site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सीपीसीसँगको प्रशिक्षणपछि नेकपामा दुईधार
SkywellSkywell

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीसँग संयुक्त वैचारिक प्रशिक्षणपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा दुईखाले विचार देखा परेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीले १९ औँ महाधिवेशनबाट पारित गरेको सी जिनपिङ विचारलाई प्रवर्द्धन गर्न सरकार प्रमुख सहभागी हुनु कूटनीतिक मर्यादाविपरीत रहेको विश्लेषण भइरहँदा पार्टीभित्रै वैचारिक छलफलको औचित्यमाथि प्रश्न उठेको हो ।

पार्टी प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले नेकपाले सी जिनपिङको मात्रै नभएर कसैको विचार पनि अन्धानुकरण नगर्ने बताउँदै घुमाउरो शैलीले कार्यक्रमको औचित्यमाथि प्रश्नसूचक चिह्न खडा गरेका छन् ।

KFC Island Ad
NIC Asia

“हाम्रो पार्टी नेकपा कुनै खास देशतिर ढल्कँदैन । हामीलाई राम्ररी थाहा छ कुनै देश वा प्रयोगको अन्धनक्कल नगरी आफ्नै मौलिक बाटोबाट अघि बढ्न सकेको कारणले नै हामी आज उपलब्धिको यो बिन्दुमा आइपुगेका हौं । अनि हामीलाई देशको भूराजनीतिक अवस्थिति र संवेदनशीलता पनि राम्ररी थाहा छ । स्पष्ट होऔं,” श्रेष्ठले मंगलबार माइक्रो ब्लगिङ साइट ट्विटरमा आफ्नो विचार राखेका छन् ।

श्रेष्ठ बुधबार पनि सोही तर्कमा बलियोसँग उभिएका छन् । उनले सी विचारधाराको सर्जक चिनियाँ कम्युनिस्ट पार्टीको अनुभव, आन्दोलन भएको बताउँदै त्यो नेपाल र नेपाल कम्युनिस्ट पार्टीका लागि नभएको बताएका छन् ।

Royal Enfield Island Ad

हाम्रो पार्टी नेकपा कुनै खास देशतिर ढल्कदैन।हामीलाइ राम्ररी थाहा छ कुनै देश वा प्रयोगको अन्धनक्कल नगरी आफ्नै मौलिक बाटोबाट अघि बढ्न सकेको कारणले नै हामी आज उपल्ब्धीको यो बिन्दुमा आईपुगेका हौं।अनि हामी लाई देशको भुराजनीतिक अवस्थिति र संबेदनशीलता पनि राम्ररी थाहा छ।स्पष्ट होऔं।

— NKShresthaPrakash (@nksthaprakash) September 24, 2019

“सी जिनपिङ्ग विचारधारा चिनियाँ कम्युनिष्ट पार्टीका लागि महत्वपूर्ण मार्गनिर्देशक सिद्धान्त हो, हाम्रो लागि होइन । हामी कुनै पनि लोकतान्त्रिक, प्रगतिशील, क्रान्तिकारी, समाजवादी र कम्युनिष्ट अनुभवबाट सिक्न तयार छौं । तर, हामी नक्कल गर्दैनौं । यसमा अलमलिनुपर्ने कुरा केही छैन,” श्रेष्ठले बुधबार पनि ट्विटमार्फत् नेतृत्वलाई सजग गराएका छन् ।

हाम्रो पार्टी नेकपा कुनै खास देशतिर ढल्कदैन।हामीलाइ राम्ररी थाहा छ कुनै देश वा प्रयोगको अन्धनक्कल नगरी आफ्नै मौलिक बाटोबाट अघि बढ्न सकेको कारणले नै हामी आज उपल्ब्धीको यो बिन्दुमा आईपुगेका हौं।अनि हामी लाई देशको भुराजनीतिक अवस्थिति र संबेदनशीलता पनि राम्ररी थाहा छ।स्पष्ट होऔं।

— NKShresthaPrakash (@nksthaprakash) September 24, 2019

तर, नेकपाको विदेश विभागले दुई देशका कम्युनिस्ट पार्टीबीच वैचारिक र राजनीतिक अन्तरक्रिया हुँदैमा ‘चीनतिर ढल्किइहाल्यो’ भन्ने चिन्तन र दृष्टिकोणको खण्डन गरेको छ ।

“यस्ता खालका वैचारिक अन्तरक्रिया र छलफलहरू पार्टी स्थापनाकालदेखि नै हुँदै आएका छन् । यसअघि नेपालका कम्युनिस्ट घटकहरू वर्षैपिच्छे चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा त्यहाँ गएर प्रशिक्षण लिएर आउँथे । यसपाली फरक यत्ति हो– अन्तरक्रियाका लागि चिनियाँ प्रतिनिधिमण्डल यहाँ आयो,” नेकपा विदेश मामिला विभागका उपप्रमुख विष्णु रिजाल बताउँछन् ।

पार्टी एकीकरणपूर्व एमाले र माओवादी केन्द्र वर्षैपिच्छे १५–१५ जनाको समूहमा प्रशिक्षण लिएर आउने गरेको दृष्टान्त प्रस्तुत गर्दै रिजाल थप्छन्, “चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधि मात्रै होइन, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नै दोस्रोपटक प्रधानमन्त्री निर्वाचित भएपछि चीनको राजकीय भ्रमणमा रहेका बेला त्यहाँको पार्टी स्कूल विभागमा प्रशिक्षण दिनुभएको थियो । नेपालको कम्युनिस्ट आन्दोलनको अनुभव सुनाउनुभएको थियो । दुई कम्युनिस्ट पार्टीका बीचमा यसप्रकारको वैचारिक अन्तरक्रिया, आदान–प्रदान हुँदै आएको छ ।”

नेकपा नेपाली कम्युनिस्ट आन्दोलनको मात्र नभएर विश्व कम्युनिस्ट आन्दोलनको हिस्सा भएको रिजालको तर्क छ । “नेकपा इन्टरनेशनल मिटिङ फर कम्युनिस्ट एण्ड वर्कर्स पार्टी (आईएमसीडब्ल्यूपी)को सदस्य पनि हो । जहाँ सय देशका कम्युनिस्ट पार्टी, घटक आवद्ध छन् । १९ सदस्यीय कमिटी छ । चिनियाँ कम्युनिस्ट पार्टी र नेकपा दुवै त्यसको सदस्य हो,” रिजाल सुनाउँछन् ।

गतवर्ष आईएमसीडब्ल्यूपीको सम्मेलन ग्रिसको राजधानी एथेन्समा भएको थियो । पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल आदि नेता सहभागी भएका थिए । अर्को सम्मेलन टर्कीमा हुँदैछ । त्यसमा पनि नेकपाको प्रतिनिधित्व रहने रिजाल बताउँछन् ।

“हामी अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका मञ्चमा सीपीसीसँगै छौँ । तर, आन्दोलन र अनुभव हाम्रो पृथक छ । विचार पनि पृथक छ । एक–अर्काको विचार सुन्नै हुँदैन भन्ने निष्कर्ष निकाल्नु त भएन नि,” उनी भन्छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो तहका नेताले ‘चेयर’ गरेको विशुद्ध विचार सुनाउने हिसाबले आयोजना गरेको कार्यक्रममा सरकार सहभागी हुनु हुँदैनथ्यो भन्ने कूटनीतिक प्रश्नमा रिजाल केपी ओली प्रधानमन्त्रीको हैसियताले नभई पार्टी प्रमुखको हैसियतले गएको बताउँछन् ।

“पार्टी स्कुल विभाग प्रमुख आयोजक रहेको कार्यक्रममा अध्यक्ष नजाने भन्ने हुँदैन । उहाँलाई सरकार प्रमुखको हैसियतमा होइन, पार्टी प्रमुखकै हैसियतमा निम्त्याइएको थियो । सरकार प्रमुख कहीँकतै जानुहुन्न भनेर तर्क गर्ने हो भने पार्टी पनि चलाउनु हुँदैन, बैठकको अध्यक्षता पनि गर्नु हुँदैन भन्ने प्रश्न आउला,” रिजाल भन्छन् ।

अन्तरक्रियाको उद्घाटन गर्दै पार्टी अध्यक्षले हामी कसैको नक्कल गर्दैनौँ भनेबाट नै सबै कुराको प्रष्ट हुने उनको भनाइ थियो । “कार्यक्रमको उद्घाटन सत्रमा पार्टी अध्यक्षले माओत्सेतुङको उदाहरण दिँदै ‘हामी कसैको नक्कल गर्दैनौं । हाम्रा आ–आफ्नै विचार छन् । अनुभव छन्’ भन्नुभएको छ । यसले नै सबैकुराको उत्तर दिन्छ,” उनी प्रष्ट्याउँछन् ।

राजनीतिक विश्लेषक झलक सुवेदी पनि दुई कम्युनिस्ट पार्टीबीच अन्तरक्रिया आदान–प्रदान हुँदैमा झस्किइहाल्नु नपर्ने बताउँछन् । उनले २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना भएदेखि नै वैचारिक आदान–प्रदान चल्न गरेको र नेपालका कम्युनिस्ट पार्टीका घटकहरू चीनबाट दीक्षित भएर आउने चलनचल्ती रहेको उदाहरण दिए ।

“यसपटकमात्रै यस्तो अन्तरक्रिया भएको होइन, २००८ सालदेखि नै आफूलाई कम्युनिस्ट हुँ भन्नेहरू चीन गएर प्रशिक्षण लिएर आउँथे,” उनी भन्छन् ।

यसपटक सत्तामा भएकाले चर्चा पाएको उनको तर्क छ । कम्युनिस्ट पार्टीको मात्रै नभएर समाजवादी आन्दोलनमा लागेकाहरूको पनि यस्तो वैचारिक अन्तरक्रिया, विचार, दृष्टिकोणको आदान–प्रदान हुने गरेको सुवेदी बताउँछन् ।

“समाजवादी विचारधाराको अन्तर्राष्ट्रिय मञ्च ‘सोसलिस्ट इन्टरनेशल’को उपाध्यक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थिए । त्यस मञ्चले पनि यस्ता अन्तरक्रिया कार्यक्रम आयोजना गर्छ, समाजवादी विचार प्रवाह गर्छ, अन्तर्राष्ट्रिय प्रस्ताव तयार पार्छ,” उनी भन्छन् ।

नेकपाभित्रको विवादको चुरो अर्कै भएको सुवेदीको तर्क छ । प्रयोग र प्रणालीको हिसाबले यस्ता मिटिङ, छलफलको आयोजना पार्टी विदेश विभागले गर्छ । बाह्य पार्टीहरूको सम्बन्ध विकास र विस्तारका लागि नै विदेश विभागको परिकल्पना गरिएको हो ।

तर यसबखत पार्टी स्कुल विभागले छलफलको अध्यक्षता गर्दा असन्तुष्टि सुनिएको हुनसक्ने उनको बुझाइ छ । नेकपाले पनि पार्टी स्कुल विभाग र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागबीच वैचारिक छलफल कार्यक्रम भनेको छ ।

पार्टी स्कुल विभागले वैचारिक छलफलको अध्यक्षता र समन्वय गरेपछि पार्टी विदेश विभागको काम अतिथिको ‘सत्कार गर्ने’ देखिएको थियो । दुई पार्टीबीचका समझदारी (एमओयू)मा हस्ताक्षरचाहिँ पार्टी विदेश विभाग प्रमुख माधव नेपालले गरेका थिए ।

“साधारणतया यस्ता कार्यक्रमको चेयर नै विदेश विभागले गर्ने प्रचलन छ । तर, नेकपाभित्रको आन्तरिक समीकरण यसमा हावी भएको देखिन्छ,” उनी भन्छन् ।

सुवेदीले ‘सी–पथ’ विचारधारा नै नभएर तत्कालीन कार्यदिशा भएकाले यसको दिगोपनामाथि संशय व्यक्त गरे । “यो प्रचण्डपथीय विचारधारा जस्तै हो । लामो समय रहँदैन । यसमा हामीले धेरै बहस पनि गर्नुपर्दैन,” उनको तर्क छ ।

तर, सरकारले बेल्ट एण्ड रोड इनिसिटिभ (बीआरआई) र इण्डो प्यासिफिकमा मुलुकलाई ध्रुवीकृत गराएको विचार व्यक्त गरे । “अहिले चीन बीआरआईमार्फत् विचार र व्यापार दुनियाँभर विस्तार गर्न चाहन्छ,” उनले भने, “अमेरिका लिबरल राजनीतिको केन्द्र आफूलाई मान्छ । चीन तिमीहरूको लिबरल राजनीतिले असमानता सिर्जना गर्यो । यसले छिटो विकास गर्न दिँदैन । अस्थिरता सिर्जना गर्छ भन्दै आफ्नो विचारलाई अन्तर्राष्ट्रियकरण गर्दैछ । बहस सिर्जना गर्दैछ । यसमा नेपाल ध्रुवीकरण हुनु जरुरी छैन ।”

सुवेदीले पार्टीको वैचारिक अन्तरक्रियामा सरकार प्रमुख र उपप्रमुख र पूर्वप्रमुख लर्को लागेर जानु पनि कूटनीतिक दृष्टिले अशोभनीय भएको बताए । “यसले सरकार नै चीनतिर ढल्कियो कि क्या हो, एकदलीय पार्टी प्रणालीतिर पो लाग्यो कि क्या हो भन्ने प्रश्न उठाएको छ । नेकपा चीनको दिशातिर ढल्कन सम्भव छैन । अभ्यास र प्रणालीले पनि दिँदैन । नेकपा २०१५ को संसदीय र २०१६ सालको नगर निर्वाचनदेखि नै चुनावमा भाग लिँदै, प्रतिस्पर्धामा सामेल हुँदै आएको छ,” उनी भन्छन् ।

राष्ट्रपति सी आउने सम्भावना बढ्यो

सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ पार्टी महासचिव तथा राष्ट्रपति सीसँग अत्यन्त समीप रहेर कार्यसम्पादन गर्ने नेता मानिन्छन् । पार्टी पोलिटब्युरोमा रहेका सोङ परराष्ट्र विभागमा रहेकाले राष्ट्रपतिको भ्रमणको चाँजोपाँचो पनि मिलाउँछन् ।

सोङको नेपाल आगमनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको सम्भावना बढाएको नेकपा नेता रिजाल बताउँछन् । “सोङ निकै उत्साहित देखिन्छन् । मैले बिहान उनीसँग कुरा गरेँ, उनले सम्भावना व्यक्त गरे,” रिजाल भन्छन् ।

राष्ट्रपति सीको उत्तर कोरिया भ्रमणका बेला सोङ ३ पटक सिउल पुगेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ८, २०७६  १५:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro