विराटनगर । प्रदेश १ मा मुख्यमन्त्री कप फुटबल प्रतियोगिताबारे छानबिन गरिरहेको सार्वजनिक लेखा समितिले प्रतियोगिताको प्राविधिक विषय सामाजिक विकास समितिलाई छानबिन गर्न दिने निर्णय गरेको छ ।
छानबिनका क्रमममा समितिले आयोजक अखिल नेपाल फुटबल संघ(एन्फा)सँग मगाएका बिल तथा भौचरसहितका विवरण अध्ययन गर्न प्रदेश लेखा नियन्त्रणका कार्यालयलाई जिम्मा दिइएको छ । समितिको बुधबार बसेको बैठकले सामाजिक विकास समितिलाई प्रतियोगिताको सबै प्राविधिक पक्ष छानबिन गर्न र लेखा नियन्त्रण कार्यालयलाई खर्च विवरण ‘अडिट’ गर्न जिम्मा दिइएको लेखा समितिका सभापति शिवनारायण सिंह गन्गाईले जानकारी दिएका छन् ।
गन्गाईका अनुसार एन्फाले आफ्नो कोषबाट रु ३३ लाख विभिन्न क्लबहरुलाई दिएको विषयमा समेत अध्ययन थालेको हो । उनले भने,‘‘हामीले प्रतियोगिता गराउँदा के कसरी गोल भयो ? कुन क्लबले कति गोल खायो ? को कसरी हार्यो र को विजयी भयो आदि धेरै विषय सामाजिक विकास समितिलाई छानबिन गर्न दिने निर्णय गरेका हौं ।’’
आर्थिक वर्ष २०७५-०७६ को असार १६ गतेबाट सुरू भएको प्रतियोगिता महिनाको अन्तिममा सकिएको थियो । पहिलो प्रतियोगिता नै संचालन प्रक्रिया र खर्चको विषयलाई लिएर निकै विवादित बन्न पुगेको हो ।
समितिले पटक पटक गरी एन्फाका पदाधिकारीसंग यस प्रतियोगिताको विषयमा जानकारी लिई बिलभर्पाइ बुझाउन निर्देशनसमेत दिएको हो । सभापति गन्गाईले भने,‘‘लेखा नियन्त्रण कार्यालयका दुई जना अधिकृतहरु बिलभर्पाइ खर्च विवरण आदि सबैको अभिलेख दुरुस्त भएको नभएको र कैफियतबारे पनि छानबिन गर्न खटिनु भएको छ । सबै अध्ययन सकिएपछि फेरि अर्को बैठकले निर्णय गर्नेछ ।’’
‘असारे झरीमा बजेट सक्नकै लागि प्रतियोगिता आयोजना गरिएको’ भन्दै प्रदेशसभामा सांसदहरुले यो प्रतियोगिताबारे प्रश्न उठाएका थिए । यसबारे सार्वजनिक लेखा समितिलाई छानबिन गर्न मागसमेत भएको थियो । लेखा समितिले आयोजकसंग प्रतियोगिताको खर्च विवरण, रकम भुक्तानी, बैंक स्टेटमेन्टलगायतका कागजपत्र मगाई छानबिन सुरू गरेको थियो ।
एन्फा केन्द्रीय सदस्यसमेत रहेका प्रतियोगिताका संयोजक किरण राईलाई समितिले बैठकमा बोलाएर प्रतियोगिताबारे जानकारी लिएको थियो । प्रतियोगितामा समान अंकमा रहेको तेह्रथुमलाई हटाइएपछि झन् विवाद् चर्किएको हो । प्रतियोगिता आयोजना गर्न सामाजिक विकास मन्त्रालयले रु. एक करोड र एन्फाले रु. ३३ लाख छुट्याएका थिए । प्रतियोगिता भइसक्दा उल्टै रकम बक्यौता रहेको एन्फा पदाधिकारीले दाबी गर्दै आएका छन् ।
मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता असार १६ देखि ३१ गतेसम्म भएको थियो । अत्यधिक वर्षाका कारण विराटनगरको सहिद रंगशालामा पानी जमेपछि फाइनल खेल धरान सारिएको थियो । स्पर्धामा १४ जिल्ला सहभागी थिए । पहिलो चरणको लिगको खेलहरु उदयपुर, धरान, र इलाममा खेलाइएको थियो । फाइनल खेल मोरङको बेलबारी फुटबल क्लबलाई हराउँदै झापाको सैनिक युथ क्लबले उपाधि जितेको थियो ।