देश
काठमाडौं । चोरीको अभियोगमा पाँच वर्ष जेलमा विताएका एक व्यक्तिसहित पाँच जना पक्राउ परेका छन् । काठमाडौंको स्वयम्भू क्षेत्रमा गरगहना चोरी गर्ने गिरोहको मुख्य नाइके वीरबहादुर श्रेष्ठसहित पाँच जना पक्राउ परेका हुन् ।
उनी केही महिना अघि पाँचवर्ष जेल सजाय भुक्तान गरेका व्यक्ति भएको प्रहरीले जनाएको छ ।
स्वयम्भू क्षेत्रलाई आधार बनाएर चोरी गर्ने दोलखा शैलेश्वरीका वीरबहादुर श्रेष्ठ, सिन्धुपाल्चोक मेलम्ची ८ का दिपक माझी, मेलम्ची ९ का गणेश तामाङ् र भारतीय नागरिक धनन्जय सेण्डीलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार श्रेष्ठकै समूहले डेढ महिनाको अवधीमा ६० तोलाभन्दा बढी सुनका गरगहना, करिब ४ केजी चाँदीका गहना, लाखौं रकम चोरी गरेको महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख डीएसपी कोमल शाहले बताए ।
प्रहरीले उनीहरूले चोरी गरेका ३७ तोला बराबरको सुनका गहना, ३ किलो बराबर चाँदीका गहना, २ लाख नगद, ३ सय ५० अमेरिकन डलर लगाएतका सामाग्री बरामद गरेको छ ।
“चोरी गिरोहका मुख्य नाइके वीरबहादुर श्रेष्ठ यसअघि पनि चोरी र लागूऔषध मुद्दामा ५ वर्ष जेल सजाय भुक्तान गरेका व्यक्ति हुन्,” डीएसपी साहले भने,“डेढ महिनाको अवधीमा उनले ७ वटा चोरी गरेको पाइयो । जसमा ६० तोलाभन्दा बढी सुन मात्रै छ ।”
नका अनुसार ३७ तोला बराबरको सुनका गहना फेला परे पनि बाँकी उनीहरुले बेचिसकेका छन् ।
प्रहरीका अनुसार उनीहरुको चोरी गर्ने तरिका नयाँ प्रकारको छ । उनीहरू पहिला ताला लगाएको घरको खोजी गर्छन् । त्यसपछि ताला फोडेर १५ देखि ३० मिनेटमा चोरी गरेर फरार हुन्छन् ।
स्वयम्भूमा चोरी गरेका गहना र नगद दुई घण्टामै सिन्धुपाल्चोकको मेलम्ची पुर्याउने प्रहरीको भनाइ छ । मेलम्चीमा गहनाको स्वरुप परिर्वतन गरेपछि त्यो गहना ललितपुर ल्याएर सस्तोमा बेच्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार चोरीका सामाग्री ओसार्न उनीहरुले तीन वटा मोटरसाइकल समेत प्रयोग गर्ने गरेका छन् ।
प्रकाशित मिति: सोमबार, साउन १७, २०७३ १८:५०
प्रतिक्रिया दिनुहोस्