दाङ । रोल्पामा निमित्त प्रधानाध्यापकको कुटपिटबाट पाँच जना छात्राको हात भाँचिएको छ । १४ जना विद्यार्थी घाइते भएका छन् ।
रोल्पाको रुम्टीगढी गाउँपालिका वडा नम्बर ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षक लक्ष्मी पुनको कुटाइबाट पाँच जना छात्राको हात ‘फ्याक्चर’ भएको उपचारमा संलग्न सहारा पोलिक्लिनिक तुलसीपुरका डा. घनश्याम शर्माले जानकारी दिए । घाइते बालिका कक्षा ८ मा अध्यनरत १४ वर्षीया गौरी घर्तीले आफूलगायत कक्षा ८ मै अध्ययनरत शान्ता नेपाली र कक्षा ७ मा अध्ययनरत विमला रोकालाई शिक्षिका लक्ष्मी पुनले कपाल राम्रोसँग किन नबाटेको, किन लिपिष्टिक लगाएको, गालामा कोठी किन बनाएको ? भन्दै सालको काठको पटरी (चिरपट)ले कुटेको जानकारी दिइन् ।
१५ वर्षीया भिमकुमारी बाँठा, १३ वर्षीया निर्मला पुन, १४ वर्षीया गौरी घर्ती, १५ वर्षीया शान्ता नेपाली र १४ वर्षीया विमला रोकाको हात फ्याक्चर भएको अवस्थामा उनीहरु दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा उपचार गराएका छन् ।
घटना सार्वजनिक भएलगत्तै शिक्षिकालाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं डिएसपी दिपक खड्काले जानकारी दिए । वडाध्यक्ष भिमबहादुर घर्तीको रोहवरमा घटना सार्वजनिक हुन नदिन स्थानीयस्तरमा मिलाइएको भए पनि छोरीको हातमा झनै समस्या भएपछि मात्रै आफूहरु उपचारका लागि दाङ झरेको र त्यसपछि घटना सार्वजनिक हुन पुगेको विमला घर्तीका बुबा जितबहादुर रोकाले जानकारी दिए ।
यसैबीच शिक्षिका लक्ष्मी पुनले आफूले गल्ती गरेको स्वीकार गरेकी छन् ।