काठमाडौं । नेपाली आहान छ– हिङ नभए पनि हिङ बाँधेको टालो ! सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतम र ईश्वर पोखरेलबीच यही ‘टालो’ बन्ने प्रतिस्पर्धा छ । नेकपाले राजनीतिक कार्यदिशाका रूपमा ‘जनताको जनवाद’ स्वीकार गरिसकेको छ । तर, यी दुई ‘हेभिवेट’ बीच २०४९ सालमा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज)को उत्तराधिकारी बन्नेमा तीव्र होडबाजी देखिएको छ ।
साबिक एमालेमा दुई कार्यकाल महासचिव चलाएका पोखरेलले यसअघि नै आफूलाई जबजको उत्तराधिकारी घोषणा गरिसकेका थिए ।
पोखरेलले एकीकृत पार्टीले अन्तरिम ‘राजनीतिक लाइन’का रूपमा अघि सारेको जनताको जनवादलाई ‘हाँसको चाल न कुखुराको चाल’को संज्ञा दिई पार्टीभित्र वैचारिक ध्रुवीकरणलाई निम्तो दिएका थिए । र, अहिले त्यही कित्तामा उभिन आइपुगेका छन् अर्का प्रभावशाली नेता वामदेव गौतम ।
पोखरेल पार्टी एकतादेखि नै पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद हुनुपर्छ र यो नै नेपाली क्रान्तिको मौलिक ‘मार्क्सवाद’ हो भन्ने विचार व्यक्त गर्दै आइरहेका छन् । तर, वामदेवको तर्क अलि भिन्न थियो । एमाले र माओवादी केन्द्रबीच पार्टी एकतासमेतको सूत्राधार दाबी गर्ने वामदेवले ‘जबज’को राजनीतिक कार्यभार पूरा भइसकेकाले पार्टीको विचार समाजवाद हुनुपर्ने तर्क गर्दै आइरहेका थिए ।
अर्थात्, वामदेवको निष्कर्ष थियो– जनताको बहुदलीय जनवादले समाजवादको आधार निर्माण गर्न सक्दैन । समाजवादउन्मुख राज्यप्रणाली सञ्चालन गर्न अहिलेको आन्दोलनले अलग्गै नीति–कार्यक्रम र कार्यदिशाको माग गर्दछ ।
तर, साउन १९ गते नयाँ पत्रिका दैनिकमा आफ्नो धारणा सम्प्रेषित गर्दै नेता गौतमले आफ्नो यसअघिको विचारको खण्डन गरेका छन् । उनले भनेका छन्– “वास्तवमा जनताको बहुदलीय जनवादको सिद्धान्त अहिले र भविष्यसम्मका निम्ति पनि मार्गदर्शक सिद्धान्त बनाइएन भने अबको कम्युनिस्ट आन्दोलन सफल हुने सम्भावना छैन ।”
अर्थात– नेकपाले राजनीतिक कार्यदिशाका रूपमा जनताको बहुदलीय जनवाद अवलम्बन गरेन भने नेकपा सफल हुँदैन । मार्क्सवादका तीन अभिन्न अंग (द्वन्द्वात्मक भौतिकवाद, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद)मा जनताको बहुदलीय जनवादले थप योगदान गरेको र मार्क्सवाद लेनिनवाद थप समृद्ध भएको दलील पेश गर्दै गौतमले भनेका छन्, “द्वन्द्वात्मक भौतिकवादी दर्शनमा जनताको बहुदलीय जनवादले थपेको महत्वपूर्ण योगदान राज्यसत्तामा द्वन्द्ववादको प्रतिस्थापन हो । त्यसैगरी राजनीतिक अर्थशास्त्रमा जनताको बहुदलीय जनवादको थपेको योगदानको नाम हो क्रमिक आर्थिक विकास र त्यस्तै वैज्ञानिक समाजवादमा जनताको बहुदलीय जनवादले थपेको योगदानको नाम हो– बहुलवादी खुला समाज ।”
पार्टी एकताको १५ महिनापछि जबजको यो महिमामण्डनले वामदेवको विगतको तर्कको खण्डनमात्रै गर्दैन, उनको अभिव्यक्तिलाई ‘अस्थिरता’को परिचय पनि थमाउँछ ।
अस्थिरताको बिम्ब
पार्टी एकतापछि वामदेव र केपी ओलीको सम्बन्धमा अनेकौँ दरार आए । त्यसले पूर्वएमालेको तत्कालीन र नेकपाको वर्तमान शक्ति सन्तुलनमा पनि असर पार्यो । केपी ओलीकै कारण वामदेव गौतमको उपनिर्वाचन लड्ने सपना धूलिसात भयो । न त अधिकारसम्पन्न राष्ट्रिय विकास प्राधिकरण प्रमुख बन्ने सपना सार्थक भयो । ओलीसँगको खटपटले नै गौतमलाई राजनीतिक रूपमा प्रचण्डसँग नजिक्याएको नेकपाका नेताहरू बताउँछन् ।
काठमाडौैं–७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरको राजीनामा प्रकरणको पटाक्षेपपछि वामदेव गौतम लगभग ‘सिन आउट’ भइसकेका थिए ।
संगठन विभागमा सर्वसम्मत प्रस्तावित भएपछि गौतम ‘कम ब्याक’ को लख काटिएको थियो । तर, आफ्नै ‘हस्ताक्षर’ विपरीत मत राख्न थालेपछि वामदेवको अस्थिरता पुनः छारस्ट भएको प्रतिक्रिया पूर्वमाओवादी केन्द्रका नेताहरूले गर्न थालेका छन् । “उहाँले ऐनमौकामा अस्थिरता अभिव्यक्त गर्दै आउनुभएको छ, उहाँको पछिल्लो धारणा त्यसैको दृष्टान्त हो,” पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट एक नेता बताउँछन् ।
एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको आधार नै जनताको जनवाद हो । तत्कालीन एमालेका नेताहरू ८ सदस्यीय पार्टी एकता संयोजन समितिमा जनताको बहुदलीय जनवादले समाजवादको आधार निर्माण गर्दैन भन्नेमा सहमत भएपछि मात्रै पार्टी एकताको कोर्ष अघि बढेको पूर्वमाओवादी केन्द्रका नेता बताउँछन् ।
तर, एकताका बेला भएका सहमति, समझदारीबाट पछाडि फर्कने छुट कसैलाई नभएको तर्क गर्दै त्यसले एकताको कोर्ष बिथोल्ने चेतावनी प्रचण्ड पक्षधरको छ ।
वामदेव नै जबजका ‘रक्षक’
पोखरेलले फायर खोल्नुअगावै गौतमले सैद्धान्तिक बहसको माग गरिसकेका थिए । गत मंसिर २९ देखि पुस १३ गतेसम्म चलेको स्थायी कमिटीको बैठकमा उनले वैचारिक बहसको माग गरेका थिए । मंसिर मसान्तको स्थायी कमिटी बैठकमा उनले आफ्नो विचार पेश गर्दै भनेका थिए, “एकीकरणभन्दा पहिले नेकपा(एमाले) ले मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादलाई आफ्नो सैद्धान्तिक मार्गदर्शक सिद्धान्तका रूपमा स्थापित गरेको थियो । त्यसैगरी नेकपा (माओवादी केन्द्र) ले मार्क्सवाद, लेनिनवाद, माओवाद र एक्काइसाैँ शताव्दीमा जनवादको विकासलाई आफ्नो सैद्धातिक मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गरेको थियो । दुई पार्टीको एकीकरणपछि मार्क्सवाद र लेनिनवादलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सैद्धान्तिक मार्गदर्शक सिद्धान्त मानिएको छ । संगठनात्मक सिद्धान्तका रूपमा जनवादी केन्द्रीयताको लेनिनवादी संगठनात्मक सिद्धान्तलाई अवलम्बन गरिएको छ । आगामी एकताको महाधिवेशनसम्म माओवाद, जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीमा जनवादको विकासहरुलाई मार्गदर्शक सिद्धान्तबाट हटाइ छलफलमा राखिएको छ । छलफलमा राखिनुको अर्थ ‘निलम्बन’ होइन र ‘प्रतिबन्ध’ पनि होइन । उपयुक्त समयमा पार्टीले यी विषयहरूमा व्यवस्थित छलफल चलाउनु पर्छ भन्ने नै यसको अर्थ हो । तर अहिलेसम्म सैद्धान्तिक छलफलका निम्ति उपयुक्त समय खोज्ने काम भएकै छैन ।”
पार्टीको संगठन विभाग बन्ने पक्कापक्की भएपछि गौतमले जबजको अर्को फायर खोलेका छन् । नेकपाका नेताहरूले यसलाई केपी ओलीसँग सम्बन्ध सुधारको कडीका रूपमा लिएका छन् । तर, तत्कालीन एमालेभित्र जबजको विकासक्रमलाई केलाउँदा वामदेव गौतम जबजको विपक्षमा उभिएका देखिँदैनन् ।
एमालेको तत्कालीन पाँचौँ महाधिवेशनमा मदन भण्डारीले राजनीतिक कार्यक्रममा रूपमा जबजलाई अघि सार्दा केपी ओलीसँगै कुम जोडेर गौतम पक्षमा खडा भएका थिए ।
२०५० सालमा मदनको अवसानपछि गौतम जबजको ‘व्याख्याता’ नै बने । २०५३ सालमा पार्टी उपमहासचिव भएका बेला गौतमले ‘नेपाली क्रान्तिको व्यवहारमा विकसित सिद्धान्त जनताको बहुदलीय जनवाद’ लेखेर पार्टीको कार्यक्रम उजार गरे । सँगै आफ्नो सैद्धान्तिक अडान पनि प्रष्ट्याए । २०५४ सालमा एमाले विभाजन भएर माले बन्यो । विभाजनको सूत्राधार बनेका वामदेवले नौलो जनवादका पक्षधर सीपी मैनालीलाई समेत जबज मान्न सहमत गराएका थिए ।
२०५८ सालमा पार्टी एकीकरण भयो । जबजकै कारण वामदेव एमाले भए । सीपी मालेमै रहे । त्यसयता पनि गौतम जबजकै पक्षमा उभिँदै आएको बताउँछन्– सूर्य थापा । “पार्टी सञ्चालनमा मतभेद देखिए पनि सिद्धान्तमा उहाँ जबजमै अडिँदै आउनुभएको छ, जबजबारे उहाँको भिन्न मत–दृष्टिकोण देखिएको छैन,” थापा भन्छन् ।
तथापि कहिले अति उत्साही, कहिले शीताङ्गेजस्तो देखिनु र सन्तुलित हुन नसक्नु गौतमको स्वभावजन्य पक्ष रहेको थापाको संश्लेषण छ ।
फाइल तस्बिर