काठमाडौं । उपनिर्वाचनको तिथि नजिकिँदै जाँदा सुनसरीको धरान उपमहानगरपालिकामा चुनावी चहलपहल सुरू भएको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र काङ्ग्रेसले चुनाव लक्षित गतिविधि अघि बढाएको बताएका छन् ।
“हामीले उमेदवार सिफारिस गरेर केन्द्रमा पठाइसकेका छौं । केन्द्रले निर्णय गरेपछि दोस्रो चरणको चुनावी अभियान सुरू हुन्छ,” काङ्ग्रेसका जिल्ला सभापति राजीव कोइरालाले जानकारी दिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले तीलक राईको नाम एकल रूपमा माथिल्लो कमिटीमा सिफारिस गरेको छ । राई यसअघि २०७४ सालको निर्वाचनमा मेयर पदमा पराजित भएका थिए ।
सत्तारूढ नेकपाभित्र भने उमेदवार छान्नै सकस भइरहेको पार्टीका कार्यकर्ताले बताएका छन् ।
स्थानीय तह निर्वाचनका बेला छुट्टाछुट्टै चुनावी प्रतिस्पर्धामा उत्रिएका एमाले र माओवादी केन्द्र एकता भएर नेकपा बनेपछि उसलाई उमेदवार छान्न झन् ठूलो सकस भएको छ । धरान उपमहानगर कम्युनिस्ट प्रभाव र विशेषतः पूर्वएमाले वर्चस्वको क्षेत्र भएकाले पनि उमेदवार छान्न सकस भएको बताइएको छ ।
२०७५ साउन १ गते धरान उपमहानगरका मेयर तारा सुब्बाको निधन भएपछि उपनिर्वाचन गर्नुपरेको हो । छातिमा निमोनियाको सङ्क्रमण फैलिएपछि सुब्बाको निधन भएको थियो ।
“ताराजीको लिगेसी पनि छ । धेरै आकाङ्क्षीहरू हुनुहुन्छ । पार्टीले सर्वसम्मत ढङ्गले राय दिएर माथिल्लो कमिटीमा पठाउँछ,” पार्टीका नगर सदस्य राजमणि निरौला भन्छन्, “उमेदवार सिफारिस नटुङ्गिए पनि चुनावी गतिविधि रोकिएको छैन ।” चुनाव लक्षित टोल र वडास्तरीय भेलाहरु भइरहेको निरौलाको भनाइ छ ।
नेकपाले यही कात्तिक १० गतेभित्र उमेदवार सिफारिस पठाउन निर्देशन दिइसकेको छ ।
प्रदेश १ को मिनि जनमत सङ्ग्रह मानिएको धरानको निर्वाचनमा नेकपालाई उमेदवार छान्नु पहाड पल्टाउन भन्दा गाह्रो हुने त्यहाँका कार्यकर्ता बताउँछन् ।
“पूर्वएमाले र पूर्वमाओवादी केन्द्रका आ–आफ्नै दाबी छन् । स्थानीय पत्रपत्रिका, रेडियोमा अन्तर्वार्ता दिँदै हिँडेका छन्,” नेकपाका कार्यकर्ता भन्छन् ।
स्रोतका अनुसार नेकपामा जिल्ला सदस्य प्रकाश राई र प्रदेश सदस्य विजय राईले दाबी गरेका छन् । दुवै पूर्वएमालेका हुन् । पूर्वमाओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले पनि दाबी गरेका छन् । बेघा यसअघि पनि उमेदवार थिए । पूर्वमाओवादी केन्द्रकै चोत्लुङ लिम्बुले पनि दाबी प्रस्तुत गरेका छन् । पत्रपत्रिकामा अन्तर्वार्ता दिँदै हिँडे पनि उनको भन्दा प्रकाशकै सम्भावना बलियो रहेको नेकपाका नेता–कार्यकर्ता बताउँछन् ।
“यसअघि पनि पूर्वएमाले नै एकल, पाँच हजार मतले जितेको ठाउँ हो । अहिले पनि पूर्वएमालेकै प्रभाव छ । पार्टीले यही अनुसार निर्णय गर्छ,” जिल्ला कमिटीका एक नेताले भने ।
नेकपा दोब्बर मतले अगाडि
धरानमा नेकपाको वर्चस्व राम्रै देखिन्छ । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपाले धरान उपमहानगरको मेयर, उपमेयरसहित २० मध्ये १५ वटा वडा जितेको थियो ।
काङ्ग्रेसले वडा नम्बर १, २, ५ १४ र १८ मा जित हात पारेको थियो भने माओवादीले १७ नम्बर वडामा मात्रै जित हात हासिल गरेको थियो ।
दिवङ्गत सुब्बाले २० हजार ९७५ मत ल्याएर मेयर जितेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका तीलकले १६ हजार १०२ मत ल्याएका थिए । माओवादी केन्द्रका तर्फबाट उमेदवार बनेका बेघाले ११ हजार १८० मत ल्याएका थिए ।
एमाले र माओवादी केन्द्र एक भएकाले नेकपासँग ३२ हजार १५५ मत देखिन्छ । काङ्ग्रेस विगतमा पनि एकल प्रतिस्पर्धामा रहेकाले ऊ ठ्याक्कै दोब्बर मतले पछि देखिन्छ, अर्थात् १६ हजार ५३ मत कम ।
निर्वाचन आयोगका अनुसार धरानमा करिब चार हजार नयाँ मतदाता थपिएका छन् । र, यही मतले जीत र हारको टुङ्गो लगाउने निश्चित छ । गत निर्वाचनमा धरान उपमहानगरमा ८९ हजार मतदाता रहेको आयोगको भनाइ छ ।