प्रज्ञा प्रतिष्ठानको आख्यान विभाग र लघुकथा समाजको संयुक्त आयोजनामा मैत्री सेवा आश्रम, लप्सीफेदीमा लघुकथा र लघु उपन्यास विषयमा गोष्ठी हुँदै थियो । गोष्ठीमा कार्यपत्र वा गोष्ठीपत्र प्रस्तुत हुनु थियो नै ।
गोष्ठीपत्र लामै थियो । तर गोष्ठीपत्र प्रस्तोता प्रा.डा. लक्ष्मणप्रसाद गौतमले त्यो ‘पत्र’ भ्याएसम्म छोट्याउँदै पढे । कार्यपत्र वा गोष्ठीपत्र वाचन हुँदा दर्शकदीर्घाले ध्यान (?) दिएर सुन्नु अस्वाभाविक थिएन ।
तर कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक जगतप्रसाद उपाध्यायले आफूले मन्तव्य दिने पालो आएपछि भने, “म त विद्यार्थीलाई पढाउने मान्छे, अलिकति लामै बोल्छु होला ।”
सभामा हाँसो गुन्जियो । प्रायः शिक्षण पेशामा रहेकाहरू आफूले भाषण गर्दा यो भनाइ सुरुमै राख्छन् । किनभने आयोजकले तिनलाई ‘डिस्टर्ब नगरून्’ भन्ने तिनलाई लाग्दो हो ।
प्रायः कार्यक्रमहरूमा यस्तो भोगाइ भोग्नुपर्ने स्थिति सिर्जना भइदिन्छ, उपस्थित दर्शक वा आमन्त्रित पाहुनाहरूले । कार्यक्रमलाई छोटो र छरितो बनाउने कुरो उद्घोषकले बारम्बार उद्घोष गरे पनि कार्यक्रम छरितो बनाउनेतर्फ कसैको दृष्टि पुगेको पाइँदैन ।
लप्सीफेदीको कार्यक्रममा ३५–४० जनाको समूह बस लिएरै पुगेकोले भाग्ने हतारो कसैलाई थिएन । हतार गरे पनि केही हुनसक्ने अवस्था थिएन ।
कुनै पनि साहित्यिक वा अन्य कार्यक्रममा भाषण, मन्तव्य, सम्वोधन वा शुभकामना दिइनु औपचारिकता सामान्य औपचारिकता हो । त्यस्ता कार्यक्रममा पुगेपछि केही समय कार्यक्रममा बसौं र मञ्चासीन अतिथिका विचार सुनौँ भन्ने आमन्त्रित पाहुना सबैले सोचेका हुन्छन् । निश्चय पनि यस्तो कार्यक्रममा उपस्थित कसैले लामो भाषणको अपेक्षा गरेका हुँदैनन् । सबै चाहन्छन्, भाषण वा मन्तव्य छोटो होस् । जसले कार्यक्रमको समग्र समयलाई छोटो बनाओस् ।
त्यसैले पनि यस्तो कार्यक्रमहरूलाई छोटो समयमा अर्थात् एक–सवा घण्टामा सक्ने चलन नै बसाए कार्यक्रमका विषयवस्तु माथि टिकाटिप्पणी भए कार्यक्रमको लम्बाइ, चौडाइ र बलमिच्याइँका विषयहरू माथि थप चर्चा परिचर्चा हुने थिएन ।
कतिको याद गर्नुभएको छ तपाईँले ? अचेल कुनै पनि कार्यक्रममा ढोका नजिकको लहरमा बस्न धेरै मानिस रुचाउँछन् । किनभने कार्यक्रममा भाषण लामो हुन्छ । यस्तो अवस्थामा त्यहाँबाट निस्किन सहज हुन्छ भनेरै तुलनात्मक रुपमा यस्ता सजिला ठाउँको कुर्सी खोजिन्छ । र, कार्यक्रम लामो हुने आभाष हुनासाथ ती विस्तारै गायब हुन्छन् । यो देखेर पनि कार्यक्रमका आयोजकहरूले कार्यक्रम छोट्याएर छोटो मिठो बनाउने प्रयास गर्दैनन् !
भन्नलाई त सुरुमा नै भनिन्छ– ‘हाम्रो कार्यक्रम सानो छ । हामी एक घण्टामा सक्छौं ।’ तर तन्किँदै तन्किँदै कार्यक्रम दुई साढे दुई घण्टासम्म पुर्याउन पनि आयोजकले अप्ठ्यारो मान्दैनन् ! कहिले काहीँ त कुनैकुनै कार्यक्रम एकदिवसीय कार्यशालाभन्दा कम लाग्दैन ।
खैर, कुरो मन्तव्यको हो । कुनै पनि कार्यक्रमलाई लम्ब्याउने र छोट्याउने काम त्यसमा प्रस्तुत हुने मन्तव्यले निर्धारण गर्छ । यदि मन्तव्य वा शुभकामना दिने व्यक्तिले आफ्नो मन्तव्यलाई समयमै टुङ्ग्याउने हो भने त्यसले उपस्थित दर्शकहरूलाई सकस दिन्न होला । तर कहिलेकाहीँ बोल्नेले ‘मौका यही हो’ भन्दै बोल्ने गरेको पनि नदेखिएको होइन । कतिको त बानी नै हुन्छ लामो बोल्ने । तिनका लागि मिनेट छुट्याउनुको कुनै अर्थ नै रहन्न ।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई मञ्चमा सम्बोधनका लागि निम्त्याइँदा दर्शकदीर्घामा ‘साउती चर्चा’ चल्छ, ‘अब २०–२५ मिनेट ढुक्क भएर बस्नुस् ।’ शताब्दी पुरुषबाट कहिलेकाहीँ न नितान्त नौला कुरा नआउने होइन । तर कहिलेकाहीँ सम्बोधनमा एउटै विषय दोहोरिएको दोहोरिएकै गर्छ । अनि फेरि साउती सुरु हुन्छ, ‘यो त दाइले पोहोर फलानो कार्यक्रममा पनि भन्नु भएको थियो । अस्ती पनि एउटा कार्यक्रममा सुनाउनु भएको थियो ।’ (तर यस पटकको राष्ट्रिय कविता महोत्सवमा संस्कृतिविद् जोशीले छोटो बोलेर सबैलाई चकित तुल्याए)
काठमाडौंमा हुने अधिकांश साहित्यिक कार्यक्रमहरूमा उपस्थित हुँदा भोगेका अनुभवहरूले धेरैलाई यो सोच्न बाध्य तुल्याएको छ, ‘कार्यक्रम सुरु हुनासाथ भाग्नुपर्छ है ।’ (यदि कार्यक्रम आधा घण्टा वा ४५ मिनेटमा सिध्याउने हो भने सायद कोही त्यसरी कार्यक्रमबाट नबाहिरिएलान् ।)
केही साताअघि लेखक क्रान्ति सुब्बाको नियात्रा संग्रह ‘हङकङभित्र’को विमोचन हुँदै थियो । एक त उक्त कार्यक्रम बोलाएको समयभन्दा करिब एक घण्टा ३० मिनेट ढिलो सुरु भयो । यो आफैंमा सकसपूर्ण क्षण थियो, समयमा पुग्नेहरूका लागि । झनै त्यसमाथि लेखक सुब्बाले करिब ३० मिनेट जतिको प्रवचन (त्यो लेखकीय मन्तव्य नभएर प्रवचन नै थियो) पनि दिए ।
यो अवस्थामा कार्यक्रममा उपस्थित दर्शकको अवस्था के भयो होला ? र, सानो समयमा कार्यक्रम सक्ने काममा माहिर उद्घोषक राजेन्द्र शलभले समेत यसलाई छोट्याउँ भन्ने आँट गर्न सकेनन् ।
प्रज्ञा प्रतिष्ठानले कविता महोत्सवको उदघटन समारोहमा कविताभन्दा अगाडि भाषणलाई समय दियो । त्यो दिन मन्तव्य दिनेहरूले मञ्चमा उपस्थित र पहिलो लहरको मेचमा उपस्थितहरूलाई सम्बोधन गरेको सुन्दा के गरूँ कसो गरूँको स्थिति पैदा भयो ! (सम्बोधन गर्दा एक–एकको नाम र पदसमेत भनेर सम्बोधन गर्नुपर्ने नियम छ र कतै ? यो बारेमा कसैलाई थाहा छ भने जानकारी पाऊँ)
यसरी मञ्चमा उपस्थित भएर मन्तव्य दिनेहरूले सबैले सबैलाई सम्पूर्णरुपमा सम्बोधन गरेर समयको पूरापूर उपयोग गरे । कोही कसैबाट छुटेनन् । सबैले सबैलाई मेसो पुर्याएर सम्बोधन गरे । (अब यसलाई चाकरी भन्न मिल्दैन क्यारे !)
जे होस्, यसरी सम्बोधन गर्नेले आरामले समय लिए । दर्शकदीर्घामा बसेकाहरूको कष्ट र पीडा तिनको सरोकारको विषय नै थिएन । तर पीडित थिए प्रेक्षालयमा बस्ने दर्शकहरू । तिनले भाषणतिर सायद ध्यान दिनै सकेनन् । भाषण सुन्नमा भन्दा भाषण गर्नेको टिकाटिप्पणीमा समय बित्दो थियो, सबैको । यो स्थितिमा त्यो भाषण वा मन्तव्यको के नै अर्थ रहन्छ र ?
त्यो दिनको भाषण ‘ड्रामाटिक’ त थियो नै, धेरैका लागि ‘ट्रमाटिक’ पनि भइदिएको थियो । अब यसलाई तिनले कुनरुपमा सोचे, ती भाषण गर्ने नै जान्दा होलान् ।
कतिले स्पष्ट नभने पनि आफू विश्वविद्यालयको शिक्षक भएको प्रमाण प्रस्तुत गरे । त्यस दिन पनि कुनैबेला मास्टर भएका तर अहिले एकेडेमीमा पदासीन डा. जगमान गुरुङ, जगतप्रसाद उपाध्याय र गंगाप्रसाद उप्रेतीले मज्जैले समय लिए । (यसले कार्यक्रमलाई छरितो पक्कै बनाउँदैन् । यो कार्यक्रममा प्रमुख अतिथि वा विशेष अतिथि भएर जानेहरुले सोच्नुपर्ने होइन र ?)
एउटा अर्को प्रसंग यहाँ जोड्नु सान्दर्भिक होला । कथाकार विश्वराज अधिकारीको कथा संग्रह ‘नलेखिएका कथाहरू’को विमोचन कार्यक्रम थियो । कार्यक्रम सुरु भएपछि डा. दीनबन्धु शर्माले बोल्न थाले । उनले पुस्तक र आफ्ना मित्र विश्वराजका बारेमा धेरै कुरा भने । उनी बोल्दै गए ! बोल्दै गए ! अनि बीचमै भने, ‘कृपया मलाई नरोक्नुस् । मेरो भनाइ सकिएपछि म आफैं रोकिन्छु ।’ त्यसपछि सायद उनले आफू किताबको विमोचन कार्यक्रममा बोल्दैछु भन्ने बिर्सिए । (सायद उनले आफू कक्षाकोठामा भएको अनुभूत गरे ।)
आश्चर्य, उनी बीचबीचमा भन्थे पनि, ‘म साहित्य जान्दिन ।’ साहित्य नजान्ने मानिसले त्यति लामो बोलेको सुनेपछि उपस्थित दर्शकको हालत के भयो होला ? अनुमान गर्नुस् त !
भाषाका ज्ञाता तथा साहित्यकार कृष्णप्रसाद पराजुलीको ८५औं जन्मजयन्तीका अवसरमा कृष्ण साहित्य सदनले केही दिनअघि विशेष कार्यक्रम आयोजना गरेको थियो । त्यस दिन कार्यक्रम स्थलको माइकले धोका दिइरहेको थियो । बेला बेलामा माइक बन्द हुन्थ्यो ।
तर माइक बन्द भए पनि बोल्नेहरूको बोलती बन्द भएन । प्रमुख अतिथि सत्यमोहन जोशीले पनि लामो नै बोले । र कार्यक्रमका सभापति प्राडा चुडामणि बन्धुले पनि माइकले काम गरिरहेको छैन भन्ने जान्दाजान्दै पनि बोल्न छोडेनन् । जबकी उनले आफूले बोलेको कसैले सुनिरहेका छैनन् भन्ने सायद अनुभव गरिरहेका थिए ।
एउटा कार्यक्रममा किताबको विमोचन थियो । तर वक्ता संगीतका विषयमा व्याख्यान झारिरहेका थिए ! जबकी त्यो नियात्रा कृतिको विमोचन थियो, नकि संगीतको किताबको ।
यि त केही नमुना मात्रै हुन् । कार्यक्रममा उपस्थित हुने धेरै दर्शक पाहुनाले यस्तो हरिबिजोक व्यहोर्नु परेको छ, साहित्यिक कार्यक्रम वा विमोचन कार्यक्रम वा रचना वाचन कार्यक्रमा जाने उपस्थित पाहुनाहरूले । ती पाहुनाको पीडाको उपचार कसले गर्ने ?