
काठमाडौं । कप्तान ब्याटर रिची बेरिङ्टनको शतकप्रेरित स्कटल्यान्डले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलामा नेपालसामु ३२४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आइतबार घरेलु मैदान डुन्डीमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रनको योगफल खडा गरेको हो ।
स्कटल्यान्डका कप्तान बेरिङ्टनले १०२ रन बनाए । उनले ११४ बलमा ६ चौका र चार छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बेरिङ्टनको यो छैटौँ शतक हो ।
उनले १६२–५ को स्थितिबाट माइकल लियस्कसँग १२५ रनको शतकीय साझेदारी गर्दै घरेलु टोलीलाई विशाल योगफलतर्फ अघि बढाएका थिए । लियस्कले ६२ बलमा १२ चौका र तीन छक्कासहित ९६ रन थपे । यसबाहेक, ओपनर चार्ली टिएरले ६५ बलमा नौ चौकासहित ६८ रन बनाए । मार्क वाटले २१ र फिनले म्याकार्थीले १७ रन जोडे ।
नेपालका करण केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए । ललित राजवंशीको नाममा एक विकेट रह्यो ।
प्रतियोगितामा नेपाल आज लगातार तेस्रो जितको खोजीमा छ । यसअघि शृंखलामा नेपालले पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डलाई एक विकेटले र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले हराएको थियो ।
विश्वकप लिग–२ मा १८ खेल खेलेको स्कटल्यान्ड २२ अंकका साथ तालिकाको चौथो स्थानमा छ । १४ खेलबाट १० अंकको नेपाल सातौँ स्थानमा छ । आठ टोली सहभागी लिग–२ आईसीसी विश्वकप २०२७ को छनोट प्रतियोगिता हो ।
सन् २०२७ सम्म चल्ने यो लिगको शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सोझै स्थान बनाउनेछन् । पुछारमा रहने चार टोलीले विश्वकप छनोटका निम्ति प्लेअफ खेल्नुपर्नेछ ।