site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
सञ्चारकर्मीको मनोबल गिराउने दुर्नियत
Dabur Nepal
NIC Asia

सरकारको नियतमा खोट नभए पत्रकारिता र अपराधबीच फरक छुट्याउन गाह्रो पर्नेथिएन । कुनै पत्रकारले वैध सञ्चार माध्यममा प्रकाशन वा प्रसारण गरेको सामग्री आपत्तिजनक भए कारबाहीका लागि छापाखाना तथा प्रकाशन ऐन छ । तर, केही समय यता सरकारले बदनियत राखेर विद्युतीय कारोबारसम्बन्धी ऐन प्रयोग गर्न थालेको छ । पछिल्लो पटक पोखराका पत्रकार अर्जुन गिरीलाई उनको पत्रिकामा प्रकाशित सामग्रीविरुद्ध परेको उजुरीका आधारमा विद्यु्तीय कारोबारसम्बन्धी ऐन प्रयोग गरेर थुनामा राखियो । नेपाल पत्रकार महासंघको अगुवाइमा पत्रकार गिरीमाथि गलत ऐन लगाइएको विरुद्ध देशभर आन्दोलन भइरहेको छ । पत्रकार गिरीविरुद्ध अदालतमा मुद्दा विचाराधीन छ । अदालतले पक्कै पनि गिरीको मुद्दामा न्यायिक मनको प्रयोग गर्ने नै छ ।

पत्रकारहरूलाई आफ्नो काम छाडेर आन्दोलनमा उत्रने रहर पक्कै थिएन । सरकारले दुर्नियत राखेकै कारण पत्रकारहरू आन्दोलनमा उत्रनु परेको हो । सरकारको नियत त हिरासतमा राख्दा पत्रकारलाई हत्कडी लगाएकैले पनि उदांगो बनाएको छ । लाग्छ, सरकार आलोचनाको मुहानै सुकाउन उद्यत छ । पत्रकारमाथि प्रहार गरेर सरकार आलोचक सबैको मनोबल कमजोर बनाउन चाहन्छ भन्ने पनि यसले स्पष्ट पारेको छ । यसैले एक जना पत्रकारमाथि गरिएको कारबाही पनि सञ्चार जगत्का लागि मात्र हैन लोकतन्त्रमाथि नै आइलागेको खतराका रूपमा लिनुपरेको हो । यसअघि नै पत्रकारहरूले सञ्चार सामग्रीमा कारबाही गर्नुपर्ने भए सम्बन्धित ऐन नै प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराइसकेका थिए । तर, अधिनायकवादी मानसिकता बोकेको सरकारले पत्रकारलाई ‘तह लगाउन’ विद्युतीय कारोबार ऐनको धराप थापी नै रह्यो । 

अदालतमा विचाराधीन मुद्दाकै विषयमा आन्दोलन हुनु सुखद अवस्था होइन । यसैले पत्रकारहरूको आन्दोलन विद्युतीय कारोबार ऐनका दफा ४७ र ४८ को खारेजीमा केन्द्रित हुनु उचित हुनेछ । नेपाल पत्रकार महासंघले पनि यस विषयमा लोकतान्त्रिक मूल्य र विधि बिर्सनु हुँदैन । नेतृत्वको परीक्षा यस्तै अवस्थामा हुने हो । आवेगका बेला विवेक गुमाउने नेतृत्वले अधिनायकवादी सरकारविरुद्ध आन्दोलन गर्न सक्तैन । लोकतन्त्रको धर्म पालना गरेमात्र नैतिकरूपमा पत्रकारको आन्दोलन शक्तिशाली हुन्छ । शासकहरूले अधिनायकवादी मनसुवा त्यागेर विवेक प्रयोग गर्ने हो भने पत्रकारहरूले यस्तो आन्दोलन गरिरहनु पर्ने नै थिएन । दर्ता भएका सञ्चार माध्यममा प्रकाशित सामग्रीविरुद्ध उजुरी परे छापाखाना तथा प्रकाशन ऐन र व्यक्तिले आफ्नो बेइज्जती भएको ठाने गाली बेइज्जतीसम्बन्धी ऐन प्रयोग गर्ने हो भने विद्युतीय कारोबारसम्बन्धी ऐन पनि विवादमा पर्ने थिएन । पत्रकारहरूसँग छिटो वार्ता गरेर आन्दोलन समाप्त पार्न हामी सरकारको ध्यानाकर्षण गर्छौँ । यस्ता आन्दोलनहरूले देशको छवि उज्यालो हुँदैन । सरकारी डाक्टरहरूको आन्दोलनप्रति देखाएको जिद्दी अन्ततः ‘बुमर्याङ’ भएको ताजा घटनाबाट शासकहरूले पाठ सिके बेस ! 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६  १४:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro