
काठमाडौं । प्रतिभावान युवा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यअनुरूप यू–१४ राष्ट्रिय विद्यालय खेलकुद आइतबार औपचारिक रूपमा सुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा युवा प्रतिभालाई प्रोत्साहन गर्न कुल ६ खेल सम्मिलित यू–१४ राष्ट्रिय विद्यालय खेलकुदको सुरुआत भएको हो । पाँचदिने प्रतियोगिताको पहिलो दिन ६ वटै खेल विधाको प्रतिस्पर्धा भयो ।
६ खेलमध्ये एथ्लेटिक्सको पहिलो दिन १२ स्वर्णमा ६ स्वर्ण पदकको टुंगो लाग्यो । दशरथ रंगशालामा नै भएको रग्बी खेलको लिग चरण भैरहेका छन् ।
पहिलो दिन लिग चरणका १२ खेल सम्पन्न भए । अन्तिम दिन सोमबार लिगसहित १४ खेल हुनेछन् । टेबल टेनिसमा भने छात्र र छात्रामा क्वार्टरफाइनल र डबल्समा फाइनलसम्मको टुंगो लागेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एक विशेष समारोहबीच उक्त प्रतियोगिताको उद्घाटन भएको हो । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिताको उद्घाटन गरेका थिए । यो विद्यालय खेलकुद युवा खेलाडी उत्पादनको महत्त्वपूर्ण प्रतिस्पर्धा रहेको र यसले निरन्तरता पाउनुपर्ने खेलकुदमन्त्री चौधरीले बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले विद्यालय तहबाट खेलकुदको जगलाई बलियो बनाउन जुनियर प्रतियोगिताको सुरुआत गरिएको बताए । यो प्रतियोगिताले राष्ट्रिय टोलीलाई समेत योगदान दिने उनको विश्वास छ । त्यसैले पनि ६ खेलबाट खेल संख्या बढाउने आवश्यक रहेको घिसिङले औंल्याए ।
जिल्ला/प्रदेश छनोट चरण पार गरी यस प्रतियोगितामा सात प्रदेशका ४७६ खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगितामा एथलेटिक्स, टेबलटेनिस, छात्र/छात्रा थ्री बाइ थ्री बास्केटबल, छात्र/छात्रा रग्बी सेभेन्स, ब्याडमिन्टन र २० ओभरको छात्र क्रिकेटको प्रतिस्पर्धा हुँदै छ । एथलेटिक्समा छात्र/छात्रामा समान ६ तथा टेबलटेनिस र ब्याडमिन्टनमा छात्र/छात्रामा समान दुई स्पर्धामा खेल हुँदै छ । यस प्रतियोगितामा कुल २५ स्वर्ण, २५ रजत र ३३ कांस्य गरी कुल ८३ पदकका लागि प्रतिस्पर्धा भयरहेको छ ।