गाडीको भन्सार स्वीकार्य नै हुन नसक्नेगरी सरकारले गरेको निर्णय पर्यटन वर्षको अहितमा रहेको उनले बताए । “सञ्चारकर्मी मार्फत म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु, भारतीय गाडी नियन्त्रण गर्ने निर्णयमा पुनरविचार गर्नुहोस्,” मन्त्री रायले भने ।
मिथिलाबासीको आचरणमा सुधार आवश्यक
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रादेशिक राजधानीको रुपमा प्रस्तावित जनकपुरको सफाइ अवस्था हेर्दा अहिले पनि आत्मग्लानी भइरहेको बताए । मिथिलाबासीमा मुख्यतया दुईवटा कमजोरी औल्याउँदै उनले भने, “दिनभर आफ्नो काममा व्यस्त रहने भए पनि साँझ मदिरा सेवन गर्ने लतबाट मुक्त हुनु आवश्यक छ ।”
त्यस्तै, घर वरीपरी बाटो तथा सार्वजनिक स्थलहरु फोहोर राख्ने व्यवहारमा पनि धेरै सुधारको आवश्यक्ता उनले औल्याए । उनले भने, “म आज पनि जनकपुरको सार्वजनिक स्थानमा फोहोर देख्दा आत्मग्लानी भइरहेको छ ।”
यादवले प्राकृतिक सौन्दर्यका साथै ऐतिहासिक भूगोल, सांस्कृतिक धरोहर र धार्मिक स्थलहरुको कारण नेपालमा पर्यटनलाई भरपर्दो उद्योगको रुपमा विकास गर्ने पर्याप्त सम्भावना रहेको उल्लेख गरे । यो क्षेत्रको विकास गरी मुलुकको बेरोजगारी तथा गरिबीको समस्यालाई सहज ढंगले सम्बोधन गर्न सकिने आधारलाई तीनवटै तहको सरकारबीच प्रभावकारी समन्वयको आवश्यकता रहेको उनको भनाइ थियो ।
कार्यक्रममा संघीय सरकारका पर्यटनमन्त्री भट्टराईले प्रदेश २ को पर्यटन क्षेत्रलाई प्रवर्द्धनगर्न संघीय सरकार प्रदेश तथा स्थानीय सरकारसँग सहकार्य गर्न तत्पर रहेको बताए । ‘प्रदेश २ मा रहेका ऐतिहासिक महत्वका तालतलैयाको संरक्षण गरेर पर्यावरणमैत्री ढंगले प्रदेशको विकासमा ठूलो सहयोग पुग्ने सम्भावना छ’ उनले भने, “यहाँका धार्मिक धरोहर तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना र विकासका लागि मुख्यमन्त्रीलाई समन्वय तथा सहकार्यमा आउन आग्रह छ ।”