काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का सङ्गठन विभागका प्रतिनिधिले समृद्ध देश बनाउन बलियो सङ्गठन आवश्यक रहेको औंल्याएका छन् ।
सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र सीपीसीको संयुक्त वैचारिक अन्तरक्रिया कार्यक्रमको दोस्रो दिनको पहिलो सत्रमा सङ्गठन विभागका नेता एवम् सीपीसीका केन्द्रीय सदस्य सू नान पिङले चिनियाँ जनवादी क्रान्तियताको अनुभवका आधारमा समृद्धिका लागि चुस्त, बलियो, वैचारिक, गतिशील सङ्गठन आवश्यक रहेको बताएका हुन् ।
“समृद्ध चीन निर्माणको आधार भनेकै चिनियाँ कम्युनिस्ट पार्टीको सङ्गठन हो । विचार र राजनीतिक दृष्टिले बलियो पार्टी सङ्गठन रहेकैले पार्टीको कार्यदिशा सफल बन्दै गएको छ,” उनले नेकपाका नेता–कार्यकर्तालाई आफ्नो अनुभव सुनाउँदै भने ।
सुनानले सीपीसीले पार्टी सदस्यता वितरणमा पनि कडाइ गर्ने गरेको उदाहरण दिए । सन् १९२१ मा स्थापना भएको सीपीसीमा झण्डै ९ करोड पार्टी सदस्य छन् । चीनको जनसङ्ख्या भने १ अर्ब ३० करोड छ ।
उनले कम्युनिस्ट पार्टीमा आस्था, विश्वास राख्दैमा सदस्यता वितरण नगरिहाल्ने बताउँदै पार्टी कमिटीको सदस्य बन्न पार्टीले तोकेको परीक्षा उत्तीर्ण गर्नुपर्ने विधि–विधान रहेको बताए ।
“पार्टीले लिएको परीक्षा उत्तीर्ण गरेपछि ऊ केही समय अनौपचारिक सदस्य हुन्छ । त्यसको केही समयपछिमात्रै उसलाई औपचारिक सदस्यता दिइन्छ,” उनले भने । त्यो भनेको नेकपाले विकास गरेको साधारण र सङ्गठित सदस्यताको प्रावधान जस्तै हो ।
अनौपचारिक सदस्यता प्राप्त गरेपछि पार्टीको नियम, पद्धतिप्रति उसको लगाव र परिणाम, प्रतिवद्धता आदिलाई मूल्याङ्कन गरेर सीपीसीले त्यसलाई औपचारिक पार्टी सदस्यताको रूपमा विकास गर्छ ।
बर्सेनि २० लाख नयाँ सदस्य थपिन्छन्
जनसङ्ख्याको अनुपातमा सीपीसीको सदस्य संख्या नेपालको तुलनामा कम छ ।
नेकपाले झण्डै ८ लाख पार्टी सदस्य रहेको दाबी गर्छ । सीपीसीसँग ९ करोड पार्टी सदस्य छन् । सू नान थप्छन्, “हामी पार्टी सदस्य विस्तार गर्न हतार गर्दैनौँ । हरेक वर्ष २० लाखलाई पार्टी सदस्यता विस्तार गर्ने लक्ष्य छ ।”
“जति ठूलो पार्टी भयो त्यति नै व्यवस्थापन गर्न र काम दिन गाह्रो हुन्छ,” पार्टी सदस्यता विस्तारमा कडाइ गर्नुको कारण बताउँछन् उनी ।
सानो, चुस्त कमिटी नै सुदृढ सङ्गठनको आधार भएको सीपीसीको विश्वास छ । चिनियाँ कम्युनिस्ट पार्टीको बेइजिङ सहर कमटी नै १३ सदस्यीय छ । त्यहाँको पार्टी प्रमुख नै बेइजिङको सरकार बन्ने र त्यसलाई विभिन्न विषय विज्ञसमेत सम्मिलित पार्टी समूहले निगरानी गर्ने उनी बताउँछन् । र, नियन्त्रण, रेखदेखेको जिम्मा माथिल्लो कमिटीले लिन्छ ।
सीपीसीको सेल कमिटीले पार्टी सदस्यता वितरणको जिम्मा लिन्छ । पार्टी सदस्य शाखा कमिटीमा आवद्ध हुँदै जाने र क्षमताको आधारमा माथिल्लो कमिटीमा बढुवा हुँदै जाने उनले बताए ।
एउटा पार्टी सदस्यलाई एउटा गाउँ र एउटा विभागलाई चारवटा जिल्ला सुधारको जिम्मा दिइन्छ । उपलब्धि हासिल गरेमात्रै माथिल्लो कमिटीमा बढुवा हुने योग्यता पुग्छ ।
सीपीसीमा पार्टी सदस्यता त्याग्नेको सङ्ख्या पनि उत्तिकै छ । यसवर्षमात्रै १३ लाख सदस्यता रिक्त भएका सुनान बताउँछन् ।
सीपीसीले पार्टी अनुशासनमा पनि उत्तिकै कडाइ गरेको छ । सेल कमिटीदेखि केन्द्रीय कमिटीसम्मका आ–आफ्नै अनुशासन कमिटी हुन्छन् । तिनले पार्टीका निर्णय उलङ्घन भए–नभएको मात्र होइन, पार्टीका निर्णय कार्यान्वयन भए–नभएको जाँच पनि त्यही कमिटीले गर्छ । तोकिएको समयमा माथिल्लो कमिटीलाई प्रतिवेदन बुझाउँछ । शृङ्खलावद्ध कमिटी हुँदै प्रतिवेदन केन्द्रीय कमिटीसम्म पुग्ने सुनानको भनाइ छ ।
अनुशासनको साँधसीमा उल्लङ्घन गर्ने पार्टी सदस्यको सदस्यता खारेजी, सार्वजनिक पदबाट बर्खास्त गर्नुका साथै पार्टी विधानले तोकेको अन्य सजाय समेत दिइनेछ । त्यो सजाय कस्तो हुनेछ भन्ने उनले खुलाउन चाहेनन् । “अनुशासन कमिटीले सिफारिस गरे, तोके बमोजिमको सजाय हुन्छ,” उनले भने ।