site stats
बाह्रखरी :: Baahrakhari
देश
फतुवा विजयपुरमा भ्रष्टाचार : प्रमुख प्रशासकीयसँगै दुई पत्रकार र एक प्रकाशक तानिए

काठमाडौं । रौतहटको फतुवा विजयपुर नगरपालिकाको भ्रष्टाचार मुद्दामा दुई पत्रकार पनि तानिएका छन् । कृषकलाई औषधि स्प्रे ट्यांकी वितरणमा अनियमितता गरेको भन्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादव र सहलेखापाल नवीनकुमार यादवसँगै दुई पत्रकारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार (जेठ २६) विशेष अदालतमा दायर गरेको मुद्दामा काठमाडौंबाट प्रकाशित हुने जनसवाल दैनिकका सम्पादक रामजी बगाले र तराई पोस्ट दैनिकका प्रतिनिधि ओमप्रकाश यादवलाई पनि प्रतिवादी बनाइएको छ । नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ मा किसानलाई वितरण गर्न स्प्रे ट्यांकी खरिदसम्बन्धी बोलपत्र आह्वानको सूचना दुवै पत्रिकामा प्रकाशन नै नगरी रकम बुझेको पाइएपछि उनीहरूविरुद्ध पनि मुद्दा दायर गरिएको हो ।

Argakhachi Cement Island Ad

उक्त सूचना जनसवाल दैनिकमा ०७८ माघ २० गते र तराई पोस्टमा ०७८ फागुन २७ मा प्रकाशन भएको भनिएको छ । तर, त्यो सूचना प्रेस काउन्सिल नेपालको रेकर्डमा रहेको पत्रिकामा भेटिएको थिएन । त्यसपछि काउन्सिलले उक्त सूचना नछापिएको पत्र अख्तियारमा पठाएको थियो । त्योसँगै सूचना प्रकाशन नै नगरी भुक्तानी गरिएको पाइएपछि अख्तियारले मुद्दा चलाएको हो ।

अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, सहलेखापाल र तराई पोस्टका यादवविरुद्ध समान दुई लाख १२ हजार २२५ रुपैयाँ बिगो कायम गरेको छ । जनसवालका सम्पादक बगालेविरुद्ध एक लाख ७२ हजार ८२५ रुपैयाँ बिगो कायम गरी मुद्दा चलाइएको छ । तराई पोस्टका प्रकाशक रुपेन्द्र पटेलविरुद्ध ३९ हजार ४०० रुपैयाँ बिगो कायम गरी मुद्दा चलाइएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १६:०९
प्रतिक्रिया दिनुहोस्