विशेष
काठमाडौं । ‘मेरा मित्र (पुष्पकमल दाहाल) को मन फाटेको, चित्त काटिएको, कमलो मन दुःखेको, चित्त नबुझेको अनेक कारणले रहेछ । मैले मेरा मित्रको च्यातिएको मन अरुणा लामाको गीतमा भनेझैं धेरैपल्ट सिउने कोशिस गरें । मैले एकल र सामुहिक रूपमा पनि कहिले बेलुका, कहिले बिहान, कहिले रात अबेरसम्म कहिले दिउसै धेरैपटक उहाँको मन तुन्ने काममा विताएको छु । तर भयो के भने आज तुनेर/जोडेर पठाउँछु भोलीपल्ट विहान आउँदा अर्कोपट्टी फाटेको छ । फेरि तुनेर÷जोडेर पठायो अर्कोतिर फाटेको छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार व्यवस्थापिका–संसद्को बैठकमा अविश्वास प्रस्तावमाथि उठेको प्रश्नमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको जवाफ हो यो ।
१ घण्टा ५२ मिनेट लगातार सम्बोधन गरेका ओलीले अधिकांश समय प्रचण्डमाथि नै प्रहार गरेर विताएका थिए ।
जुन सर्वसाधारण सबैको चासोको विषय थियो । प्रचण्डले अविश्वास प्रस्ताव दर्ता गराउँदा ओलीमाथि लगाएका आरोप ओलीले कसरी फर्काउलान् भन्ने आमचासोको विषय थियो । शालिन ढंगले ओलीले एक एक गरी प्रचण्डको जवाफ दिए । कतै व्यंग्य, कतै आक्रोश त कतै चिन्ता मिश्रित सम्बोधन सकेपछि ओली आफ्नो सिटमा बस्नुभन्दा पहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग केहीबेर हात मिलाए । त्यो दृष्य पनि आम चासोको थियो ।
अविश्वास प्रस्ताव पेस गर्दै प्रचण्डले ओली परिवर्तन विरोधी भएको, संघीयता, गणतन्त्र, समानुपातिक÷समावेशी प्रतिनिधित्व स्वीकार गर्न नसक्ने खालका नेता भएको बताएका थिए ।
त्यसका जवाफ पनि ओलीले कडैसँग दिएका थिए । उनको जवाफ थियो,‘ मित्रले हौसियर मलाई गणतन्त्रको पक्षमा पनि थिएन, संघीयताको पक्षमा पनि थिएन भन्नुभयो । मैले राजतन्त्रविरुद्ध संघर्ष गर्दा साथीहरू कहाँ हुनुहुन्थ्यो ? साथीहरु म जेलमा गणतन्त्रका कुरा गर्दा साथीहरू कापी कलम बोकेर कुन स्कुलमा पढ्दै हुनुहुन्थ्यो ?”
तीन दिनसम्म संसद्मा सांसदहरूले उठाएको जवाफ दिन उभिएका ओली पुरै प्रचण्ड लक्षित थिए ।
उनले प्रचण्डले उठाएका सबै विषयमा सकेजति जवाफ दिए । त्यतिमात्रै होइन, ओलीले भोलीका दिनमा प्रचण्डले काम गर्न नसक्ने जनाउ पहिले नै दिए ।
‘यसपछि सहकार्य गर्ने साथीहरूलाई यसका अनुभव पनि काम लागुन् । होसियार गर्नुहोला, याद गर्नुहोला । एक माघले जाडो जाँदैन,’ ओलीको भनाइ थियो ।
-ओलीले आफूले अघि सारेका बृहत विकासका परियोजनाका बारेमा पनि चिन्ता व्यक्त गर्दै तिनीहरूको भविष्यका बारेमा स्पष्ट हुन चाहे । नेपाल सरकारले आफैंले बनाउने गरि बजेट छुट्याएको, काठमाडौं–निजगढ फास्ट ट्रयाकको भविष्य अब के हुन्छ ?
-हामीले प्रस्ताव गरेको केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलसेवा के गर्नु हुन्छ ?
-आफै बनाउने गरी कार्यक्रम अगाडि सारिएको वर्षौदेखि अलपत्र तराईको हुलाकी राजमार्गलाई फेरि पुरानै नियतिमा फर्काउनु हुन्छ कि ?
यस्ता सातवटा प्रश्न अघि सार्दै ओलीले चिन्ता व्यक्त गरे । ओलीले सरकारबाट बहिर्गमन हुँदा कुनै चिन्ता नरहे पनि यस्ता आयोजनाको भविष्य के होला ? भन्ने प्रश्न उठाए । ओलीका यस्ता प्रश्न र आफूलाई व्यंग्य गरिरहँदा प्रचण्ड भने मुसुमुसु हाँसिरहेका हुन्थे ।
राष्ट्रवादी सरकारको छवी बनाएको, विकासका खाका अघि सारेको, छिमेकीको दवावमा पनि नझुकेको, गलत कुरामा सम्झौता नगर्ने छवी ओलीले बनाए ।
तर, उनले मधेस समस्याको समाधान गर्न सकेनन् । संविधान जारी गरेको वर्षदिन वित्न लाग्दासमेत त्यसबाट असन्तुष्ट देखिएका समूह बरु बढ्दै गए घटेनन् ।
सत्ता साझेदार तथा विपक्षीको आवाज त उनले सुन्ने प्रयास समेत गरेनन् । त्यसैले पनि उनको विकल्प खोज्नुपरेको हो । यो कुरा अविश्वास प्रस्तावका प्रस्तावकर्ता प्रचण्ड स्वयम्ले संसद्मा भने ।
“उहाँले म आफैं पूर्ण छु जस्तो गर्नुभयो । यो संयुक्त सरकार हो । केही प्रतिवद्धतासहितको सरकार हो भन्दा पनि एकल सरकार हो भन्ने उहाँमा महसूस भयो,” प्रचण्डको भनाइ थियो,“उहाँको कार्यशैलीमा अहंकार र दम्भ देखियो । सरकारभित्रका पार्टीहरुको समस्यालाई सामुहिक ढंगले समाधान गर्ने भन्दा उपयोग गर्नेतिर उहाँ चल्नुभयो । त्यो एकताको निम्ति बाधक हुने त होइन भन्ने भएर हामीले अविश्वास प्रस्ताव ल्याएका हौं ।”
ओलीमाथि छिमेकीसँगको सम्बन्ध राम्रो बनाउन नसकेको आरोप लाग्दै आएको थियो ।
प्रधानमन्त्री ओलीले विभिन्न राजनीतिक दलका सांसदहरूले उठाएको जवाफ दिँदै भनेका थिए,“तीव्र आर्थिक विकास र नेपालको आत्मनिर्भरतामा महत्वपूर्ण योगदान दिने केही दूरगामी सम्झौता र सहमतिहरू गरेका छौँ । दक्षिणतिरबाट होस् वा उत्तरतिरबाट नेपालको पहुँच समुद्रसम्म सिधै पुग्ने भएको छ । यसरी हिमालयपार आर्थिक कारोबार संभव मात्रै होइन छिटो र सस्तो पनि हुँदैछ । यी दूरगामी महत्वका उपलव्धि हुन् । म त यी उपलब्धिहरुका जस सिङ्गो राष्ट्रसँग बाँडचुँड गर्न चाहन्थें । आश्चर्य, अविश्वासको प्रस्तावका प्रस्तावक माननीय सदस्यले ती उपलव्धिहरूलाई नकार्नुभयो । केही समय अगाडिसम्म यिनै कुराहरू उपलव्धि, प्रशंसायोग्य उपलव्धि हुने, आज सरकारबाट हट्नासाथ उही नजरमा तुच्छ कसरी ?”
त्यसैगरी ओलीले अर्को शान्ति प्रक्रियाप्रति गरिएको आशंका र एमालेको भूमिकाका बारेमा पनि प्रश्न उठाएको भन्दै चिन्ता व्यक्त गरे । ओलीको प्रचण्डलाई जवाफ थियो,–“शान्ति प्रक्रियामा मेरो र हाम्रो पार्टीको भूमिकाको विषयमाथि प्रश्न उठाउने चेष्टा भएको छ । सरकार विरुद्ध अविश्वास प्रस्ताव ल्याउने मित्रहरूमध्ये एकथरी बन्दुकद्वारा नै राज्यसत्ता कब्जा गर्छु भन्ने मान्यतामा हिँडिरहनुभएको थियो । अर्काथरी टाउकोको मूल्य तोक्दै बन्दुकबाटै ठेगान लगाउँछु भन्दै हिँड्नुभएको थियो । एउटा बिन्दुमा युद्ध उन्मादमा रहेका सबैलाई बोध भयो– बन्दुक समस्याको समाधान होइन रहेछ । सबैको प्रयासबाट नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा आइपुगेको छ । अस्ति प्रस्तावक माननीयले शान्ति प्रकृयामा मेरो पार्टी र हाम्रा नेताहरुले मोल्नु भएको जोखिमका बारेमा खुदै बयान दिनुभयो ।”
भूकम्पपछिको पुनर्निर्माणमा भइरहेको ढिलाई लगायतका विषयमा प्रचण्डलाई ओलीले गतिलै जवाफ फर्काए । अप्रत्यासित घटना नहुने हो भने अबको १५ दिनभित्र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीको पदमा आसिन हुनेछन् ।
सबैभन्दा पहिला उनले संविधान कार्यान्वयनका लागि असन्तुष्ट पक्षसँग वार्ता गरेर सबैलाई सहमत गराउनुपर्नेछ ।
मधेसवादी, आदिवासी÷जनजाती, थरुहट लगायत २९ दल अहिले पनि संविधानसँग असन्तुष्ट देखिएको छ । त्यसपछि भूकम्पपीडितलाई राहत र आवासको व्यवस्था गर्नु हो । प्रचण्डले केहीदिन अघि दोलखा पुगेर आफू प्रधानमन्त्री भए पीडितलाई पाँचलाख रुपैयाँ दिने प्रतिवद्धता गरेको धेरै दिन वितेको छैन । पीडित जनताले यसलाई सम्झिएर बसेका छन् ।
त्यसपछि ओली नेतृत्वको सरकारले अघि सारेका विकासका आयोजनालाई निरन्तरता, चीनसँग गरेको सम्झौता कार्यान्वयन अर्को महत्वपूर्ण र गर्नैपर्ने विषय हो ।
सरकारमा सहभागी राजनीतिक दलसहित विपक्षमा बस्न लागेका नेकपा एमाले र राप्रपा नेपाल लगायतका राजनीतिक दललाई सहमतिको बाटोमा ल्याएर चुनावको मिति घोषणा गरि तयारी थाल्नुपर्ने प्रचण्डका प्राथमिकतामा पर्नुपर्नेछ ।
तस्बिर : रासस
प्रकाशित मिति: सोमबार, साउन १०, २०७३ १७:२६
प्रतिक्रिया दिनुहोस्