
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनलाई रक्सी चोरेको आरोपमा सहमहामन्त्रीका छोरा पक्राउ परेको विषय प्रमाणित गर्न चुनौती दिएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा घिमिरेले गएको चैत १५ गतेको घटनामा भाटभटेनीबाट रक्सी चोरेको आरोपमा पक्राउ परेको भनिएको व्यक्ति प्रमाणित गर्न चुनौती दिएका हुन् ।
“सहमहामन्त्री नेपाली कांग्रेसमा मात्रै भनिन्छ । त्यसैले नेपाली कांग्रेसलाई इंगित गरेको भनी बुझ्न गाह्रो भएन । सहमहामन्त्री आठजना हुनुहुन्छ । कुन चाहिँ सहमहामन्त्रीको कुन चाहिँ छोराले रक्सीको बोतल बोकेर हिँड्नुभएको हो प्रमाणित गर्न आग्रह गर्दछु,” उनले भने ।
अन्यथा शब्द फिर्ता लिएर क्षमयाचना गर्नुपर्ने उनको माग छ । प्रमुख सचेतक घिमिरेले झुटा अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने पनि बताए ।
गएको शुक्रबार संसद् बैठककै लिङदेनले कांग्रेस सहमहामन्त्रीको छोरालाई चैत १५ गतेको घटनामा पक्राउ गरेर छाडिएको बताएका थिए ।