site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
असारे विकास : एक करोड बढीको सडक योजनामा ग्राभेलको सट्टा हिले माटो

दाङ । असार मसान्त नजिकिँदै गर्दा निर्माण व्यवसायीहरुले निर्माण संहिता मिच्‍दै जबरजस्तरुपमा गुणस्तरहीन कामलाई निरन्तरता दिन थालेका छन् । प्रदेश सरकारको बजेटमा दाङको दुधरास-सक्राम छिल्लीकोट सडकखण्ड स्तरोन्नतिका क्रममा सडकमा ग्राभेल फिलिङ गर्नुपर्नेमा निर्माण कम्पनीले ढिस्कोको हिलाम्मे माटो लिएर सडकमा फिँजाएका छन् ।

झरना निर्माण सेवा त्रिवेणी रोल्पा ठेगाना भएको निर्माण कम्पनीका कामदारले स्थानीयबासीहरुले विरोध गर्दागर्दै पनि जबरजस्ती मध्यसडकमै हिलो माटो फालेपछि स्थानीयबासी आक्रोशित भएका थिए । "गुणस्तरहीन काम नगरौं, यो हिले माटो यहाँ नखसाल भनेर बारम्बार भन्यौं, तर कामदारले जबरजस्ती हिलो माटोबीच सडकमै फ्याँकेर गए", स्थानीयबासी हरीबहादुर विष्टले भने । निर्माण कामदारले अनुगमन समितिलाई समेत झुक्याएर स्तरोन्‍नतिको नाममा रातको समयमा जबरजस्ती रुपमा हिलो माटो ल्याएर सडकमा फालेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अनुगमन समितिले पनि आफूहरुलाई झुक्याएर हिलो माटो सडकमा हालेको अभिव्यक्ति दिएको छ । "हामीलाई झुक्याएर रातको समयमा ठेकेदारले मिस्कट राख्नुपर्ने स्थानमा हिलो माटो फालेको रहेछ, त्यसैको विरोध गर्न यहाँ आएका हौं", आयोजना अनुगमन समितिका संयोजक ज्ञान वहादुर बस्नेतले भने । आक्रोशित स्थानियबासीले निर्माण कम्पनीलाई सम्पर्क गर्दा सम्पर्कमा नआएपछि वडाध्यक्ष माधव वली र सदस्य धनवहादुर बस्नेतसहितको टोलीले निर्माण व्यवसायीलाई बोलाएका थिए । साथै स्थानीयबासीहरुले सडकमा सिंचाई सुविधाका लागी कुलो क्रस गराउने स्थानमा ह्युमपाइप पनि कामै नलाग्ने गरी बिछ्याइको आरोप लगाएका छन् ।

वडाध्यक्ष वलीसहित स्थानीय उपभोक्ताहरुले निर्माण कम्पनीका प्रोपाइटरलाई तत्काल माटो उठाउन निर्देशन दिँदै आयन्दा यस्तो काम नगर्न चेतावनीसमेत दिएपछि निर्माण कम्पनीका प्रोपाइटर मानबहादुर बुढाथोकीले बाइमिस्टेक यस्तो दुर्भाग्य भएको भन्दै स्थानीयबासीसँग क्षमायाचना गर्दै सोमबार राति सडकमा पोखिएको हिलोमाटो उठाएर लगेका थिए । साथै आयन्दा यस्तो कार्य नगर्ने पनि उनले स्थानियबासी तथा अनुगमन समितिका पदाधिकारीहरुलाइ प्रतिबद्धता जनाएका थिए ।

सो सडक योजनाको एक करोड ८९ लाख ९६ हजार ६ सय ४४ रुपैयाँ लागत अनुमान गरिएको थियो । सो कामकालागि झरना निर्माण सेवाले करिब ६० लाख रुपैयाँभन्दा बढी 'बीलो टेण्डर'मा काम गर्न थालेको छ । यतिधेरै कममा काम गर्दा मुनाफा नहुने भएपछि मिस्कटको सट्टा हिलो माटो जनतालाई झुक्याएर सडकस्तरोन्नति गर्न थालेको स्थानियबासी कृष्णबहादुर डाँगीले बताए । विसं २०७६ जेठ ३० गते काम सम्पन्न गर्ने गरी ठेक्का सम्‍झौता विस २०७५ फागुन २१ सम्‍झौता भएको थियो ।

यसको प्राविधिक अनुगमन र निगमनको जिम्मा भौतिक पूर्वाधार कार्यालयले लिएको छ । तर सो कार्यालयका प्राविधिकहरु भने यति धेरै गुणस्तरहीन काम गरिरहँदासमेत फिल्डमा आएका छैनन् । यो विषयमा भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख वाशुदेव भण्डारीले निर्माण कम्पनीलाई असारे झरीमा काम रोक्न निर्देशन दिएको बताए । 

"हामीले काम रोक्न भनिसकेका छौं, अब सडकमा रहेका खाल्डाखुल्डी पुरेर रोलिङ गर्ने मात्रै हो, पक्की र थप ग्राभेलको काम हुँदैन", कार्यालय प्रमुख भण्डारीले भने । साथै उनले त्यहाँ पोखिएको हिलो माटो सबै निर्माण कम्पनीलाई तत्काल हटाउन निर्देशन दिइसकेको पनि बताए ।
 

प्रकाशित मिति: मंगलबार, असार २४, २०७६  १९:३७
प्रतिक्रिया दिनुहोस्