site stats
बाह्रखरी :: Baahrakhari
देश
बजेटअघि सरोकारवालासँगको छलफलमा जुटे मेयर चिरिबाबु

काठमाडौं । ललितपुर महानगरले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउनुअघि सरोकारवाला, विषय विज्ञ र ललितपुर जिल्लाका सांसदहरूसँग छलफल गरेको छ । महानगरले आवश्यकता पहिचान र आउँदो आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटलाई सहभागितामूलक बनाउनका निम्ति फरक–फरक क्षेत्रसँग छलफल आयोजना गरेको हो ।

महानगरले वडापिच्छे भेला गरेर नीति, कार्यक्रम र बजेटका लागि सुझाव संकलन समेत गरिरहेको छ । यसैगरी महानगरको विषयगत समितिले समेत नीति निर्माणका निम्ति सुझाव संकलन गरिरहेको छ । 

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले जनप्रतिनिधिहरू विषयविज्ञ नभएकाले सुझाव लिन सरोकारवाला र विज्ञसँग छलफल आयोजना गरेको बताए । “सबैका कुरा सुन्न, फरक–फरक क्षेत्रका विज्ञसँग छलफल राखेका हौँ । बजेट ल्याउनुअघि स्थानीय तहले यस्तो अभ्यास विरलै मात्र गर्छन् । यसलाई महानगरको असल अभ्यासको रूपमा लिन सकिन्छ,” उनले भने ।

Argakhachi Cement Island Ad

त्यस्तै, उपप्रमुख तथा बजेट तर्जुमा समितिका संयोजक मञ्जली शाक्य बज्राचार्यले नीतिमा समावेश गर्ने विषयबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको बताइन् । उनले भनिन्, “नीति राम्रो भयो भने बजेट र कार्यक्रम राम्रो आउँछ, त्यसैले चरणबद्ध रूपमा कार्यक्रम राखेका हौँ ।”

प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले सहभागितामूलक नीति निर्माण गर्न विविधतापूर्ण समुदाय र क्षेत्रलाई समेटेर छलफल कार्यक्रम आयोजना गरेको धारणा व्यक्त गरिन् । सेवा प्रवाहलाई डिजिटलाइजेसन गरेको बताउँदै त्यो प्रभावकारी भएको उनले बताइन् । छलफलबाट प्राप्त भएको सुझावलाई आगामी बजेटमा समेट्ने पनि उनले बताइन् ।

अघिल्लो आर्थिक वर्षका तीन सय २४ मध्ये ८९ प्रतिशत नीति सम्बोधन गर्न सफल भएको महानगरले जनाएको छ ।

मेयर महर्जनले पारदर्शिता, मितव्ययी, सुशासन र विकासको निर्माणलाई यो छलफलले सहयोग गर्ने बताए । सुझावको रूपमा आएका विषयलाई नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता व्यक्त गरे । महानगर प्रमुख महर्जनले सूचना र प्रविधि इमर्जिङ विषय भएको बताउँदै सिलिकन भ्याली बनाउन यो विषयलाई नीतिमा समावेश गर्ने बताए । उनले भने, “हामी यसलाई कार्यक्रममा पनि राख्छौँ ।”

महानगरवासीको दिनचर्या सहज बनाउने विषय प्राथमिकतामा राख्नुस् : सांसद

ललितपुर महानगरले नीति, कार्यक्रम र बजेट ल्याउनुअघि सुझाव संकलन गरेकोमा ललितपुर जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरूले प्रशंसा गरेका छन् । महानगरवासीको दिनचर्या सहज बनाउने विषयलाई प्राथमिकमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउन उनीहरूले सुझाव दिए ।

ललितपुर क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य उदयशमशेर राणाले नख्खु करिडोर बनाउन केन्द्रको बजेट मात्रै पर्याप्त नभएको बताउँदै ललितपुर महानगरले पनि लगानी गर्न सुझाव दिए । 

चक्रपथमा बनाउनुपर्ने फ्लाई ओभरको सन्दर्भमा महानगरपालिका, प्रदेश, संघ र स्थानीय तह समन्वय, सहकार्य र छलफल गर्नुपर्ने उनले बताए ।

ललितपुर क्षेत्र नं. २का प्रतिनिधिसभा सदस्य पे्रमबहादुर महर्जनले नीति निर्माणका लागि सबै क्षेत्रबाट सुझाव संकलनका लागि चरणबद्ध रूपमा छलफल आयोजना गरेको बताए । वातावरण संरक्षणलाई अझै प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ । महानगरले प्रवाह गर्ने सेवा जनताले महसुस गर्ने गरी प्रदान गर्न सके सकारात्मक सन्देश सञ्चार हुने बताए । शिक्षा, स्वास्थ्य, सार्वजनिक जग्गा संरक्षणलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।

राप्रपाका सांसद रोशन कार्कीले महानगरबाट भएको कामको प्रशंसा गरिन् । विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्ने धारणा राख्दै उनले कर प्रणालीलाई अझै व्यवस्थित बनाउनुपर्ने धारणा राखिन् । 

प्लटिङका कारण खेतीयोग्य जमिन मासिएको बताउँदै प्लटिङलाई रोक्नुपर्ने भनाइ उनको थियो । केही वडाबाट फोहोर उठे पनि सबै वडामा फोहोर संकलनको व्यवस्था मिलाउनुपर्ने उनको सुझाव थियो । 

वागमती प्रदेशका सांसद रघुनाथ महर्जनले असोज दोस्रो साताको बाढीबाट प्रभावित र पुगेको क्षतिलाई सम्बोधन गर्नुपर्ने बताए । विकास निर्माणसँगसँगै युवालाई रोजगारी दिने विषयलाई नीतिगत रूपमा नै निर्णय गर्न उनले सुझाव दिए ।

दीर्घकालीन नीति र कार्यक्रम ल्याउन सल्लाहकारको सुझाव

ललितपुर महानगरको विकासलाई थप उचाइमा पुर्‍याउन दीर्घकालीन नीति कार्यक्रम ल्याउन महानगरका सल्लाहकारले सुझाव दिएका छन् ।

महानगरको सहरी विकास सल्लाहकार सुरेन्द्र गोविन्द जोशीले हाल  जनताको आवश्यकतालाई महानगरले सम्बोधन गरेको बताउँदै दीर्घकालीन नीति निर्माणलाई जोड दिनुपर्ने बताए । महानगरलाई व्यवस्थित बनाउन ल्याउन ल्यान्ड पुलिङसँग सम्बन्धित नीति ल्याउनुपर्ने धारणा उनले राखे ।

शिक्षा सल्लाहकार लोकबहादुर खड्काले शिक्षाक्षेत्रमा गरिएको लगानीको प्रतिफल प्राप्त गर्न लामो समय लाग्ने बताउँदै दीर्घकालीन नीति ल्याउन सल्लाह दिए । पाँच वर्षे सहर शिक्षा योजना ल्याउनुपर्नेमा जोड दिँदै उनले यो योजनाले सामुदायिक र संस्थागत विद्यालयबीचको खाडल पुर्ने बताए । अभिभावक शिक्षालाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै उनले अनुगमन र अभिलेखीकरणमा जोड दिनुपर्ने धारणा राखे ।

स्वास्थ्य सल्लाहकार तारामान अमात्यले सडकमा बेच्न राखिएका खानेकुरा (स्ट्रिट फुड)को गुणस्तर परीक्षण गर्नुपर्ने बताए । 

परम्परागत पानी व्यवस्थापन विज्ञ पद्मसुन्दर जोशीले पानीको स्रोत संरक्षण महत्त्वपूर्ण भएको बताउँदै लोप हुने अवस्थामा पुगेका ढुंगेधाराको संरक्षणमा महानगरले काम गर्नुपर्ने राय दिए । सम्पदा संरक्षणको महत्त्व युवापुस्तालाई  बताउनुपर्ने धारणा राख्दै उनले शिक्षा, सम्पदाको संरक्षण र सम्पदाको महत्त्व बुझाउने गरी कार्यक्रम ल्याउन अनुरोध गरे ।

वनस्पति विज्ञ प्रा.डा. पुष्पमान अमात्यले ग्लोबल वार्मिङको विद्यमान संकट न्यून गर्न बोटबिरुवा रोप्नु अत्यावश्यक रहेको सुझाव दिए ।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १४:४३
प्रतिक्रिया दिनुहोस्