काठमाडौं । एएफसी यू-१९ महिला च्याम्पियनसिप छनोटअन्तर्गत दोस्रो चरणको छनोटमा सहभागिता जनाएर नेपाली यू-१९ महिला फुटबल टोली स्वदेश फर्किएको छ । म्यानमारमा सम्पन्न छनोटमा जितबिहिन नेपाली टोली बिहिबार स्वदेश फर्किएको हो ।
नेपाली टोलीले समूहका तीन खेलमा १७ गोल खान पुग्यो भने नेपालले २ गोल मात्र फिर्ता गरेको थियो । "धेरै समय तयारी थिएन, हामीसँग प्रतिस्पर्धा गर्ने टोलीहरु निकै बलिया थिए । उनीहरुको वर्षभरीको मिहनेत हाम्रो सामान्य साढे २ महिनाको तयारीले रोक्न सकेनौं", कप्तान सरु लिम्बुले भनिन् । नेपालले म्यानमार जानुअघि चीनमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाली टोलीले करिब सोढ दुई महिनाको तयारी गरेको थियो ।
पहिलो खेलमा अष्ट्रेलियासँग ११-१ गोलको फराकिलो अन्तरले पराजित नेपाल दोस्रो खेलमा उज्वेकिस्तानसँग ४-० को हार व्यहोरेको थियो । प्रतियोगिताको अन्तिम खेलमा सुरुआती अग्रता बनाएको नेपाल घरेलु टोली म्यानमारसँग २-१ गोल अन्तरले पराजित भएको थियो ।
कप्तान सरुले भनिन्, “पहिलो खेलमा धेरै गोल खाएपछि खेलाडीहरुको तालमेल मिल्न सकेन् । हामीले उनीहरुलाई रोक्ने कोशिस मात्र गर्यौं । खेलाडीहरुबीच पनि कुन स्थानमा रहने भन्ने सोंच नै आएन् ।" उनले म्यानमारविरुद्धको खेलमा सुरुवाती अग्रता बनाएर जित निकाल्न नसक्नुमा मौसम पनि बाधक भएको बताइन् ।
प्रशिक्षक हरीओम श्रेष्ठले अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेको बताए ।
“हाम्रो समूहमा रहेका टोलीको वरियता धेरैमाथि थियो । हामीले वरियताभन्दा पनि राम्रो खेल प्रदर्शन गर्ने योजना बनाएका थियौं । तर सफल हुन सकेनौं । तयारी पनि नभएको होइन, मात्र उनीहरुको तयारीकोअघि हामी फितलो बन्यौँ”, प्रशिक्षक श्रेष्ठले भने ।
म्यानमारको मौसममा पनि टोलीलाई खेल्न समस्या भएको उनको भनाइ थियो । विमानस्थलमा टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले स्वागत गरेका थिए ।
यसअघि थाइल्याण्डमा सम्पन्न पहिलो चरणमा नेपाल उत्कृष्ट उपविजेता बनेको थियो । भारतलाई २-० तथा पाकिस्तानलाई ९-० ले पराजित गरेको नेपालले थाइल्याण्डसँग ३-० गोलले हार व्यहोरे पनि उत्कृष्ट उप विजेता बन्दै दोस्रो चरण यात्रा तय गरेको थियो । तर दोस्रो चरणमा बलिया टोलीविरुद्ध नेपालले सफलता हासिल गर्न सकेन ।