site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

रौतहट । करिब दुई दशकपछि घोषणा गरिएको स्थानीय तहको निर्वाचनलाई लिएर देशैभर जनतामा उत्साह देखिएको छ । तुलनात्मक रुपमा दुई नम्बर प्रदेशमा निर्वाचनको रौनक नरहेको दाबीसहित मधेसवादी दलका नेताहरुले प्रचार गरे पनि स्थानीयस्तरमा भने त्यसको ठिक उल्टो अवस्था भेटिन्छ ।

होटल तथा चिया पसल होस् या एकआपसमा भेट्दा चुनावकै कुरा हुन्छ । दुई चार जनाको जमघटमा निर्वाचनकै कुरा हुन्छ । स्थानीय सञ्चार माध्यमले पनि यसैगरी नै चुनावलाई प्राथमिकतामा राख्दै समाचार प्रकाशन प्रसारण गरेको पाइएको छ ।

त्यसोत निषेधका कार्यक्रम घोषणा गरेका मधेसकेन्द्रित दलहरु कार्यकर्तादेखि नेतासम्म आफ्नो पार्टी प्रवेश गराउन लागेको देख्दा उनीहरु पनि चुनावको तयारीमा लागेको देखिन्थ्यो । भलै उनीहरुले सार्वजनिक रुपमा चुनावको स्वागत भने गर्न सकेका छैनन् ।

रौतहट गौरका हरेराम झा पेसाले गाडी चालक हुन् । उनलाई वैशाख ३१ मै चुनाव भएको हेर्न रहर छ । “चुनाव हुन्छ या हुँदैन त्यो त मलाई थाहा छैन,” झा भन्छन्, “तर हामी जनता भने चुनाव भइदियोस् भन्ने चाहन्छौं ।”

लामो समयसम्म चुनाव नहुँदा विभिन्न राजनीतिक दलका नेताहरु मिलेर बजेट खाने गरेका कारण विकास निर्माणका काम नभएको उनको बुझाइ छ ।

“सानो कामका लागि सचिव खोज्न उसको घरघर धाउनुपर्छ । दुरबाट आएको जनतालाई यो काम गर्न निकै गाह्रो हुन्छ,” झा भन्छन्, “चुनाव हुन दिँदैनौँ भनेर हाम्रा नेताहरुले भनिरहेका छन् । यी नेताहरुले हाम्रा लागि केही काम गरेनन् । हाम्रो दुई नम्बर प्रदेशलाई बदनाम गरे । दुई नम्बरको प्रदेशको भन्न पनि लाज लाग्ने भयो ।”

रामपुर ६ रौतहटका जयप्रकाश यादवलाई पनि चुनाव भइदियोस भन्ने चाहना छ । लामो समयदेखि चुनाव नहुँदा स्थानीय स्तरमा नेतृत्वको विकास हुन नपाएको र नेता जनतामुखी नभएको भनाइ छ ।

“चुनाव नहुँदा नेताहरु जनताप्रति उत्तरदायी भएनन्,” उनी भन्छन्, “विकासका लागि आएको बजेट पारदर्शी भइरहेको छैन । यी सबै कुरा निराकरणका लागि पनि चुनाव समयमै हुनुपर्छ ।”

स्वास्थ्य मन्त्रालय र नेपाली सेनाले आयोजना गरेको सघन स्वास्थ्य शिविरमा बिहीबार भेटिएका उनी भन्दैथिए, “हामीलाई कुन पार्टी वा नेता भन्ने जनतालाई मतलब भएन तर चुनाव समयमै हुनुपर्छ । राजनीतिक स्थायित्व हुनुपर्छ ।”

शिरिवमै भटिएका हेल्प लाइन नेपालका रौतहट राप्रताप यादव पनि निर्वाचन हुनुपर्ने पक्षमा जनता रहेको बताउँछन् । “राजनीतिको नेतृत्व तहमा के हुन्छ जनतालाई मतलब हुँदैन,” यादव भन्छन्, “तर शान्तिपूर्ण रुपमा निर्वाचन होस् भन्ने जनताको चाहना छ । अधिकांश जनता राजनीतिको भाषा बुझ्दैनन् तर विकास निर्माणले गति लियोस् भन्ने जनताको चाहाना छ । यसका लागि पनि निर्वाचन होस भन्ने जनताको चहाना हो ।”

स्थानीय कांग्रेस नेता प्रकाश सिंह मधेसवादी दलका स्थानीय नेताले पनि निर्वाचन चाहेको बताए । “स्थानीय नेताहरुले विद्रोह गर्न सक्तैनन् तर उनीहरु सक्ने भए पार्टीपरित्याग गरेर स्वतन्त्रबाट पनि चुनाव लड्न चाहन्छन्,” नेता सिंह भन्छन्, “यसको मतलब जनता चुनाव होस भन्ने पक्षमा छन् ।”

तर, नेता सिंह पनि पहिला सीमाको विवाद भने मिलाएर मात्रै निर्वाचनमा जाँदा राम्रो हुने तर्क गर्छन् । “सबैलाई सन्तुष्ट बनाएर मात्रै चुनावमा जानुपर्छ । जवरजस्ती निर्वाचन भने गर्नुहुँदैन,” उनले थपे ।

बाराका सञ्चारकर्मी जीतलाल श्रेष्ठ पनि जनताले निर्वाचन चाहेको बताउँछन् । “जनतालाई सीमा, क्षेत्र वा गाउँपालिका र नगरपालिकाका विषयमा मतलब छैन,” उनी भन्छन्, “समयमै चुनाव भइरह्यो भने विकास हुन्छ भन्ने छ । त्यसैले आम जनता निर्वाचनको पक्षमा रहेका छन् ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १३, २०७३  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro