समग्रतामा अभिव्यक्त बीपीलाई विश्लेषकहरुले अनेक कोणबाट व्यक्त गरेका छन् । विश्लेषणमा कहीँ आग्रह भेटिएला कतै पूर्वाग्रह । पूर्वाग्रहले बीपीलाई सक्रिय जीवनमा नै बढी लखेट्यो । समाजले पढ्दै र बुझ्दै गएपछि नेपालको सामाजिक चेतनामा उहाँको चिन्तनधाराले दिएको प्रेरणाप्रति अलि संवेदनशील तथ्य टिप्पणी हुनथालेको छ । तैपनि यस्ता व्यक्तित्वप्रति हुने आग्रह, पूर्वाग्रहको सिलसिला आंशिक नै सही निरन्तर भइरहन्छ क्यारे ? सायद त्यो थामिदैन । बीपी थामिने व्यक्तित्व पनि होइन ।
नेपालको आधुनिक इतिहासमा समग्रतामा व्यक्त हुने बीपी नै पहिलो नेतृत्व हो । यस्तो बुझाइ कसैकसैलाई आग्रहजन्य लाग्नसक्छ र कसैलाई अपर्याप्त । यस्तो लाग्नुमा उसको धारणाको बनोट हो, विवेच्य स्वतन्त्रता पनि । महा अर्थात् प्रेरणास्रोत मानिएका दार्शनिक व्यक्तित्वहरुलाई बुझ्ने पनि सापेक्षतामा हो, सामयिकतामा हो । दर्शन एकप्रकारले भावी दृष्टि हो । भावी दृष्टि(दर्शन)जसलाई प्रेरणाको अजस्रः स्रोत ठानिएको छ । नेपालको सन्दर्भमा चेतनाको अजस्रः स्रोतधारा वा चिन्तनको आधुनिक केन्द्रबिन्दुको नाम हो बीपी कोइराला ।
बीपी, गान्धी र माक्र्स‘हरु’लाई बुझ्नेहरु हात्ती छाम्ने कथाका पात्र होइनन् । हात्ती छाम्नेहरु चर्मचक्षुले दृष्टिहीन पात्र थिए । उनीहरुको छमाइको ठम्याइ जे थियो त्यो समग्रतामा थिएन तर जति थियो त्यो अन्तरज्ञान चाहिँ थियो । जसले जे छाम्यो, ठान्यो र बोल्यो त्यही उसको ठम्याइजन्य अभिव्यक्ति हो – अन्तरज्ञान । साथै, ती पात्रले सुपो, खाँबो र लौरो त बुझेका रहेछन् । यही कारण त हात्तीलाई तिनै सामग्रीमा आआफूले जे बुझे त्यही आरोपित गरे । यस्ता व्यक्तित्व बुझ्नेहरुले जसलाई दिव्यचक्षु वा दिव्यदृष्टि भनिन्छ त्यो प्रयोग गर्ने हो । दिव्यदृष्टि भोगाइ, पढाइ र बुझाइले निर्मित हुनेगर्छ । चाहे उसले चर्मचक्षुमा चस्मा चढाओस् वा नलगाओस् । तर, ठम्याइमा रहेन ‘कुण्डकुण्ड पानी मुण्डमुण्ड बुद्धि’ भन्ने उखानको अर्थ संकेतलाई भने युगौँ स्वीकार गर्नैपर्ने रहेछ । अर्थात्, अध्येता दिव्यदृष्टिले पनि कोणमात्र हेर्नसक्छ र कसैले कोणहरु समेत हेर्नखोज्लान् ? समग्रतामा बीपी देखिने कोणहरुसमेत जोड्न खोज्दा हो । त्यसो त एक भयंकर विशद् व्यक्तित्वलाई कति नै समग्रतामा अथ्र्याइन सम्भव होला र ? समग्रताको सीमा पनि विस्तारमा गएर टुंगिएला । यहाँ भन्न खोजिएको समग्रताको सीमा पनि त्यही विस्तारको अलिकति लेखोटमात्रै हो ।
बीपी किन समग्रतामा ? उहाँले राजनीतिमा बोल्नुभयो, अर्थतन्त्रलाई प्रजातान्त्रिक समाजवादमा अभिव्यक्त गर्नुभयो । साहित्यमा मुखरित हुनुभयो । जसरी विश्व समाजवादी आन्दोलनको नेतृत्व गरेर सामाजिक न्यायको आवाज दक्षिण एसियामा बुलन्द गर्नुभयो, त्यसरी नै नेपाली साहित्यमा मानिस र यौनवीचको घनिष्टतालाई पहिलो अभिव्यक्ति संस्कार दिनुभयो । उहाँको साहित्यको केन्द्रबिन्दु यौन अभिव्यक्ति भन्ने विश्लेषण गरिएला तर त्यहाँ यौन होइन, जीवन बोलेको हो । त्यतिमात्रै कहाँ ? त्यो साहित्यमा व्यक्ति छ, समाज छ, संस्कृति छ र राजनीतिकर्मीको पनि चरित्र चित्रण बोलेको छ ।
विसं १९९१ मा प्रकाशन आरम्भ साहित्यिक पत्रिका ‘शारदा’ को ०९२ को अंकमा बीपीको कथा ‘चन्द्रवदन’ छापियो । सम्पादक ऋद्धिबहादुर मल्लको ‘शारदा’मा छापिएको यही कथाले नेपाली साहित्यमा पहिलोचोटि जीवन जगत्सँग जोडिएको अर्को पाटोलाई सभ्य प्रस्तुति दियो । माक्र्सको भौतिकवादी ‘प्रपोगण्डा’को युगमा सिग्मण्ड फ्रायडले जीवन र यौनको अविच्छिन्नतालाई साहित्यमार्फत उद्घाटित गरे, सोचमा नयाँ मोड थपिदिए । बीपीले पनि मानिसको जीवन ‘जगत्’मा ब्रेन, यौन र आवश्यकताको माग वा प्रभावलाई मानसिक अर्थमा समेत भन्ने र बुझाउने प्रयास गर्नुभयो । कथाको ‘चन्द्रवदन’ शीर्षक रोजाइ नै यति कोमल छ कि अर्थात् चन्द्रमा जस्तो शरीर, अर्थात् चन्द्र प्रतीक वदन सुन्दरीको कल्पना, स्वयं मनोविनोददायक छ । यसैलाई मानिसहरुले यौन मनोविश्लेषण भनेका होलान् । तर, उहाँको साहित्यिक अभिव्यक्तिलाई यौन अपरिहार्यताको मनोआह्वानमा बुझ्दा पनि होला । उर्वर यौनजनित द्वन्द्वको अर्थमा भन्दा पनि मिल्ला ?
बीपी न्यायमा पनि बोल्नुभयो । दार्जलिङतिर सुधपा (सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान) साहित्यमा बोल्दैथिए, त्यतिखेरै त्यतै बीपी वकालत गर्दै (बारिष्टर) हुनुभयो । फाँसी दिइने उद्देश्यले तत्कालीन व्यवस्थाले लगाएका मुद्दाहरुमा उहाँ आफैँले पनि आफ्नो पक्ष राख्नुभयो, आफैँले समेत वकालत गर्नुभयो । राष्ट्रिय मेलमिलाप नीति लिएर स्वदेश आएपछिको घटना हो यो । दार्जलिङबाट कानुनवेत्ता हरिप्रसाद प्रधानलाई ल्याएर नेपालमा न्यायाधीश न्यायालय आरम्भ गर्ने नेता पनि बीपी कोइराला नै हो ।
पत्रकारितामा पनि बीपी देखिनुभयो । आफू प्रधानमन्त्री बन्दा मन्त्रीहरुसमेत आफ्नो पनि तलबभत्ता घटाएर कार्य आरम्भ गर्नुभएका बीपीले पत्रकारिताको संस्थागत विकासमा योग गर्नुभयो । अहिले दिइने लोककल्याणकारी विज्ञापनको पहिलो सूत्र उहाँले नै सुरु गर्नुभएको सहयोग हो । कम्युनिस्ट अवधारणाको प्रवक्ता ‘समीक्षा’ साप्ताहिक (सम्पादक मदनमणि दीक्षित), प्रजातन्त्रवादी प्रधानमन्त्री बीपीको रकम सहयोगबाट प्रकाशन भएको थियो । पत्रकारितामा मात्रै होइन, बीपी नेपालको आधुनिक परराष्ट्र नीति निर्माणमा पनि निर्धक्क देखिनुभयो ।
भारतीय स्वतन्त्रता संग्राममा तत्कालीन अंग्रेज शासकको जेल बसेरसमेत योगदान गर्नुभएका बीपीले आफ्नो कार्यकालमा उत्तर छिमेकी चीनसँगको आधुनिक सम्बन्धलाई उचाइ दिनुभयो । प्रधानमन्त्रीका रूपमा उहाँले चीन भ्रमण गरेर त्यहाँका समकक्षी चाउएन लाई र चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक अध्यक्ष माओत्सेतुड्.सँगको वार्ताबाट सगरमाथा सीमाको विवाद सुल्झाउनु भएको हो । प्रधानमन्त्री चाउएन लाईलाई नेपाल भ्रमणमा निम्त्याउनु भयो । दक्षिण एसियाबाट इजराइललाई मान्यता दिने पहिलो राष्ट्र नेपाल नै हो जतिबेला उहाँ नै प्रधानमन्त्री हुनुहुन्थ्यो । जननिर्वाचित सरकारको प्रमुखका रूपमा संयुक्त राष्ट्रसंघमा सारगर्भित मन्तव्य दिने उहाँ नै पहिलो नेपाली नागरिक पनि ।
पृथ्वीनारायण शाहले नेपालको भूराजनीतिक अवस्थितिलाई ‘दुई ढुंगाबीचको तरुल’ चित्रण गरे । बीपीले भारत र चीन दुईतिरका हात्तीबीचको दुबोजस्तो स्थितिमा मुलुकको भूराजनीतिक संवेदनशीलता बुझाउन खोज्नुभयो । अर्थात्, दुई हात्ती बस्दा वा लड्दा पनि माडिने जोखिम दुबोलाई पर्छ । बीपीको यो चित्रणप्रति टिप्पणी गर्ने केही ‘कथित’ पराराष्ट्र मामलाविद्ले हालै भारत, चीन हात्ती पनि होइनन् र नेपाल घाँस पनि होइन भन्ने सतही टिप्पणी गरेका भेटिए । (महेश मास्के, नेपाल पाक्षिक असार) । उनकै प्रेरणाले होला यस्तै आशयमा एकजना लेखक नयाँ पत्रिका दैनिकमा पनि देखिए । यस्ता लेख बीपी स्मृति दिवस नजिकिदै गर्दा आएका थिए ।
महेश मास्के ‘करियर डिप्लोम्याट होइनन् ।’ त्यसैले उनको विज्ञतामाथि लामो औंला तेस्र्याउनु अन्यथा हुन्छ । तर, उनी चीनमा राजदूत बसिसकेका भने हुन् । त्यही लेखमा उनले नेपालको भूअवस्थितिको पहिचानमा चाहिँ भनेका छन्– नेपालको अवस्था ‘साँढेको जुधाइ,बाच्छाको मिचाइ’ जस्तो....। आखिर पृथ्वीनारायणको तरुल, बीपीको हात्ती र दुबो, अनि मास्केको साँढेको जुधाइ र बाच्छाको मिचाइमा भाषाको भिन्नता छ तर भावार्थको दूरी कति बाँकी रह्यो त ? शब्दभाषा जोख्ने तर सन्देशात्मक भावार्थको दूरी नाप्न नसक्ने यस्तै नादानी व्याख्याले अहिलेको हाम्रो परराष्ट्र नीति निर्देशित छ क्यारे ? के यो नीतिमा समदूरी भन्ने ‘कथित दूरी’ बेअर्थ जन्मिएको हो र ?
‘भानुको सालिक बोक्ने विश्वेश्वरप्रसाद कोइराला’(बीपी) शीर्षक दिएर सात वर्षअघि पत्रकार, साहित्यकार जयदेव भट्टराईले गोरखापत्रमा विस्तृत लेख लेखे । कारण, प्रजातान्त्रिक विचार समाज तनहुँको आयोजनामा बीपीको ३७ औँ स्मृतिदिवस (यही साउन ६ गते) कार्यक्रमको वक्ता बन्न भानुभक्त आचार्यको गृहजिल्ला तनहुँको दमौलीमा जाँदा मलाई बीपीको समग्रता के हो ? भन्ने जिज्ञासाप्रति सोच्ने मौका जुर्यो । र, पाएँ यस्तै । उल्लिखित विशद् विषयहरुको प्रथम नेपाली प्रयोक्ता र नेपाली भाषाको उत्कृष्ट प्रयोगकर्ता बीपीमा रहेको युवासँगको भरोसा नजिकबाट सुनेको थिएँ । मानिसप्रतिको ममत्व आफैले पनि पाएँ । यद्यपि, उहाँभित्रको असीम गहिराइसम्म भने पुग्न सकिन । त्यो सम्भव पनि भएन ।
त्यसैले यी पंक्ति बीपी व्यक्तित्वको समग्रताको पूर्ण प्रस्तुति होइन (न्) । त्यसो गर्नु सीमित मेरो ज्ञानभित्रको शक्ति सामथ्र्यमा पर्दैन पनि । तर ज्ञान, विज्ञान, प्रकृति र स्रोतसाधन अनि माथि लेखिसकिएका जीवनजगत्, सबैसबै विषयमा अभिव्यक्त बीपीलाई ‘समग्रतामा अभिव्यक्त बीपी’ भन्न खोजिएको हो, संक्षिप्तमा मेरो ठम्याइ हो । अरुको कुरा अरुसँगै । समग्रताले महामना व्यक्तित्व बीपीलाई हार्दिक श्रद्धाञ्जली ।