
एजेन्सी । नर्वेको उत्तरी समुद्रमा बेल्ट बाँधिएको र क्यामरा जडान गरिएको ह्वेल माछा फेला परेपछि त्यहाँका स्थानीय आश्चर्यमा परेका हुन् । यस्तोमा त्यसले बाँधेको बेल्ट र क्यामरा निरीक्षण गर्दा ती रुसका उत्पादन भएको पाइएको हो जसपछि मरिन विश्लेषकहरुले सो ह्वेललाई रुसी सेनाले प्रशिक्षण दिएको र त्यो जासुस हुन सक्ने आशंका गरेका छन् ।
यसबारेमा समुद्री जीवविज्ञानी जोर्गेन री विल्गले सिएनएनसँग भनेका छन्, “सो ह्वेल अत्यन्तै चन्चल स्वभावको थियो र हामीलाई लाग्छ त्यसले हामीसँग उसको शरीरबाट उक्त बेल्ट हटाउन मद्दत मागिरहेको छ ।”
यसरी ‘इक्विपमेन्ट सेन्ट पिटर्सबर्ग’ लेखिएको त्यो बेल्ट विशिष्ट प्रयोजनका लागि निर्माण गरिएको र त्यसको प्रत्येक साइडमा गो–प्रो को क्यामरा जडान गरिएको थियो ।
विल्गका अनुसार सो ह्वेल मर्मानस्क, रुसबाट आएको हो र यसलाई रुसको नावी सेनाले ट्रेनिङ दिएको हुन सक्छ । उनी भन्छन्, “रुसले यसअघि पनि बेलुगस प्रजातिका त्यस्ता ह्वेलहरुलाई सैन्य अपरेसनका लागि ट्रेनिङ गराउने गरेको थियो ।”
तिनलाई विशेषगरी नावी बेसहरुलाई सुरक्षा दिन, डाइभरहरुलाई मद्दत गर्न अनि हराएका उपकरण खोज्न लगाइने गरिएको छ ।
नर्वेको इन्सटिटीउट अफ मरिन रिसर्चका अनुसन्धानकर्ता मार्टिन ब्युले पनि विल्गको कुराप्रति सहमति जनाउँदै सो जीवलाई ट्रेनिङ दिइएकामा कुनै शंका नरहेको बताएका हुन् । यसरी उक्त ह्वेलको भिडियो हेर्दै ब्युले भने, “भिडियोमा स्पष्ट रुपमा देख्न सकिन्छ कि त्यो ह्वेलले जहाजहरुकै खोजी गरिरहेको थियो र जहाज वरपर अभ्यस्त रहेको देख्न सकिन्छ । साथै त्यो मुख खोल्दै टाउको उठाएर पानी माथि माथि आइरहेको थियो जसपछि पनि यसले पुरस्कारका रुपमा माछा पाउने आश गरेको स्पष्ट पार्दछ ।”
यसरी त्यस किसिमको प्रशिक्षण नर्वे वा ग्रिनल्यान्डमा कहिल्यै पनि नदिइने गरेको उनी बताउँछन् । उनी भन्छन्, “हामी ट्रेनिङका लागि कहिल्यै बेल्ट प्रयोग गर्दैनौँ ।”
तर जासुस हुन सक्ने आशंका गरेपनि यो नर्वेमा आइपुग्नु पछाडिको उद्देश्य चाहिँ पूर्ण रुपमा अनुमान मात्र हुन सक्ने उनले बताए । नर्वेका अधिकारीहरुले अहिले सो ह्वेललाई बेल्टबाट मुक्त गराइसकेका छन् जसपछि त्यो पौडिदै पानीमा हराएको विल्ग बताउँछन् ।