काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष नाघिसकेको छ । यो प्रकरण वर्षैभरी चर्चामा रह्यो । कारण– एक वर्षसम्म बलात्कारी–हत्यारा पत्ता लाग्न सकेन । यो प्रकरणलाई लिएर सदनदेखि सडक तात्यो । आन्दोलन भए, सडक बन्द भयो, टायर बालिए, कैयौंपटक प्ला कार्ड देखाइए, मैनबत्ती बालिए । राजनीतिक दलदेखि नागरिक समाज, अधिकारकर्मीदेखि एनजीओ–आईएनजीओसम्मलाई ‘इस्यु’ बन्यो निर्मला हत्या प्रकरण । सञ्चारमाध्यमका लागि समाचार बनिरहिन् निर्मला पन्त ।
प्रहरीलाई सधैं सोधिने एउटै प्रश्न– अनुसन्धान कहाँ पुग्यो ? प्रहरीको एउटै जवाफ– अनुसन्धान जारी छ । एक वर्षदेखि मिडिया र प्रहरी यही प्रश्नोत्तरमा अल्झिएका छन् । पीडित परिवार कहिले पत्रकार सम्मेलन गरेर हारगुहार गर्छन् त कहिले सडकमा आउँछन् । कहिले अनसन बस्छन् त कहिले मन्त्री, प्रधानमन्त्रीलाई भेटेर हारगुहार गर्छन् ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु निर्मला प्रकरण झन् जेलिँदै गएको बताउँछन् अनौपचारिक कुराकानीका क्रममा । एक वर्षसम्म सुराक पनि नभेटिनुले पनि यो प्रकरण यत्तिकै सेलाएर जाने हो कि भन्ने आशंका धेरैको मनमा छ ।
के भएको थियो साउन १० गते ?
०७५ साउन १० गते निर्मला पन्त साथी रोशनी शमको घरमा गइन् । रोशनीको भनाइलाई आधार मान्ने हो भने निर्मला दिउँसो दुई बजेको आसपासमा घर जान्छु भनेर रोशनीको घरबाट निस्किएकी थिइन्, तर साँझसम्म पनि घर पुगिनन् ।
निर्मला घर नआएपछि आमा दुर्गादेवी रोशनीको घरमा पुगिन् । निर्मला खोइ भन्दा रोशनी र उनकी दिदी बबिताले दिउँसै हिँडेको बताए । निर्मलाकी आमा दुर्गादेवीले ‘छोरीलाई केही भयो भने तिमीहरुलाई छाड्दिन’ भनेपछि बम दिदीबहिनीले ‘तिम्री छोरी पोइल गएकी होली हाम्लाई के मतलब’ भने । बाह्रखरीसँगको भेटमा बम दिदीबहिनीले भनेका थिए, ‘‘त्यस्तो होला भन्ने जानेको भए हामी भन्दैनथ्यौं । आवेगमा भनियो, त्यसको ठूलो पश्चाताप छ ।’’
अँध्यारो भएपछि पनि छोरी नआइपुगेपछि निर्मलाकी आमा भीमदत्तनगर–१८ मा रहेको अस्थायी प्रहरी चौकी सालघारीमा पुगिन् । रातिको ९ बजिसकेको थियो र पानी परिरहेको थियो ।
निर्मलाकी आमाले बम दिदीबहिनीको घरमा गएर छोरी खोजिदिन आग्रह गर्दा प्रहरीले सक्रियता देखाएन । त्यहीबीचमा निर्मलाका आफन्तले वडा प्रहरी कार्यालय कञ्चनपुरमा खबर गरे । वडा प्रहरीले पनि ‘आज ढिलो भइसक्यो भोलि खोजौंला’ भन्दै टार्यो ।
भोलिपल्ट साउन ११ गते निर्मलाका गाउँले बम दिदीबहिनीको घर पुगे । भीड बढ्दै जान थाल्यो । निर्मला १० गतेबाट घर नआएको खबर एकाएक गाउँभरी फैलियो । त्यहीबेला निर्मलाको साइकल खोलाको किनारमा देखिएको कसैले बतायो । सबै गाउँलेहरु खोलाकिनार पुगे । खोलापारी उखुबारी थियो । साइकल भेटिएपछि सबै जम्मा भएर उखुबारीमा पसे । उखुबारीमा केही पर शव फेला पर्यो निर्मलाको ।
शव भेटिएपछि घटनास्थलमा भीमदत्त नगरपालिकाका मेयर किन नआएको भन्दै विरोध सुरु भयो । शव उठाएर महाकाली अञ्चल अस्पताल पुर्याइयो । त्यतिबेला निर्मलाका बुबा यज्ञराज र कान्छी श्रीमती भारतको धार्मिक भ्रमणमा थिए ।
सुरुमै चुक्यो प्रहरी
उखुबारीमा शव भेटिएपछि प्रहरी प्राविधिक रुपमा चुक्यो । त्यसैकारण प्रहरीले प्रमाण नष्ट गर्न खोजेको आरोप लाग्यो । निर्मलाको शव भेटिएको स्थानमा थिइन् एक प्रहरी जवान । निर्मलाको सुरुवाल आधा खोलिएको थियो । त्यो सुरुवाल महिला प्रहरीले खोलेर पानीमा पखालिन् । घटनास्थलको सुरक्षामा समेत प्रहरी संवेदनशील देखिएन । त्यो आरोप प्रहरीकै अन्य अधिकारीले समेत लगाउँदै आएका छन् । शव भेटिसकिएपछि प्रहरीले घटनास्थलको सुरक्षामा कुकुरको प्रयोग गर्न पनि आवश्यक ठानेन । हत्याका घटनामा प्रहरीले घटनास्थलको सुरक्षा गर्छ ताकि प्रमाणहरु नष्ट नहुन् ।
तत्कालीन प्रहरी अधिकारी त्यसलाई प्राविधिक कमजोरी भएको स्वीकार अनौपचारिक रुपमा गर्दै आएका छन् । प्रहरीले घटनास्थलबाट बरामद भएका कपडाहरु समेत शवसँग जलाएको थियो । अनुसन्धानका हिसाबले ती कपडा सुरक्षित राख्नुपर्ने अनुसन्धान अधिकारीको तर्क छ ।
अपराधी खोज्न गरिएन अपरेसन
विभिन्न अपराधका घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी हत्या लगायतका जघन्य अपराधका घटना भएपछि विशेष खालको रणनीति बनाउनुपर्ने बताउँछन् । यस्तो अवस्थामा अपराध उम्किन नपाओस् भनेर विभिन्न रणनीति प्रहरीले तय गर्छ । जस्तो– पूरै गाउँ सर्च गर्ने, सीमा शिल गर्ने, शंकास्पद व्यक्ति र समूहलाई तत्काल नियन्त्रणमा लिने आदि । तर कञ्चनपुर प्रहरीले निर्मलाको शव भेटिएपछि त्यस्तो केही गरेन ।
साउन २७ गते बाह्रखरी प्रतिनिधिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टसँग भेट गरेको थियो । त्यतिबेला विष्टले भनेका थिए, ‘‘स्थानीयले आन्दोलन चर्काए । हामीले आन्दोलनलाई उग्र बन्नबाट रोक्नु थियो । त्यसैले अपेक्षित अपरेसन गर्न सकेनौं ।’’ अनौपचारिक रुपमा पनि विष्टले धेरै कुरा बताएका थिए ।
दीलिप समातिएपछि....
प्रहरीले भदौ दुई गते दीलिपसिंह विष्टलाई अभियुक्तको रुपमा पक्राउ गरेर चार गते सीआईबीका डीएसपी अंगुर जिसी र कञ्चनपुर प्रहरीको टोलीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्यो । भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दीलिप विष्टलाई सार्वजनिक गरेसँगै कञ्चनपुरमा स्थानीयको आन्दोलन चर्कियो । गरिब परिवारका दीलिप त्यसअघि आफ्नै भिनाजुको हत्या अभियोगमा जेल सजाय भोगेर निस्किएका थिए ।
एकातिर प्रहरीले मुख्य अभियुक्त बनाएर दीलिपलाई सार्वजनिक गर्यो भने अर्कातिर उनको डीएनए परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाइयो । तर, निर्मलाको शरीरबाट निकालिएको ‘भेजिनल स्वाब’सँग दीलिपको डीएनए नमिलेपछि उनी साधारण तारेखमा रिहा भए । प्रहरीले नक्कली अभियुक्त खडा गरेको भन्दै तत्कालीन एसपी दिल्ली विष्ट, सीआईबीका डीएसपी जिसीलगायत निलम्बनमा परे ।
परिवारको भनाइ
बाह्रखरीको टोली साउन २९ गते निर्मलाको घरमा पुगेको थियो । आमा दुर्गादेवी, बुबा यज्ञराज र यज्ञराजकी कान्छी श्रीमती घरमा थिए । शोकमा रहेको निर्मला परिवारले प्रहरीले अपराधी लुकाउन खोजेको आरोप लगाएको थियो । निर्मलाका बुबाले निर्मलाको शव बुझ्नका लागि प्रहरीले दबाब दिएको पनि बताएका थिए ।
निर्मलाकी आमा दुर्गादेवीले भनेकी थिइन्, ‘‘मेरी छोरी जसको घरमा गएकी थिई, त्यहीँबाट अनुसन्धान सुरु गरिनुपर्छ ।’’ त्यतिबेला निर्मलाको परिवारलाई आन्दोलनमा जान महिला अधिकारकर्मी हेलन श्रेष्ठ नेतृत्वको टोलीले उक्साइरहेको थियो । श्रेष्ठको टोलीलाई समेत बाह्रखरीकर्मीको टोलीले भेटेको थियो । श्रेष्ठले भनेकी थिइन्, ‘‘अधिकारकर्मीको एक टोली आन्दोलन कमजोर बनाउन चाहन्छ । हामी निःस्वार्थ रुपमा न्यायको लडाइँ लडिरहेका छौं ।’’ विस्तारै महिला अधिकारकर्मी विभाजित भए ।
एआईजीको इन्ट्री
निर्मला हत्याकाण्डको अनुसन्धानका लागि सरकारीस्तरबाटै सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो । प्रहरीबाट अनुसन्धानमा लापरवाही भएको आरोप लागेपछि प्रहरी प्रधान कार्यालयले तत्कालीन डीआईजी धिरु बस्न्यातको नेतृत्वमा आन्तरिक छानबिन समिति गठन भएको थियो । आईजीपी सर्वेन्द्र खनालले अनुसन्धानका क्रममा प्रहरीले कहाँ–कहाँ के–के गर्यो, अध्ययन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएका थिए ।
त्यही क्रममा डीआईजी बस्न्यातले निर्मला हत्याकाण्डबारे लगातार लेखिरहेका कारण घटनाक्रमको जानकारी लिनका लागि बाह्रखरीकर्मीलाई बोलाएका थिए । बस्न्यातले अनुसन्धानमा सहयोग गर्न अनुरोध गरेका थिए । बस्न्यात नेतृत्वको टोलीले आईजीपी खनाललाई अध्ययन प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनबारे प्रहरी अधिकारी नै विभाजित छन् । बस्न्यात हाल नेपाल प्रहरीका एआईजी छन् ।
अंगुर जिसीसँगको भेट
‘न्यूज–२४ टेलिभिजन’मा रवि लामिछानेले चलाउने ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा निलम्बित डीएसपी अंगुर जिसीको अन्तर्वार्ता प्रसारण भएपछि त्यसबारे बहस सुरु भएको छ । बलात्कार–हत्या भएको तीन दिनपछि केन्द्रीय जाँच ब्यूरो (सीआईबी) टोलीको नेतृत्व गर्दै डीएसपी जिसी कञ्चनपुर पुगेका थिए । जिसीकै टोलीले दीलिप विष्टलाई मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको थियो । बाह्रखरीले ८ पुस २०७५ मा नक्कली अभियुक्त किन खडा गर्न चाहन्थ्यो प्रहरी ? सीआईबीका डीएसपीले नै च्यातेका थिए दीलिपको सर्ट शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।
समाचारमा सीआईबीका डीएसपीको भूमिका ‘गैरव्यावसायिक’ रहेको पाइएको उल्लेख थियो । समाचार प्रकाशित भएपछि बाह्रखरीकर्मी र जिसीबीच भेट भएको थियो । भेटमा जिसीले दीलिप नै मुख्य अभियुक्त भएको र आफूहरुको अनुसन्धान नै सत्य भएको दाबी गरेका थिए । जिसीले भेटमा डीएनए परीक्षणमा शंका व्यक्त गरेका थिए । जिसीले एकापट्टि दीलिप नै अभियुक्त भएको दाबी गर्दै आएका छन् भने अर्कातिर डिएनएमा शंका गरिरहेका छन् ।
तर, प्रहरी अधिकारीहरु डीएनए विकास भइसकेको अवस्थामा डीएनएलाई अस्वीकार गर्न नसकिने बताउँछन् । बाह्रखरीसँगको भेटमा जिसीले दीलिपबाहेक अर्को हत्यारा हुनै नसक्ने दाबीसमेत गरेका थिए । जिसीले आफूलाई नियतवश प्रहरीकै एक उच्च अधिकारीले फसाउन खोजेको बताएका थिए ।
के थियो सर्ट प्रकरण ?
निर्मला हत्या अनुसन्धानबारे दबाब बढ्दो थियो । कञ्चनपुरमा प्रदर्शन चर्किंदै गयो । २४ दिनसम्म पनि अभियुक्तको पहिचान हुन नसकेपछि प्रहरी एकाएक चार भदौमा निर्मलाको घरमा पुग्यो । निर्मलाका बाबु यज्ञराजलाई भेटेर प्रहरीले निर्मलाको हत्या भएको स्थानमा अपराधीको केही प्रमाण छ भन्दै घटनास्थलमा लग्यो । घटनास्थल पुगेपछि प्रहरीले प्रमाण खोज्न थाल्यो ।
दुई मिनेटमै एक प्रहरीले चिच्याउँदै भने– ‘प्रमाण भेटियो ।’ प्रहरीले घटनास्थलबाट सर्टको खल्तीको कपडा र कण्डम बरामद गर्यो । पछि त्यसैलाई प्रमाणको रुपमा अघि सार्दै दीलिपलाई मुख्य अभियुक्तका रुपमा पत्रकार सम्मेलन गरेरै सार्वजनिक गरिएको थियो । हाल अनुसन्धानमा संलग्न अधिकारी भन्छन्, ‘‘दीलिपले अरु सबै कुरा स्वीकार गरेको भए किन सर्ट च्यात्नुपर्ने अवस्था आयो । यो कुराको जवाफ तत्कालीन टोलीले दिँदैन ।’’
किन जलाइयो निर्मलाको कपडा ?
बलात्कारपछि हत्याजस्तो जघन्य अपराधमा प्रहरीले प्राप्त प्रमाणहरु समेत सुरक्षा गरेन । हाल अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्, ‘‘आफन्तले मागेपनि प्रमाणको रुपमा निर्मलाको शरीरमा भएको कपडा सुरक्षित हुनुपथ्र्यो, तर जलाइयो । यस्तो जघन्य अपराधमा लापरवाही ! निर्मलाको सुरुवाल पखाल्दा पनि घटनास्थलमा भएको कमाण्डरले रोक्न लगाउनुपथ्र्यो ।’’ तर जिसीले अनुसन्धानका क्रममा कुनै प्रमाण नष्ट नभएको दाबी गर्दै आएका छन् । यदि त्यसो हो भने सरकारकै समितिले किन प्रमाण नष्ट गरेको प्रतिवेदन लेख्यो ? प्रमाण नष्टको आरोप स्वयं सरकारी समितिले लगाएको हो ।
शव र कपडामा रगत, वीर्य हुने दाबी गर्ने डिएसपी जिसी अन्य कुरालाई किन प्रमाण मान्दैनन् ? विज्ञहरुका अनुसार कपडाको परीक्षण गरेर बलात्कारीको रौं वा उसको कपडाबाट झरेका फाइबर पाउन सकिन्छ । रौंबाट डिएनए प्रोफाइल तयार पार्न सकिने विज्ञको बुझाइ छ । यस्तोमा कपडा जलाउन किन लगाइयो ? अनुसन्धानकर्ताले आश्चर्य व्यक्त गर्दै आएका छन् ।
अनुसन्धानको बाटो नै फेर्नुपर्यो
केन्द्रीय अनुसन्धान ब्युरोको टोली अझै कञ्चनपुरमै छ । टोलीले अझै प्रमाण जुटाइरहेको छ । तर, अभियुक्तसम्म पुग्ने तथ्य र प्रमाण जुटेका छैनन् । प्रहरी प्रवक्ता विश्वराज पोखरेल सुरुवाती अनुसन्धानबाट प्रहरीले बाटो नै फेर्नुपरेको बताउँछन् । तर, अपराधीलाई ढिलोचाँडो कानुनको दायरामा ल्याइछाड्ने उनको प्रतिबद्धता छ ।