site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कविता महोत्सवः मूल कार्यक्रम कि तुल कार्यक्रम ? 
SkywellSkywell

इच्छा राम्रा कविता सुन्ने नै थियो । जाँगर ताली पड्काउने नै थियो । तर बस्दाबस्दै रहर र जाँगर दुवै शिथिल भएर गयो । ‘के सोचेँ मैले, के भयो ऐले...’ शैलीमा ।
यस पटक नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘राष्ट्रिय कविता महोत्सव’मा पुगेको थिएँ । यसअघि यस्ता महोत्सवमा कविता सुन्न भनेर गइएन । बरु नाटक महोत्सवमा नाटक हेर्न गइयो । गाईजात्रा महोत्सवमा हाँस्न गइयो ।

उसो त, अचेल गाईजात्रामा पुरानो रसरङ्ग छैन । ‘राजनीतिमा हुने सधैंको गाईजात्राले त्यसलाई फिक्का बनाएको छ’ भन्ने गरिन्छ । नाटक महोत्सव गर्ने काम अर्को प्रज्ञा–प्रतिष्ठानतिर अंशवण्डामा सरेकोे छ ।

यता कविता महोत्सव यथावत् छ, ठूलो हलमा । प्रज्ञा–प्रतिष्ठानले बर्सेनि कविता महोत्सव गर्दै आएको छ । यस पटकको असार ९ गते पनि कविता सुन्नेहरूको भीड लाग्यो । 

KFC Island Ad
NIC Asia

यो पटक पनि त्यही भयो । कविता सुन्न सबै पुगे महोत्सवमा । महोत्सवमा सधैं प्रतिष्पर्धी कविताहरू आउँछन् । कविले कविता सुनाउँछन् । अनि विजेता कविहरूले प्रमाणपत्र र पदक पाउँछन् । यो वर्ष पनि त्यही हुँदैथियो । असार ९ गते विस्तारै हल भरिँदै थियो प्रज्ञाको । यस पटक म पनि पुगे‌ कविता सुन्न । अलिक माथि रहेको एउटा सिट समाएँ । 

अगाडि कविता वाचनको जिम्मा पाएका कविहरु लहरमा बसेका थिए । त्यो भन्दा पछाडि नै बस्नु ठीक हुन्थ्यो । म एउटा सिटमा बसेँ । बसेर हेरेँ, नयाँ–पुराना केही कविका अनुहार छेउछाउ देखिए । कविहरूका भीडमा केही चिनेका कवि थिए । कोही नचिनेका, तर धेरैजसो कवि नै थिए ।

Royal Enfield Island Ad

हलमा मानिस थपिँदै गए । मञ्चको ब्याकड्रपले प्रज्ञाको ६४औं वार्षिकोत्सव र राष्ट्रिय कविता महोत्सवको सङ्केत गरिरहेको थियो । (कविता महोत्सवमा पहिलो काम कविता सुन्नु नै हुनुपर्ने हो । तर त्यो भएन । अलिकति पनि भएन !)

केही बेरपछि कविता सुन्न पाइन्छ भन्नेमा सबै थिए । कविता जसका हुन्, जस्ता हुन्, सुन्नु छ ध्यान दिएर । ममात्रै होइन, त्यहाँ पुगेका अधिकांश कविता सुन्नै आएका थिए । कविता सुन्ने मोह सायद मभन्दा अधिक तिनमा थियो !

जानकारी दिएअनुसार कविता भन्नेहरू ४१ जना थिए । ३१ जना प्रतियोगी र १० जना आमन्त्रित । थप एक–दुई जना कवि त्यसमा मिसिन सक्थे, बोनस कविका रुपमा । प्रमुख अतिथिले पनि आफ्नो सम्बोधनमा कविता भनेकै हुन् । यस हिसाबले ४२ कवि त यत्तिकै भए !

ध्यान मञ्चमा र घडीमा बरोबर गइरहेको थियो । मेरो मात्रै होइन, सबैको । उपस्थित कविहरूको पनि । 

बल्ल कार्यक्रम सुरु हुने सङ्केत देखियो । पोडियममा उद्घोषक उभिए । उनले कार्यक्रममा सभापति अर्थात् प्रज्ञाका कुलपति गङ्गाप्रसाद उप्रेतीलाई मञ्चमा बोलाए । त्यसपछि प्रमुख अतिथि उप–प्रधानमन्त्री ईश्वर पोखरेललाई बोलाए । 

उनले बोलाउँदै गए अतिथिहरूको नाम । अतिथि पनि मञ्चमा उक्लिँदै गए । शताब्दी पुरुष आइपुगेका थिएनन् । उनको ठाउँ खाली राखियो ।

यसरी उद्घोषकले प्रमुख, विशेष, वरिष्ठ, कनिष्ठ सबै अतिथिहरूलाई बोलाउँदै गए । मञ्च भरिँदै गयो । त्यसपछि दर्शकदीर्घातर्फको अग्रभागमा आसन ग्रहण सुरु भयो । उनले आसन ग्रहण गराएको देख्दा लाग्थ्यो, उद्घोषकले चिनेजानेका सबैलाई आसन ग्रहण गराउँदैछन् ! 

आसन ग्रहणकै क्रममा उनले कतिपयलाई यथास्थानमा पनि आसन ग्रहण गराए । (धन्न, उद्घोषकले यस पङ्क्तिकारलाई चिनेका थिएनन् । चिनेका भए यसलाई पनि यथास्थानमा आसन ग्रहण गराउने थिए अवश्य पनि !)

आसन ग्रहणले महोत्सवको मूल कार्य कवितावाचनलाई १५÷२० मिनेट पर धकेल्यो । लामो समय लिने र धेरै जनालाई आसन गराउने परम्परागत प्रवृत्तिलाई आजको समयमा पनि प्रज्ञाले परिवर्तन गर्न सकेको देखिएन ।

कतिपय कार्यक्रम एक घण्टामा सकिएको र त्यस्ता कार्यक्रममा प्रमुख अतिथि बनेर पुगेका कुलपति उप्रेतीले सानो समयको ‘मिठास’ पनि भोगेकै हुन् । तर उनकै नेतृत्वको संस्थाको कार्यक्रममा आसन ग्रहणले आधा समय खाएको उनलाई महसुस भएन ! आज पनि हामी आसन ग्रहण नगराउँदा बोलाएका अतिथि रिसाउने हुन कि भन्ने सोच्छौं । त्यसैले पनि होला, आसन ग्रहणको लम्बाइले बीचबीचमा पनि ठाउँ पाउँदै गयो । (बीचमै आएका थिए, शताब्दी पुरुष पनि ।)

अचम्म, आज पनि हामी बिरालो बाँधेर सराद्धे गर्ने प्रवृत्तिमै रमाइरकेका छौं । कार्यक्रमको प्रस्तुतिमा परिवर्तन ल्याउन सकेका छैनौं । आज पनि हामी यस्ता कार्यक्रमहरूमा कर्मकाण्डी व्यवहार नै देखाउँदै छौं ! 
कार्यक्रम सुरु भएपछि एक–दुई वटा मन्तव्यलगत्तै कविता सुनाउन पाइएला भनेर छनौटमा परेका कविहरू पर्खिरहेका थिए, सायद । मेरै छेउमा बसेका एक अतिथि कवि पनि चाँडै कविता सुनाएर निस्कने मनस्थितिमा थिए । मेरो विचार पनि कविता सुनेर भाग्ने नै थियो ।

तर सोचेजस्तो भएन । हुँदै भएन । पहिले उद्घाटन सत्र सक्नतिर लाग्यो प्रज्ञा–प्रतिष्ठान । ब्यानरमा ‘कविता महोत्सव’ भनिए पनि कविता महोत्सव गौण भएको त्यहाँ भएको कार्यक्रमले देखाउँदै थियो । 
पहिले त उपकुलपति डा. जगमान गुरुङले लामो भाषण दिए । उनले कविता महोत्सवको इतिहास नै खोतले । जबकि प्रज्ञाले त्यस विषयमा एउटा ब्रोसियर बनाएर सबैलाई बाँडेको भए राम्रो हुन्थ्यो । रेकर्ड पनि रहन्थ्यो सबैका हातमा । (सायद प्रज्ञाको प्रेसले ब्रोसियर छाप्दैन कि !)

उप्रान्त कविता विभागका प्रमुख डा. हेमनाथ पौडेलले आफ्नो पालोको प्रयोग गरे । उनले आफ्ना विचारसँगै कविता महोत्सव र कविताका विषयमा ठूलै जानकारी दिए ।

त्यसपछि ताली बजाउने क्रमको थालनी भयो । कविहरु ताली पड्काउन थाले । यो ताली कविता पढ्ने कविहरूका लागि नभएर प्रज्ञाको वार्षिकोत्सवमा भएका खेलकूद र अतिरिक्त क्रियाकलाप, अनि लामो समय जागिर खाएर दीर्घसेवा पदक पाएका कर्मचारीहरूले प्राप्त गरेको पदक तथा प्रमाणपत्रका लागि थियो ।

कविहरूका बीच चर्चा चल्यो, ‘यो प्रशासनिक कार्य अघिल्लो दिन वा कविता महोत्सव सकिएपछि थप कार्यक्रमको आयोजना गरेर सम्पन्न गरेको भए हुने ! यसरी त यो कविता महोत्सव कहाँ भयो र ?’
यसरी कानेखुसी हुँदै गयो । तर मञ्चसम्म यो कुरा पुग्न सकेन । सायद तालीमा मिसियोे । विस्तारै ताली मत्थर हुँदै गयो । 

अब बोल्ने पालो आयो, कवि बैरागी काइँलाको । अनि संस्कृतिविद् सत्यमोहन जोशीले बोले । अरु समयको तुलनामा उनले यो पटक भने धेरै छोटो बोले । सबै छक्क परे ! 

त्यसपछि प्रमुख अतिथि ईश्वर पोखरेलले बोले । उनले आफूलाई प्रज्ञा–प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव हुन्छ भन्ने थाहा नभएको उल्लेख गरे । उनले स्पष्टै भने– मलाई यो थाहा थिएन । त्यसै दिन थाहा पाए ।
सायद त्यसैले होला, प्रमुख अतिथिले आफ्नो लामो सम्बोधनपछि दुई कविता पनि सुनाए । बल्ल कविहरूले कवितामा ताली बजाउन पाए । यो पङ्क्तिकारले पनि कवितामा पहिलो चोटी ताली बजायो ।
अब बोल्ने पालो थियो– प्रज्ञाका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायको । उनी त झन् प्राध्यापक परे । उनले पनि विद्यार्थीलाई कक्षा लिएझैं लामै समय लिए ताली बजाउनेहरूको ।

यति हुँदाहुँदै समय घर्किसकेको थियो । कविता सुन्न आउनेहरू कविता नसुनेरै तुलमात्रै हेरेर फर्किन थालेका थिए । 

अन्त्यमा, सभापति उभिए माइकअगाडि । उनले बोल्न थाले । र, लामै बोले । यतिबेरसम्म धेरैको कविता सुन्ने ऊर्जा फुस्केर गइसकेको थियो । यो पङ्क्तिकारसँग पनि कविताका लागि तालीको कोटा बाँकी रहेको महसुुस भएन ।

वास्तवमा, त्यस दिन प्रज्ञाले मूल कार्यक्रमलाई ओझेलमै पारेको थियो । त्यो दिन मूल कार्यक्रम थियो कविता वाचन । प्रारम्भमा कविता सुनेर कविताको स्वाद लिएपछि अन्य भाषण र रासनका कार्यक्रम गरेको भए सायद त्यसले सधैं सबैलाई ऊर्जा दिने थियो । तर त्यो दिन कविता महोत्सव ‘मूल कार्यक्रम’ नभएर ‘तुल कार्यक्रम’का रुपमा ब्याकड्रपमा झुण्डिएको थियो !
  

  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १६, २०७६  ११:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro