काठमाडौं । धुर्मुस–सुन्तली फाउण्डेशनले चितवन, भरतपुर–१५ मा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सार्वजनिक भएको छ । फाउण्डेशनले बुधबार भरतपुर महानगरपालिका र सञ्चारकर्मीमाझ डीपीआर सार्वजनिक गरेको हो ।
फाउण्डेशनले तयार पारेको डीपीआर अन्तर्गत रङ्गशाला कमलको फूल आकारको नेपाली मौलिक ढाँचा र शिल्पमा तयार हुनेछ । रङ्गशाला ३० हजार दर्शक अट्ने क्षमताको हुने फाउण्डेशनको अध्यक्ष एवम् हास्य कलाकार सीताराम कट्टेलले जानकारी दिए । यसअघि २५ हजार दर्शक अट्ने क्षमताको बनाउने लक्ष्य लिए पनि डीपीआर बनाउन पाँचहजार दर्शक अट्ने क्षमता थपिएको छ ।
क्रिएटिभ डिजाइन आर्किटेक प्रालिले अमेरिकी र भारतीय कन्सल्टेन्टहरू नियुक्त गरेर डीपीआर तयार पारेको दुईवर्षभित्रै निर्माण पूरा गर्ने लक्ष्य लिएको धुर्मुसको भनाइ छ ।
रङ्गशालाभित्र सुविधासम्पन्न कबर्ड हल, फुटबल मैदान, स्विमिङ् पुललगायतका संरचना हुने र नेपाल र नेपालीकै लागि राष्ट्रिय गौरव र प्रतिष्ठाको परियोजना हुने धुर्मुसको भनाइ छ । त्यहाँ उनीहरूले क्रिकेट एकेडेमीसमेत स्थापना गर्नेछन् ।
फाउण्डेशनले साउन अन्तिम सातामा परियोजनाको डीपीआर तयार पार्ने लक्ष्य लिएको थियो । तर जेठ १५ गते फाउण्डेशनले बाटोका लागि जग्गा नछुट्याइ अस्थाइ बार (जस्तापाता) डठ्याएको भन्दै डोजर लगाएर प्रारम्भिक निर्माणमा अवरोध पुर्याएका थिए ।
त्यसपछि झण्डै दुई महिना काम अलपत्र परेको, परियोजना नै होल्ड गर्नुपर्ने अवस्था बनेको धुर्मुसको भनाइ छ ।
पहिलो गाँसमै ढुङ्गा
गतवर्षको माघ १६ गते नै भरतपुर महानगरपालिकासँग सम्झौता गरी त्यसको ४ दिनपछि माघ २० गतेदेखि नै डोजर लगाएर फाउन्डेशनले रङ्गशालाको प्राम्भिक काम सुरू गरेको थियो । कृषि तथा वन विश्वविद्यालयको अधिनमा, भोगाधिकारभित्र रहेको २० बिगाहा ६ कट्ठा जग्गामा रङ्गशाला तयार पार्ने सम्झौता भएको थियो । तदनुरूप फाउण्डेशनले अस्थायी संरचना (साइट अफिस, भ्यु टावर, कर्मचारी आवासगृह) निर्माण सुरू गरेको थियो ।
डीपीआर तयार नहुञ्जेल मैदानको संरक्षण र निर्माण सामग्री नहराओस् भनेर कर्कटपाताको अस्थायी बार लगाएको थियो । तर स्थानीयले रङ्गशाला छेउबाट सडकबाटो लैजानुपर्ने र त्यसका लागि फाउण्डेशनले १५ मिटर जग्गा दिनुपर्ने आवाज उठाएका थिए । डीपीआर नबन्दै सडकलाई जग्गा दिँदा रङ्गशाला बनाउने काम अलपत्र त पर्ने होइन भन्ने भयले फाउण्डेशनले एक महिना धैर्य गर्न आग्रह गरेको थियो । तर स्थानीय तयार भएनन् । डोजर चलाएर अस्थायी बार भत्काइदिए ।
“निर्माण सुरू भएकै छैन । अस्थायी बार भत्काइयो । त्यसपछि हामीले झण्डै दुई महिना परियोजना होल्ड गर्यौं । फाउण्डेशनका कर्मचारीहरूबीच रङ्गशाला बनाउने योजनामा पुनःविचार गर्नुपर्छ कि, संसारभर रहेका हाम्रा सहयोगी, समर्थक, शुभेच्छुकलाई यथार्थ अवगत गराएर योजनाबाट पछाडि हट्नु पर्छ कि भन्ने सोच पनि आयो,” धुर्मुस भन्छन्, “तर नेपाल र नेपालीको गौरवको आयोजना भएकाले पछाडि नै फर्कनु हुँदैन भन्नेमा म दृढ भएँ । काम सुरू भयो ।”
२ अर्ब ६० करोड लाग्नेगरी डीपीआर तयार भएको छ । सरकारले निर्माण सामग्रीमा भन्सार सहुलियत, छुट दिए लागत केही घट्ने छ । समयमै रकमको जुगाड हुने हो भने दुई वर्ष पनि लाग्दैन । तर अहिलेसम्म सात करोडको वचनवद्धता (घोषणा) भएको र तीन करोडमात्रै सङ्कलन भएको धुर्मुसको भनाइ छ ।
“यो संसारभर छरिएर रहेका नेपालीहरूको साझा र सामूहिक परियोजना हो । यो समयमै सम्पन्न भए मुलुक बन्छ, हामी बनाउन सक्छौं भन्ने सन्देश पनि प्रवाह हुन्छ । यो समृद्धि र विकासको मानक पनि बन्न सक्छ । त्यसैले पनि सबैको सामूहिक प्रयत्न र पहलकदमीको खाँचो छ,” धुर्मुस भन्छन्, “हामीले सबैलाई आह्वान पनि गरिरहेका छौं । सबैले उत्साह पनि देखाइरहनुभएको छ । निकै आशावादी छौं ।”
उनले डीपीआर तयार भएपछि आधा काम पूरा भएजस्तो लागेको प्रतिक्रिया दिए ।
“कस्तो बन्ने हो, कति लागत लाग्ने हो, यावत् प्रश्न मनभित्र मडारिएका थिए । डीपीआर हामीले सोचेजस्तै र सोचेकै खर्चमा पूरा हुनेगरी तयार भएको छ । सम्बन्धित मन्त्रालय, राष्ट्रिय खेलकुल परिषद्, क्रिकेट सङ्घलाई देखाएर, सबैको रायसुझाब बटुलेर महानगरलाई हस्तान्तरण गर्छौं । डीपीआर स्वीकृत भएपछि दुईवर्षभित्र कुनै मूल्य चुकाएर भए पनि निर्माण सक्छौं,” धुर्मुस्ले अठोट व्यक्त गरे ।
चामत्कारिक काम भएरहेको छ
धुर्मुसले डीपीआर तयार होउञ्जेलसम्म आधारभूत काम पूरा भइसकेको जानकारी दिए ।
“रङ्गशाला बन्ने ठाउँमा पछिल्लो दुई महिनायता चामत्कारिक काम भइरहेको छ । मैदानका लागि आवश्यक पर्ने दुबो तीन बिगाह क्षेत्रफलको जग्गामा रोपिएको छ । पिचका लागि आवश्यक पर्ने माटो प्रशोधन भइरहेको छ । त्यसका लागि छुट्टै घर निर्माण भइसकेको छ । साइट कार्यालय र भ्यू टावर निर्माण कार्य पनि पूरा भइसकेको छ, गोदाम घरसमेत बनिसकेको छ,” धुर्मुस रङ्गशालामा बनाइएका अस्थायी संरचनाबारे चर्चा गर्छन् ।
साविक चउरको उचाइ तीन फिटसम्म उकास्नुपर्ने भएकाले अहिले माटो हाल्ने र सम्याउने काम भइरहेको र त्यो सकिएपछि रङ्गशाला निर्माणको काम शुरू हुने धुर्मसको भनाइ छ ।
०७२ को विस्मयकारी भूकम्पपछि हास्य कलाकार दम्पती सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे समाजसेवामा सक्रिय भएको हो । हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’ मार्फत् चर्चामा आएको जोडीले सुरूमा काभ्रेको डाँडागाउँमा विपन्न २० पहरी परिवारलाई घर निर्माण गरिदियो ।
सिन्धुपाल्चोक गिरानचौरमा ६५ घर तामाङ परिवारलाई सामूहिक, एकीकृत नमुना बस्ती बनाएका धुर्मुस सुन्तलीले बर्दिबासका ५५ धूरी मुसहरलाई सामूहिक आवास बनाइदिए । रौतहटका ४७ धूरी बाढीपीडित विपन्न परिवारलाई पनि उनीहरूले सामूहिक आवास बनाएका छन् । चारवटा एकीकृत बस्ती बनाएपछि धुर्मुस सुन्तलीले ललितपुरको लेलेमा नमुना नेपाल बनाउने घोषणासमेत गरेका थिए ।
तर, बीचमै नेपाली क्रिकेटले ओडीआई स्ट्याटस (एक दिवसीय मान्यता) पाएर अभूतपूर्व सफलता हात पारेपछि क्रिकेट समर्थक, शुभेच्छुककै आग्रहमा यो जोडी रङ्शाला बनाउन होमिएको हो ।