
काठमाडौं । नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघ भाँडभैलोमा परिणत भएको छ । अध्यक्ष उषा राउत मिश्रले ‘एकलौटी’ गरेको आरोप लगाउँदै २० केन्द्रीय सदस्यले सामूहिक राजीनामासँगै भाँडभैलो देखिएको छ ।
त्यसरी राजीनामा दिनेमा डा. शेखर कोइराला निकट केन्द्रीय सदस्य छन् । तिनले सभापति शेरबहादुर देउवालाई सम्बोधन गरी पार्टी मुख्यसचिवमार्फत् राजीनामा बुझाएका हुन् ।
तिनीहरूले महिला संघकी अध्यक्ष मिश्रलाई बोधार्थसमेत दिएका छैनन् । पार्टी सभापति शेरबहादुर देउवा मुलुकबाहिर भएको हुँदा उनीहरूको राजीनामाबारे कुनै निर्णय भएको छैन । तर देउवा फर्किइसकेपछि पनि यस विषयमा थप कुराकानी हुन नसकेको बताइएको छ ।
राउतमाथि केन्द्रीय समिति बैठक नियमित नराखेको, संगठनका गतिवधि नगरी व्यक्तिगत रुपमा मात्र कार्यक्रम संचालन गरिरहेको, विधानविपरीत जिल्ला अध्यक्ष हटाएको, नियुक्तमा एकलौटी गरेको र संगठन आफ्नो नेतृत्वमा नभएर अरुको निर्देशनमा संचालन गरेको आरोप लगाएका छन् ।
मिश्रले १२ जिल्लाका अध्यक्षहरूलाई हटाएपछि विवाद पैदा भएको हो । जथाभावी गतिविधि जारी राखे समानान्तर कार्यसमिति बनाउने चेतावनी राजीनामा दिनेहरूको छ ।
महिला संघ विवादले गतिविधि सञ्चालन हुन नसकेको र महाधिवेशनको वातावरण पनि नबनेको भन्दै महाधिवेशन गराउन पार्टीले यसअघि डा. प्रकाशशरण महतको नेतृत्वमा महिला संघ निर्देशक समिति बनायो ।
संघको विधान परिमार्जनदेखि महाधिवेशनको प्रक्रिया अघि बढाउने र चैत मसान्तभित्र महाधिवेशन हुन नसके त्यसको जिम्मेवारी समितिले लिनुपर्ने गरी निर्देशक समिति बनाइएको थियो ।
राजीनामा दिने समूहले निर्देशक समिति गठन भएपछि झन् अध्यक्ष राउतले झन् गतिविधि अघि बढाएको जिकिर लिएका छन् । उता अध्यक्ष मिश्र आरोपको प्रतिवाद गर्दै संगठनका लागि खट्न तयार नहुनेहरूले राजीनामा दिएको दाबी गर्छिन् ।
मिश्रले बाह्रखरीसँग भनिन्, “नेताका वरिपरि घुम्ने, नेतालाई गतल काममा दुरुपयोग गर्ने र संगठनका लागि काम पनि नगर्नेहरूले सुरुदेखि नै असहयोग गरेका हुन् । त्यस्तो समूहले राजीनामा दिएर मलाई केही फरक पर्दैन ।”
उनी देशभर संगठन विस्तारका काम बढाउँदा तिनीहरूले सहयोग नगरेको आरोप लगाइन् ।
२०७९ साउन २८ मा अध्यक्ष नियुक्त भएकी मिश्रको लामो समय एक सदस्यीय कार्यसमिति चल्यो । पछि ५३ सदस्यीय कार्यसमिति बनेको थियो । त्यसरी विस्तारित केन्द्रीय समितिको पहिलो बैठक डाकेर नियुक्तिको प्रमाणपत्र वितरण गरिन् । त्यसपछि उनले बैठक डाक्न नसकेको आरोप उनीमाथि छ ।
असन्तुष्ट समूहकी नेतृ चन्द्रादेवी जोशी आफ्नै विवेकले काम गर्न नसक्ने र अमुक व्यक्तिको निर्देशन पालना गरेका कारण मिश्रको नेतृत्व पूर्णत असफल भएको दाबी गर्छिन् ।
“सुरुमै १२ जिल्लाका अध्यक्षहरू अनधिकृत रुपमा हटाउनुभयो, हामीले सभापतिको ध्यानाकर्षण गरेपछि रोक्नुभयो । तर, बैठक बस्ने छलफल गर्ने र निर्णय गरेर अघि बढ्ने राजनीतिक चरित्र उहाँले देखाउनु भएन,” जोशीले बाह्रखरीसँग भनिन्, “झन् निर्देशक समिति आएपछि उहाँले आफू खुसी जिल्ला अध्यक्ष भन्दै पत्र दिन सुरु गर्नु भयो ।”
अध्यक्ष मिश्र भने कैलाली, कास्कीसहितका जिल्लामा त्यहाँका अध्यक्ष केन्द्रीय सदस्य निर्वाचित भएर स्वतः खाली भएको र केन्द्रीय समितिको निर्णय अनुसार आफूले नियुक्त गरेको बताइन् । आफ्नो केन्द्रीय समिति नभएर पार्टी केन्द्रीय समितिको निर्णय पालना गरेको उनको भनाइ छ ।
त्यसबाहेक अध्यक्ष मिश्रले महिला संघको छुट्टै क्रियाशील सदस्य हुने व्यवस्था भए पनि त्यसको रेकर्ड नरहेको बताइन् ।
“हाम्रो यस्तो संगठन छ कि जसमा क्रियाशील सदस्य कति छन् भन्ने रेकर्ड मैले भेटेको छैन,” मिश्रले भनिन्, “यस्तो संस्थालाई व्यवस्थित बनाएर लैजान स्थानीय तहदेखि क्रियाशील सदस्यता बाँडेर त्यसको रेकर्ड तयार हुँदैछ । कति क्रियाशील छन् भन्ने त्यसपछि मात्र भन्न सकिन्छ ।”
उता राजीनामा दिने समूह क्रियाशील सदस्यताको रेकर्ड छैन भन्नुमा पुराना हटाउँदै नयाँ सदस्य बनाउने नियत भएको दाबी गर्छन् ।
महिला संघकी पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य डा. डिला संग्रौला क्रियाशील सदस्यता रेकर्ड भएको र आफूले हस्तान्तरण गरेको बताउँछिन् ।
“मेरो पालामा त बकाइदा महाधिवेशन भएको छ । क्रियाशील सदस्यता नभई, प्रतिनिधि नभई महाधिवेशन त हुन्न होला,” संग्रौलाले बाह्रखरीसँग भनिन्, “महाधिवेशनपछि मैले क्रियाशीलसहितका सबै विवरण उमा रेग्मीको टिमलाई पार्टी कार्यलयमै हस्तान्तरण गरेको छु ।”
उमा रेग्मी अध्यक्ष हुँदा मिश्र सचिव थिइन् । उनले आफू सचिव ढिला नियुक्त भएको, आफूभन्दा माथि महासचिव रहेको हुँदा क्रियाशील सदस्यताको रेकर्ड भएको या नभएको थाहा नपाएको बताइन् ।