महामना बीपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान सुरु गरेको छ । हिमाल, पहाड, तराई राष्ट्रिय जागरण अभियान नाम दिएर सम्पन्न पहिलो चरणबाट कुन ऊर्जा र कस्तो उत्साहका साथ दोस्रो चरणको मैदानमा कांग्रेस ओर्लियो भन्ने समीक्षा गरिएकै हुनुपर्छ । यो कार्यक्रम किन राम्रो छ भने हुँदै नहुनुभन्दा केही भएको छ । त्यसैले कांग्रेसले यसलाई उपलब्धि मानेको हुनुपर्छ ।
विधानले निश्चित् गरेर पनि खण्डखातिर पर्दाका बखतलाई दिएका सुविधा प्रयोग गरेर महाधिवेशन एकवर्ष पर धकेलिने त निश्चितै भयो । महासमितिको निर्देशन भएपनि नेतृत्वको मूल उद्देश्यअनुसार महाधिवेशन समय पर धकेल्न यो अभियान सफल रह्यो । समय घर्कने र काल पर्खने (महाधिवेशनका लागि) उपयुक्त ‘डिजाइन’मा महासमितिको निर्देशलाई अभियानअन्तर्गत प्रयोग गरियो ।
केही मत्थर वा लाज मानेको शैलीमा गुटबन्दीको आवाज कम भएबाहेक थप अर्को उपादेयता दोस्रो चरणसम्म आइपुग्दा कांग्रेसमा स्थापित भएको सुनिएन । अभियानले भन्दा पनि सञ्चार माध्यममार्फत कार्यकर्ता, लेखक र विश्लेषकहरूले दुत्कारेबाट गुटलाई लाज लाग्न थालेको हुनुपर्छ । अभियानमा प्रतिनिधि भाषण जे भए पनि गुटलाई प्रायः पुट दिएरै पहिलो चरण सम्पन्न भएको थियो । घोचपेच चलेकै हो । अभियानमा चलेको कानेखुसी र अनुहारमै झल्किने गुटको स्थापित रंगले आफ्नो ढंग देखाउन छोडेको होइन । यस्तो भूइँयथार्थबीच दोस्रो चरणको निष्कर्ष कस्तो आउला ? पर्खन पर्ने नै छ । अन्तिम वा घोषित तेस्रो चरण त बाँकी नै छ ।
कांग्रेसको लिखत जे आएको होस् तर अनौपचारिक कुराकानीमा ‘केही नहुनुभन्दा केही भयो’ भन्ने बाहेक पहिलो चरणको खासै सकारात्मक परिणामको उदाहरण दिन स्वयं कांग्रेस नेता, खासगरी प्रतिनिधिमा जो खटिएका थिए ती समर्थ पाइएका छैनन् । कार्यकर्ता र जनतामा नेपाली कांग्रेसले आफ्नोअनुकूल सन्देश प्रवाह गर्न जागरण अभियान सुरु गरेको प्रस्टै छ । तर, जनतामा सन्देशको प्रभाव कस्तो, कसरी पर्यो ? यो प्रश्नको उत्तर उत्साहजनक त के सन्तोषजनक पनि छैन ।
थाहा पाउनसक्ने जनमानसले कांग्रेसको जागरण कार्यक्रम छ रे, बाहेक अर्को प्रभाव ग्रहण गरेको सुनिदैन । अर्थात्, जनसाधारणलाई यसले आकर्षित गर्न सकेको छैन । कांग्रेसप्रति समाजमा खस्कँदो भरोसा पुनःजागृत गर्न सकेको पाइएन । भविष्यमा के होला त्यो उसकै गर्भमा छ । अर्कोतर्फ, खटिएका प्रतिनिधिको पहिचान–आकर्षणले आर्जन हुने विश्वासको ठाउँ पनि रहन्छ ।
आयोजकले जति नै दाबी गरे पनि मानिसको ‘मन छाम्ने’ उपाय अरूले पनि जानेका छन् । त्यसरी छामी आएका कुरा जस्ताको तस्तै भनिदिँदा आयोजकलाई मन नपर्नसक्छ र त्यसलाई भिन्नै कित्ताको आरोपमा किनाराकृत गरिने नै छ । अहिलेको कांग्रेसको यथार्थ यही हो । सुझाव सही छ र पनि लेखिएको मर्म नजिककाले नेतालाई भन्ने होइनन् । सुझावमध्ये अप्रिय लाग्ने वाक्यांश जे छ त्यही कुरा नेतालाई कानेखुसी गर्दिने प्यारो परम्परा राजनीतिमा नयाँ होइन ।
इमान नभएको यस्तै राजनीतिमा कित्ताकाट गरेर नेतृत्वलाई वश पार्ने तर त्यही कारण नेतृत्व अप्रिय र संगठन कमजोर भएकोमा चिन्ता नगर्ने ‘परक्रमीहरू’को झुण्डको राजनीतिमा कमी हुँदैन । अकुशल नेतृत्व आलोचनात्मक सुझाव सुन्न पनि तयार देखिँदैन । त्यस्ताले बीपी कोइरालाले जस्तो आलोचनात्मक समूहलाई प्रोत्साहित गर्दा पनि गर्दैनन् ।
साच्चै भन्दा र पटकपटक धेरैले भनेको पनि – कांग्रेस नेताहरूमा जागरण अर्थात् एकताको जागरण आइदिए कार्यकर्ता समस्या हँुदै होइनन् । समस्या नेताले लिने तेरोमेरो हो । यो नहटेसम्म जागरण नामका जतिसुकै अभियान चलाए पनि समस्या वा गुट अन्त्य हुनेछैन । अप्रिय जतिसुकै लागोस् यथार्थ यही हो । कित्ता काटले इमानदार र पार्टीप्रति बफादार कार्यकर्ता कांग्रेसमा कति पीडित वा निराश छन् त्यसको फेहरिस्त दिनुपर्ने खाँचो छैन । सबैभन्दा राम्ररी यो कुरा नेताहरूले नै बुझेको हुनुपर्छ । किनभने, कार्यकर्ता नेता प्रताडित नै हुन् र भनेअनुसार उनीहरू यही ठान्छन् ।
पीडित कार्यकर्ताको आवाज संगठित छैन, एकल छ । त्यसैले त्यो आवाजको सुनुवाइ गर्न नेताहरू आवश्यक ठान्दैनन्, बरु यो त अर्कै गुटको मान्छे भनेर सजिलै उपेक्षा गरिदिन्छन् । ‘तपाईँ’ कुनै गुटको बन्नुछैन, होइन । तर, अर्कैले तपाईँलाई मनचाहे गुटको बनाइदिन्छ, आफ्नो स्वार्थमा जता हो त्यतै गुटमा धकेलिदिन्छ । धकेलिएकाहरूको त्यो आवाज संगठित स्वरुपमा आउन सक्यो भने नेतालाई सोच्नैपर्ने बाध्यता आइलाग्छ । संगठित भएनन् र कराउँदा कराउँदै त्यो सही आवाज निराशामा परिणत भयो भने पनि कांग्रेस संगठनलाई अपूरणीय क्षति पुग्ने निश्चित छ । अहिलेको लक्षण कांग्रेसको यस्तै छ ।
बीपी कोइराला कार्यकर्तालाई सम्पत्ति मान्नुहुन्थ्यो । अहिलेका नेता तेरो र मेरोमा कित्ता छुट्याउँछन् । आकाश, पातालजस्तै भिन्नता । यति ठूलो भिन्नताबीच कांग्रेसले एकताको सूत्र कसरी स्थापित गर्छ र देशका सामु अहिले उपस्थित समस्यालाई कुन खुबीमा सम्बोधन गर्छ ? यस्तो गम्भीर विषयमा निक्र्योल र समाधान दिन सकेन भने जागरण अभियान कांग्रेसका लागि आत्मरतिमा नै सीमित हुने निश्चित छ । त्यो पनि सिँगो कांग्रेसलाई होइन, गुटगत कांग्रेसलाई आत्मरति ।
जागरण कार्यक्रम ‘सुगा रटाइ’ जस्तो एकताको कुरा गर्नमात्र त होइन होला । त्यसले व्यवहार र चरित्र खोज्छ नै । असफल सरकारको फेहरिस्त दिनमात्र पनि जागरण अभियान आवश्यक देखिएन । कांग्रेसको जागरणभन्दा अघि नै नागरिकले सरकार असफल भन्ने बुझिसकेका छन् । समीक्षा गरेर हेरियोस् कांग्रेसको जागरणले सरकारी असफलता र भ्रष्टाचारको कुरा जनतामा पुर्याएको पटक्कै भेटिने छैन । बरु सञ्चार माध्यम वा आफ्नै भोगाइ र पढाइले जनताले सरकारको असफलता बुझेका छन् । संस्थागत सरकारी भ्रष्टाचार थाहा पाएका छन् । दुई तिहाइको धाक जति भए पनि यो सरकारबाट अब देश, दुनिया चल्ने छैन भन्ने निष्कर्षमा नागरिक आफैँ पुगिसके छन् । सर्वेक्षण गरेर हेरे निष्कर्ष यही आउने निश्चित छ । यसमा कांग्रेसको जागरणको कुनै योग भेटिनेछैन । कार्यकर्ताको कुरा बेग्लै अर्थात् जस्ताको तस्तै ।
अहिले जनतामा देखिएको निराशा वा विद्रोह सरकार उत्पादित हो । यो निराशालाई आशामा बदल्ने कांग्रेसको कोसिस त होला तर आजको मितिसम्म त्यो हुनसकेको अनुभूति कसैलाई छैन । जागरण अभियानले सरकारको स्वेच्छाचारी कृत्यको जानकारी नागरिकसम्म पुर्याएको र कांग्रेसप्रति भरोसा बढाएको दाबा गरे त्यो पुष्टि हुँदैन । दोस्रो चरणपछि दाबा गर्नसक्यो भने त्यो पर्खेर हेर्नैपर्छ ।
‘लकिरका फकीर’ हुनुपर्छ भन्ने त होइन तर बीपी कोइरालाले राजनीतिमा स्थापित गरेका केही मानक छन् । उहाँको जयन्तीका अवसरमा ती मान्यता वा मानक महत्त्वका हुन् उहाँको नाम र जन्ममिति हैन । मान्यताले प्रधानता पाउनुपर्छ । मान्यता समय सान्दर्भिक परिमार्जन हुन्छ नै । तर, त्यसको केन्द्रीय सूत्र अविचलित रहन्छ । राजनीतिमा दर्शन भनेको यही हो । आदर्श सूत्र पनि यही हो ।
बीपीले स्थापित गरेको मानक अनुकरणीय बनाउने हो भने कांग्रेसले आफ्ना कार्यकर्तालाई केही अध्ययनशील बन्न प्रेरणा दिनुपर्छ । जीवन पद्धतिमा बीपी स्थापित चारित्रिक, व्यावहारिक र सैद्धान्तिक मानक कार्यकर्तालाई बुझाउन सके कांग्रेसका लागि महत्त्वपूर्ण उपलब्धि हुनेछ । तर, यसका लागि सबभन्दा पहिले तयार फेरि पनि नेताहरु नै हुनुपर्छ । प्रजातन्त्रमा हुकुमले थिति बस्दैन, अनुसरणले बस्छ ।
नेपालको सन्दर्भमा विश्वेश्वरप्रसाद(बीपी)कोइरालालाई नेपाली कांग्रेसको संस्थापक नेतामात्रै भनिए, त्यो अपुरो हुन्छ । बीपी नेपालको प्रजातान्त्रिक चेतना, समाजवादी चिन्तन र यौनजनित मानवीय आवश्यकले उत्पन्न गर्ने ऊर्जाका व्याख्याता साहित्यकार र आयामिक प्रभावको व्याख्या गर्ने नेता पनि हो । राजनीति र साहित्यबाट समाज र संस्कृति हेर्ने व्यापक संस्थापक दृष्टि पनि हो ।
यी महापुरुषका अनुयायी कांग्रेसका नेता, कार्यकर्ताको हबिगत यतिबेला दयनीय छ । तर, कांग्रेसमा जुझारु, अध्ययनशील अनि गुटलाई अर्थ नदिने कार्यकर्ता पनि छन् । यद्यपि, ती सीमान्तकृत, निष्प्रभावी बनाइएका छन् । बीपी निर्देशित मान्यतामा हिँड्न चाहने इमानदार पनि छन् र स्वार्थका लागि बीपीको नाममा पसल थाप्नेहरु पनि छन् । यस्ता सबैका लागि यो जागरणले दिने सन्देश कस्तो होला ?
तर, राम्रो होस् । बीपीलाई समाउनुपर्ने ठानेरै अहिलेको कांग्रेस नेतृत्वले राजनीतिलाई सच्याउन, कार्यकर्ता र जनतालाई उचित सम्मान दिने यो जागरण अभियान चलाएको हो भने प्रशंसनीय नै हुने छ । आशा गरौँ, बीपी जाग्रत कांग्रेसमा जागरण आओस्, देश र जनताका लागि कांग्रेस भरोसा एवं संरक्षक बनोस् । विचार र चरित्रको राजनीति अघि बढोस् । नेपाली राजनीतिमा खाँचो यही छ ।