काठमाडौं । सेयर बजारमा नेप्से परिसूचक घट्ने क्रम अझै रोकिएको छैन । बजारले तीन वर्षकै न्यून बिन्दुमा पुग्ने क्रममा साताको पहिलो दिन नेप्सेमा दोहोरो अंकको गिरावट देखायो ।
आइतबार नेप्से १०.७५ अंकले घटेर ११०२.३२ अंकमा पुगेको हो । यो बिन्दु सेयर बजारको इतिहासमा तीन वर्षयताको न्यून बिन्दु हो । सेयर बजार यसअघि २०७१ साल पुसमा यही बिन्दुमा रहेको थियो । एक साताअघि पनि नेप्से ११०२.५१ अंकमा पुगेको थियो । आजको परिसूचक त्योभन्दा पनि कम हो ।
निरन्तर घटिरहेको सेयर बजारले आइतबार लय गुमाएको छ । कारोबार सुरु भएको केही मिनेटपछि घट्न थालेको नेप्से त्ययता निरन्तर ओरालो लागेको हो ।
गत साताभर निराशाजनक प्रदर्शनपछि पनि सेयर बजार अझै दयनिय अवस्था छ । नेप्से घटेको दिन आइतबार बजारमा कारोबार रकम पनि न्यून रह्यो । दिनभर बजारमा २१ करोडको मात्र कारोबार भयो । यसक्रममा बजारमा १ सय ६६ कम्पनीका ६ लाख ९८ हजार कित्ता सेयर किनबेच भए ।
यसदिन कारोबारमा आएका १० वटामा ९ वटा समूहको उपसूचक घटेको छ । घट्नेमा सबैभन्दा बढी निर्जीबन बीमा समूह ६९ दशमलव २, जीवन बीमा समूह ६१ अंकले घटेका छन् । यसदिन उत्पादनमूलक समूहमा भने ३३ दशमलव २ अंकको सुधार आयो ।
आइतबार कारोबारमा आएका कम्पनीमध्ये एनआईसी एसिया बैंकका सेयरले कारोबारमा अग्रता लियो । बैंकको सबैभन्दा बढी १ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएका छन् ।
नेप्सेमा आइतबार यूनिलिभर नेपालका लगनीकर्ताले सबैभन्दा बढी कमाए । कम्पनीका लगानीकर्ताले एकैदिन प्रतिकित्ता ७ सय ६१ रुपैयाँ (४.०३ प्रतिशत) कमाए । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९ हजार ६ सय २१ रुपैयाँ पुगेको छ । यसदिन किसान माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक ७.५४ प्रतिशत अर्थात् प्रतिकित्ता ७२ रुपैयाँ गुमाएका छन् ।