काठमाडौं । साउन दोस्रो सातासम्म आइपुग्दा देशभर ८०.१८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । १० दिन ढिला गरी मनसुन सुरू भए पनि गत वर्षकै हाराहारीमा रोपाइँ भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।
सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिम प्रदेशमा ९४.१७ प्रतिशत भएको छ । सबैभन्दा थोरै १ नम्बर प्रदेशमा ७१.६५ प्रतिशत मात्र रोपाइँ भएको छ । त्यसैगरी २ नम्बर प्रदेशमा ७४.५० प्रतिशत, ३ नम्बर प्रदेशमा ७८.८३ प्रतिशत, गण्डकी प्रदेशमा ८४.५६ प्रतिशत, ५ नम्बर प्रदेशमा ८४.६० प्रतिशत र कर्णाली प्रदेशमा ९२.४० प्रतिशत गरेर कुल ८०.१८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
जुन गत वर्षको यहि अवधिमा १ नम्बर प्रदेशमा ७७.२४ प्रतिशत, २ नम्बर प्रदेशमा ९४.९४ प्रतिशत, ३ नम्बर प्रदेशमा ८१.८४ प्रतिशत, गण्डकी प्रदेशमा ८०.७५ प्रतिशत, ५ नम्बर प्रदेशमा ८४.९२ प्रतिशत, कर्णाली प्रदेशमा ८४.३९ प्रतिशत र सुदुरपश्चिम प्रदेशमा ९७ प्रतिशित गरेर कुल ८१.३१ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।
त्यसैगरी भौगोलिक अवस्थाअनुसार, उच्च पहाडमा ८४.९२ प्रतिशत, मध्यपहाडमा ८०.६६ र तराई क्षेत्रमा ७९.७८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । नेपालमा कुल १३ लाख ७१ हजार ७ सय ९ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।
जसमध्ये हाल सम्ममा कुल १० लाख ९९ हजार ८ सय ६३ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा वार्षिक ६० लाख टन धान खपत हुने गरेको छ । जसमध्य १० लाख टन धान बाह्य देशबाट आयात गरिन्छ । जसको लागि २२ अर्बभन्दा बढी खर्च हुन्छ ।
फाइल तस्बिर