काठमाडौं । निर्मला पन्त हत्याकाण्डको अनुसन्धान गर्न तत्कालीन समयमा कञ्चनपुर पुगेका केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) का डिएसपीको भूमिका ‘गैरव्यावसायिक’ रहेको पाइएको छ । एआईजी धिरु बस्न्यात नेतृत्वको प्रहरी आन्तरिक प्रतिवेदनमा डिएसपी अंगुर जिसी नेतृत्वको टोलीले ‘गैरव्यावसायिक’ कार्य गरेको औंल्याइएको हो ।
गत साउन १० गते साथीको घरमा गएकी निर्मला पन्त साउन ११ गते मृत अवस्थामा उखुबारीमा फेला परेकी थिइन् । निर्मलाको सामूहिक बलात्कार भएको हुनसक्ने गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको विशेष छानबिन समितिले निष्कर्ष निकालेको थियो । निर्मला हत्याकाण्डका मुख्य अभियुक्तको रुपमा तत्कालीन कञ्चनपुर प्रहरीका एसपी दिल्लीराज विष्ट र सिआइबीका डिएसपी जिसीको नेतृत्वको टोलीले गत भदौ ४ मा मानसिक रोगी भीमदत्तनगर–१९ का दिलिपसिंह विष्टलाई सार्वजनिक गरिएको थियो ।
दिलिपलाई सार्वजनिक गरिएसँगै कञ्चनपुरमा प्रहरीले नक्कली अभियुक्तलाई हत्या स्वीकार गर्न लगाइएको भन्दै आन्दोदन चर्किएको थियो । तर, दिलिपको डिएनए निर्मलाको ‘स्वाब’सँग म्याच नभएपछि उनी छुटेका थिए । निर्मला हत्या प्रकरणको अनुसन्धानमा प्रहरीकै भूमिकाबारे प्रश्न उठेपछि आईजीपी सर्वेन्द्र खनालले प्रहरी कमजोरीबारे आन्तरिक अनुसन्धान गर्न एआईजी धिरु बस्न्यातको नेतृत्वमा छानबिन समिति गठन गरेका थिए । बस्न्यात नेतृत्वको समितिले गत सोमबार आईजीपी खनाललाई प्रतिवेदन बुझाएको थियो । यसअघि निर्मलाको शव भेटिएको स्थानमा दिलिपको सर्ट भेटिएको सिआइबीका डिएसपी जिसी र एसपी विष्टको टोलीले दाबी गरेको थियो । दिलिपका आफन्तले भने प्रहरीले घरबाट सर्टको गोजी (खल्ती) च्यातेर लगेको दाबी गर्दै आएका थिए । ५ सय ३२ पृष्ठ लामो उक्त प्रतिवेदनमा दिलिपको सर्ट डिएसपी जिसीकै नेतृत्वको टोलीले घरबाटै च्यातेर ल्याएको खुलासा एक प्रहरीले गरेका छन् ।
निकै मोटो प्रतिवेदन कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयले अध्ययन गरिरहेको बताइएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बस्न्यात नेतृत्वको प्रतिवेदनले प्रहरी नायब निरिक्षक (सई) वासुदेव अवस्थीलाई कारवाही गर्न सिफारिस गरेको छ ।
साउन १० गते कञ्चनपुर उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या हुँदा सई अवस्थी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको मुद्दा शाखामा कार्यरत थिए । निर्मलाको शव फेला परेको दिन घटनास्थल नगए पनि सई अवस्थीले नक्कली प्रमाण जुटाउन भूमिका खेलेको प्रतिवेदनले ठहर गरेको छ ।
निर्मला हत्याको २४ दिनपछि मुख्य अभियुक्त सार्वजनिक गरिएका दिलिपबारे बयान दिँदै प्रहरी नायब निरीक्षक (सई) वासुदेव अवस्थीले भनेका छन्, ‘‘दिलिपको घरमा सर्ट च्यात्न डिएसपी अंगुर जिसीकै नेतृत्वमा हामी गएका हौं । सर्टको खल्तीको टुक्रा च्यातेपछि हामी जिल्ला प्रहरी कार्यालय पुग्यौं । त्यसपछि त्यही डिएसपी जिसी एसपी दिल्लीराज विष्टको कोठामा गएका हुन् । त्यहाँभित्र के भयो, जानकारी भएन ।’’
प्रहरी प्रतिवेदनका अनुसार च्यातिएको दिलिपको सर्टको टुक्रालाई पछि निर्मलाको शव भेटिएको स्थानमा राखिएको थियो । हाल डिएसपी जिसी निलम्वनमै छन् । बस्न्यात नेतृत्वको समितिले १८ जना प्रहरीलाई कारवाहीको सिफारिस गरिएको छ । तर दिलिपलाई किन मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरियो भन्ने विषयमा कसैले मुख खोलेको छैन् । तत्कालीन समयमा दिलिपलाई मुख्य अभियुक्तको रुपमा सार्वजनिक गर्ने अनुसन्धान टोलीका सदस्य भने आफूहरुले कुनै गल्ती नगरेको दाबी गर्दै आएका छन् । उनीहरु अझै पनि दिलिप नै मुख्य अभियुक्त रहेको तर्क गर्दै आएका छन् । यसअघि मैनाली नेतृत्वको गृहको प्रतिवेदनमा पनि दिलिपलाई अभियुक्तको रुपमा सार्वजनिक गर्नुको कारण खुलाइएको छैन ।
निर्मला पन्त बलात्कार–हत्याबारे अनुसन्धान गर्न भन्दै साउन १३ गते सिआइबीका डिएसपी जिसी नेतृत्वको टोली कञ्चनपुर पुगेको थियो । प्रतिवेदनमा डिएसपी अंगुर जिसीले कुशल नेतृत्व नगरेको र व्यावसायिकता प्रदर्शन गर्न नसकेको छानबिन समितिले निष्कर्ष निकाल्दै थप कारवाहीको लागि सिफारिस गरिएको छ ।
निर्मला प्रकरणमा हालसम्म ८ जना प्रहरीहरु कारवाहीमा छन् । कञ्चनपुरका तत्कालीन प्रहरी एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदिश भट्टलाई मन्त्रिपरिषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको थियो । यस्तै डिएसपी अंगुर जिसी, डिएसपी ज्ञानबहादुर सेठी, इन्सपेक्टर एकेन्द्र खड्का, सई रामसिंह धामी, सई हरि सिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्बनमा छन् ।
दिलिपको त्यो सर्ट
निर्मला हत्या अनुसन्धानबारे दबाब बढ्दो थियो । कञ्चनपुरमा प्रदर्शन चर्किंदै गयो । २४ दिनसम्म पछि अभियुक्तको पहिचान हुन नसकेपछि प्रहरी एकाएक ४ भदौमा निर्मलाको घरमा पुग्यो । निर्मलाका बाबु यज्ञराजलाई भेटेर प्रहरीले निर्मलाको हत्या भएको स्थानमा अपराधीको केही प्रमाण छ भन्दै घटनास्थलमा लग्यो ।
घटनास्थल पुगेपछि प्रहरीले प्रमाण खोज्न थाल्यो । दुई मिनेटमै एक प्रहरीले चिच्याउँदै भने– ‘प्रमाण भेटियो ।’ प्रहरीले घटनास्थलबाट सर्टको खल्तीको कपडा र कन्डम बरामद गर्यो । पछि त्यसैलाई प्रमाणको रुपमा अघि सार्दै दिलिपलाई मुख्य अभियुक्तका रुपमा पत्रकार सम्मेलन गरेरै सार्वजनिक गरिएको थियो ।